स्वयम्भुलाई प्लाष्टिकमुक्त बनाउने अभियानमा आनी
काठमाडौं : विश्व सम्पदा सूचिमा सुचिकृत स्वयंम्भूनाथ मन्दिर क्षेत्रको सरसफाइ गरी प्लाष्टिकमुक्त क्षेत्र बनाउन स्वयंभूस्थित सेतो गुम्बा ड्रुक अमितभा माउन्टेनका आनीहरु लागिपरेका छन्। सम्पदा क्षेत्रमा फोहोर व्यवस्थापन चुनौति भएको भन्दै प्रत्येक साता आनीहरुले स्थानीयबासीसमेतलाई सहभागिता गराई सरसफाई अभियान सुरु गरेका हुन् ।
स्वयंभूस्थित सेतो गुम्बा ड्रुक अमितभा माउन्टेनका ५७ जना कुङफु नुन्स भिक्षुणी आनीहरुले शनिबार फ्याकिएका प्लाष्टिक संकलन गरी व्यवस्थापन गरेको आनी एशे ल्हामोले बताइन्। दैनिकरुपमा स्वयंभूनाथको दर्शन र अवलोकन गर्न आउने पर्यटकले फोहोरकै कारण असहज मान्ने गरेको पाएपछि आनीहरुले अध्ययनको समय कटाएर सातामा एक दिन सरसफाइ अभियान सुरु गरेको आनी एशे ल्हामोले बताइन्। वातावरणलाई स्वाच्छ राख्न आफू र आफ्नो टोलदेखि अभियान थाल्नुपर्ने, राज्य पक्षलाई मात्र गाली गरेर सफाइ नहुने आनीहरु बताउँछन्।
आनीहरुले परापूर्वकालमा गुम्बाभित्र बसेर अध्यात्मक चिन्तन र ध्यान मात्रै गर्थे।तर समय परिवर्तनसँगै सामाजिक काम पनि सक्रिय हुनुपर्ने भन्दै अभियान थालेको आनीहरुले बताए। स्वयंभू परिषरसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा सरसफाइ अभियानलाई व्यापकता दिने लक्ष्य आनीहरुको रहेको छ। आत्मसुरक्षा र महिलाहरु पनि सक्षम बन्नुपर्छ भन्ने सन्देश दिने यस गुम्बाका आनीहरु कुङ फु नुन्स खेलाडी हुन्।