पेरिसडाँडाको रमझममा नरमाएका पात्र

काठमाडौं : पार्टी एकतापछि प्राय सुनसान जस्तै रहने नेकपा केन्द्रीय कार्यालय (तत्कालीन माओवादीको मुख्यालय) पेरिसडाँडामा बिहीबार बिहान १० बजेतिरैदेखि नेता कार्यकर्ताहरु भेला हुने क्रम बढ्दै थियो। अध्यक्ष प्रचण्ड आउने खबरले होला पत्रकारहरु पनि जम्मा हुँदै थिए। कार्यक्रम थियो शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने, आयोजक वाईसीएल नेपाल।
अग्लो र शान्त ठाउँमा रहेको नेकपा कार्यालय। कार्यालयको सफा, सुग्घर प्रांगणमा चट्ट पारेर सजाइएको मञ्च, दुई-तीन सयको भीड प्रचण्डकै प्रतीक्षामा थियो। केहीबेर प्रचण्ड कार्यक्रमस्थल प्रवेश गरे। उनीसँगै नेकपाका नेता तथा सांसद योगेश भट्टराई पनि आएका थिए। त्यसअघि पूर्व माओवादीतर्फका नेकपाका केही केन्द्रीय नेताहरु जम्मा भइसकेका थिए।
मञ्चको अघिल्तिर राखएिका कुर्सीमा शहीद र बेपत्ता परिवारका सदस्यहरु बसेका थिए। अतिथिहरुलाई खादा ओढाइ स्वागत गर्ने क्रम चलिरहेको थियो। भीडको पछाडीपट्टि एक पात्र देखा परे। उमेर ६० हाराहारी जस्तो देखिने उनी सभामा भेला भएका अन्यभन्दा अलि फरक देखिन्थे। धुस्रेफुस्रे कपडा, कमिजका आधा जति बटम खुल्लै थिए। उनीसँगै आएका युवाले बटम लगाउन आग्रह गरेपछि उनले लगाए। उनको ढाका टोपीको धेरामा मैलोले कालो देखिन्थ्यो। कालो चस्मा लगाएका थिए।
केहीछिन पछि उनी मञ्चको दायाँ भागमा उभिँदै गरेको अवस्थामा देखापरे। एक युवाले गलामा रातो खादा ल्याएर बेरिदिए। त्यसपछि थाहा भयो उनी शहीद वा बेपत्ता परिवारका सदस्य हुन भन्ने। करिब ५० जना जति शहीद, बेपत्ता परिवारका सदस्य कुर्सीमा बसिरहेका थिए।
त्यसकै पछाडि उनी चुपचाप उभिइरहे, मञ्चतिर हेरिरहे, मञ्चमा भाषण र गीतको रौनक, कोही सेल्फी खिच्दै, कोही मञ्चतिर क्यामेरा, मोबाइल तेस्र्याउन मै व्यस्त, कोही आ–आफ्नै गफमा मस्त, आयोजकहरु यताउता दौडधुप कसैलाई कसैको ख्याल गर्ने के फुर्सद ? २० मिनेट जतिपछि एक युवाले कुर्सी ल्याएर दिएपछि उनी बल्ल बसे।
उनीसँग कुरा गरेपछि थाहा भयो उनी भक्तपुरका नारायणभक्त त्वयना रहेछन्। उनका छोरा बद्रीनारायण त्वयनालाई २०५८ चैत्रमा तत्कालीन शाही सेनाले नियन्त्रणमा लिएर बेपत्ता बनाएको रहेछ।
सम्मान थाप्न आउनुभएको ?
प्रश्न गर्नेवित्तिकै उनले भने, ‘खै मलाई त थाहा थिएन, अदालत गएर आको यता कार्यक्रम छ जाऊँ, भन्यो अनि आको।’ उनी पेरिसडाडाँ पहिलो पटक आएका रहेछन्।
६६ वर्षे उमेरमा यात्रा गर्दै गरेका उनी खाटी किसान हुन्, पढ्न लेख्न जान्दैनन्। ‘कुरा बोल्न त जान्या छ, कागजमा लेखेको चाँही पढ्न जान्दिनँ’ उनले प्रष्ट्याए।
छोरा बेपत्ता हुनुअघि कुन संगठनमा थियो ? कस्तो राजनीति गर्थ्यो ? त्यसबारे जानकारी थिएन उनालाई। ‘विद्यार्थी थ्यो, पढेर मात्रै पनि केही नहुने रेछ। गरिबको लागि लाग्नुपर्छ भन्थ्यो हामीलाई थाहै थिएन।’ उनका छोरा बद्रीनारायण भक्तपुरबाटै एकाएक गायब भए। खोजी गर्दा कतै भेटिएन। आर्मीलेसँगै लिएर हिँडेको देखेको भनी धेरैले सुनाए। सुरक्षा निकाय मानवअधिकार कार्यलय धेरैतिरै धाए कहीँ पत्तो लागेन। १७ वर्ष बित्यो आजसम्म जीवित छन् वा मारिए केही खुल्न सकेको छैन।
यसभन्दा अघि नी कसैले सम्मान गरेका थिए ? ‘जिल्लातिर गरेको थ्यो। मलाई त यस्तो सम्मान चाहिँदैन, देउ भनेको पनि छैन। पैसा पनि मागेको होइन। हाम्रो छोराको ज्यान छ कि चिहान छ देखाउन पर्यो।’ उनले भने। २२ वर्षको लक्का जवान उमेरमा बेपत्ता बनाइको छोरा अझै फर्केर आउने आश छ उनलाई।
राजनीतिबारे खासै बुझ्दैनन उनी। अहिलेसम्म कोही ठूला नेता भेटेको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘छैन भेटेको त टीभीमा देखेको हो।’ उनले भने–‘रेडियो, टीभीले भन्छ को प्रधानमन्त्री भयो, के भयो त्यही हो अरु त के था।’
आफ्नो बेपत्ता भएको छोराले चाहेको जस्तो केही पाए जस्तो लाग्दैन उनलाई। ‘खै गरिबलाई गर्ने भनेको, के पाएको छ र ? उनले उही गुनासो पोखे, ‘हामीलाई यस्तो सम्मान गरेर के काम? छोराको मनले के सोचेको त्यो पूरा होस्।'
१७ वर्षमा राजनीतिकले कोल्टे फेर्यो। जनयुद्धकै नेतृत्व गर्ने, ठूला–ठूला पदमा पुगे तिनकै विचारलाई समर्थन गरेको निहुँमा बेपत्ता बनाइएको छोराको पत्तो लागाउन नसकेकोमा नारायणभक्त धेरै असन्तुष्ट देखिए।
एकछिनपछि उनले अतिथि प्रमुख अतिथिको हातबाट दोसल्ला ओडे, फ्रेमसहितको सम्मानपत्र पाए, त्यसमा के लेखेको छ, उनी पढ्न जान्दैनन्। चुपचाप त्यही पछाडिको कुर्सीमा आएर बसिरहे। आजदेखि उनको कोठाको कीलामा थप एक दोसल्ला र थप एक खादा झुण्डिने छ। दराज वा बैठक कोठामा एउटा सम्मान पत्र थपिने छ। यिनले छोराको वियोगमा थाकिसकेका घाउहरु अलिअलि बल्झेलान् बस त्यति !
उनकै जस्तो दशामा रुमल्एिका धेरैजना गलामा दोसल्ला र हातमा सम्मानपत्र बोकेर उनका अघिल्तिर चुपचाप बसिरहेका थिए। गीत र भाषणले सभामा माहोल तातिनै रहेको थियो।
प्रतिक्रिया दिनुहोस !
