उपचारसँगै जीवनशैली
नवलपुर : शारीरिक तौल १ सय २० केजी भएका प्रकाश श्रेष्ठलाई सुत्नै कठिन भयो। आफ्नै जीउ भारी लाग्यो। ४९ बर्से उनी भन्छन््, ‘सुत्दा सास नै रोकिए जस्तो हुन्थ्यो। सासै अडकए झैं हुन्थ्यो।’धनकुटाको छथर गाँउपालिका–५ का श्रेष्ठले मोटोपनकै कारण रोजेका पहिरन समेत लगाउन पाएनन्।
रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराएपछि उनको शरीर छरितो हुन थालेको छ। डेढ महिना नपुग्दै उनको वजन २० किलो घट्यो। कति ठाउँमा उपचार गराउँदा केही नलागेपछि ससुराले उनलाई रजहर पुर्याएका थिए।
अहिलेको तस्बिर हेरेर गाउँले सबै दंग परेको उनले बताए। ‘पहिला म हिँड्नै सक्दिनथें। आफ्नै जीउ भारी लाग्थ्यो’, उनले भने, ‘यतिबेला आफ्नो शरीर देखेर आफैंलाई पत्यार लाग्दैन, फोटो हेरेर गाँउका सबै दंग परेका छन्।’ प्राकृतिक चिकित्सालयमा नियमित उपचार, व्यायाम र खानपिनले उनको मोटोपन घट्दै गएको हो।
प्राकृतिक चिकित्सालयमा उपचारका लागि पालो पर्खनुपर्छ। प्राकृतिक उपचारमा भरोसा बढेपछि बिरामीलाई पालोमा पर्खाउनु अस्पतालको बाध्यता हो। सुरुमा अन्यत्र जाँदा भएको कठिनाइ र दुःखले आजित भएकाहरू अन्तिममा मात्रै सामुदायिक प्राकृतिक चिकित्सालय पुग्छन्। उपचार पद्धति र त्यसबाट फाइदा भएपछि विश्वास लागेर यतिबेला चिकित्सालयमा बिरामीको चाप बढेको छ।
बिरामीले शान्त वातावरणमा खानपान र जीवन शैली सिक्छन्।
ढाडको नसा च्यापिएकी दाङ घोराहीकी युरेशिया रिजाल पनि समस्यामुक्त भएकी छन्। प्राकृतिक चिकित्सालयबारे थाहा पाएकी २६ वर्षीया उनले सञ्चो हुन लागेकोमा खुसी व्यक्त गरिन्। ‘प्राकृतिक चिकित्सा पद्धतिबारे थाहा पाएकी भए मैले दुःख नपाउने रैछु’, उनले भनिन्, ‘नियमित उपचार र खानपानले अहिले निको हुँदै गएको छ।’
२०६७ असार १ बाट यहाँ उपचार सुरु गरिएको हो। देवचुली नगरपालिका–१६ स्थित रजहरमा समुदायले प्राकृतिक चिकित्सालय सञ्चालन गरेको हो। प्राकृतिक रूपमा उपलब्ध आकाश, वायु, अग्नी, जल र पृथ्वीको माध्यमबाट उपचार गरिन्छ। नसा, हाडजोर्नीसम्बन्धी, मधुमेह, रक्तचाप, ग्यास्ट्रिक, बाथलगायतका बिरामी यहाँबाट निको भएर गएका छन्।
उपचार मात्रै नभएर जीवनशैली सिकाएर पठाइने गरेको छ। पछिसम्म पनि घरमै आफैंले गर्न सक्ने गरी पठाइने गरेको चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए। ‘रोगको कारण एउटा छ उपचार शैली अर्को खोज्दा समस्या बढ्ने हो’, उनले भने, ‘यो अस्पतालभन्दा पनि जीवनशैली सिकाउने थलोका रूपमा लिएका छौं।’ चिकित्सालयमा अहिलेसम्म करिब १८ हजारले उपचार पाएर फर्किएका छन्। १० बिघामा रहेको चिकित्सालयमा बिरामीका लागि छुट्टै ६ बिघामा अर्गानिक तरकारी खेती र दूधका लागि गाई पालिएको छ।
प्राकृतिक उपचार पद्धतिबाट फाइदा भएपछि विश्वास लागेर यतिबेला चिकित्सालयमा बिरामीको चाप बढेको छ।
चिकित्सालयका व्यवस्थापक हरि सापकोटा पहिले आफैं पेटको दीर्घरोगबाट पीडित थिए। धेरै ठाँउमा औषधि गर्दा पनि निको नभएपछि पोखरा गएर प्राकृतिक चिकित्सालयको उपचारले नयाँ जीवन पाए। प्राकृतिक चिकित्साको उपयोगिता र महत्व प्रष्ट पारेपछि रजहरका सामाजिक अगुवाले चासो देखाए।
सापकोटाकै अग्रसरतामा पोखरामा सञ्चालन हुन नसकेको चिकित्सालय आफ्नो गाँउमा ल्याए। ‘पहिला बुझाउन कठिन थियो, अहिले बिरामीले रिफर गरेर पठाउ“छन््’, व्यवस्थापक सापकोटाले भने, ‘हाम्रो उद्देश्य बेलैमा आए दुःख पाउँदैनथे भन्ने हो।’
सुरुवातमा महायज्ञ लगाएर संकलन गरिएको २ करोड नगद र ३ करोड बराबरको जग्गा सहयोगमा पाएपछि चिकित्सालय स्थापना गरिएको हो। त्यहीँ उपचार गराउँदा ठीक भएपछि खुसी भएर भरतपुरकी गौरीदेवी प्रधानले स्वर्गीय पति श्यामकृष्ण प्रधानको स्मृतिमा डेढ करोड दान गरेर बिरामी आवास भवन निर्माण गरिदिएकी छन्। सेवामूलक संस्थाका रूपमा न्यूनतम शुल्कमा उपचार गराइने सञ्चालक समिति सदस्य यज्ञप्रसाद सुवेदीले बताए।
चिकित्सालयमा प्राकृतिक चिकित्सासम्बन्धी अध्यापन गराउने तयारी गरिएको छ। चिकित्सालयले सीटीईभीटीसँग सम्बन्धन लिएर ४० विद्यार्थीलाई ३ बर्से स्नातक तहको एचए सरहको प्राकृतिक चिकित्सा अध्यापन गराउने प्रक्रिया थालेको छ।
नेपाल संस्कृत विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीबीएस सरहको पाँचबर्से अध्ययन प्राकृतिक चिकित्सा मेडिकल कलेज सञ्चालनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए। ‘अब प्राकृतिक चिकित्सा पद्धति नेपालका लागि अपरिहार्य छ’, उनले भने, ‘उपचार मात्रै होइन अब सबैतिर यसको उपयोगितासँगै सुविधा पनि बढाउनुपर्छ।’