ग्यास पड्किँदा एकै परिवारका ६ घाइते

भद्रपुर, झापा : झापामा सोमबार ग्याँस सिलिन्डर पड्केर आगालागी हुँदा एकै परिवारका ६ जना जलेर घाइते भएका छन् । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५ मा पर्ने नेपाल भारत सीमास्तम्भ १२ नम्बर पिल्लर भएको छेउको किल्ला बस्तीमा रहेको एक घरमा बेलुका ७ बजे ग्याँस पड्किएको हो ।
घाइते हुनेमा २८ वर्षीया भारतीकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव, १९ वर्षीया चन्द्राकुमारी यादव, १८ वर्षीय रामप्रसाद यादव, ६ वर्षीया नियाकुमारी यादव र ५ वर्षीय आस्मक यादव रहेको घाइते परिवारका सदस्य कमल यादवले बताए ।
भारतीकुमारी यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । ओम साई पाथिभरा हस्पिटल भद्रपुरका डा. शशि के सिंहका अनुसार आई सि यूमा उनको उपचार हुँदैछ । 'शरीरको पूरै भाग जलेकोले अवस्था जटिल छ । तर अहिले नै केहि भनिहाल्ने अवस्था छैन,' डा सिंहले भने ।
प्रतिक्रिया दिनुहोस !
