एसईई परीक्षा : झापाका चार केन्द्रमा महिला केन्द्राध्यक्ष

झापा : चैत्र १० बाट सुरु हुन लागेको एसईईमा झापा जिल्लाका ५३ परीक्षा केन्द्रमध्ये चार केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिएको छ।
जिल्ला विकास तथा समन्वय इकाई प्रमुख योगेन्द्र बरालका अनुसार झापाका १५ वटा स्थानीय तहमा ५३ परीक्षा केन्द्र छन्।
देवी मावि बिर्तामोडमा अम्बिकादेवी श्रेष्ठ, जनजागृति मावि हल्दिबारीमा इन्दिरा चुँडाल, जनता मावि गौरादहमा थानेश्वरी निरौला र भृकुटी मावि कनकाईमा अञ्जना सिटौला गरेर जिल्लामा ४ केन्द्राध्यक्ष रहेका छन्।
बरालका अनुसार झापा जिल्लाबाट १५ हजार ६ सय ८९ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। जसमध्ये छात्रा ७ हजार ९ सय ३८ र छात्र ७ हजार ३ सय ३६ विद्यार्थीले परीक्षा दिनेछन्।
यी मध्ये हाजिर नपुगेका, विद्यालय आउन छोडेका, राजश्व नबुझाएका एक सय २० विद्यार्थी एसईई दिनबाट बञ्चित भएका छन्।
झापाबाट यो वर्ष तीनजना कैदीबन्दीले एसईई लेख्दै छन्। परीक्षाको सुरक्षाका लागि पाँच सय ५० प्रहरी परिचालन गरिउको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बरालको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
