जलवायु परिवर्तन र खाद्यपोषण सुरक्षा

जलवायु परिवर्तन र खाद्यपोषण सुरक्षा

इसिमोडले औंल्याएअनुसार पनि संसारभर जलवायु परिवर्तनका कारण हिउ उग्लिने र प्रतिकुल जलवायु हुन सक्ने जोखिम बढिरहेको छ। जलवायु परिवर्तन र यसका कारण उत्पन्न समस्यासंसारकै टाउको दुखाइको विषय बनिरहेको छ। विशेषगरी वातावरणमा आइरहेको परिवर्तनका कारण आउन सक्ने सम्भावित विपत्तिको पूर्वअनुमान र पूर्वतयारी यथोचित गर्न नसक्दा नेपालजस्ता मुलुकमा यसको प्रभाव अझै खतरनाक हुने देखिन्छ।

विशेषगरी वातावरणको तापमानको उतारचढावका कारण पृथ्वीको मौसममा आउने तापक्रम वृद्धि, हावाको बहाइमा उतारचढाव, वर्षात्को प्रकृतिमा फेरबदलजस्ता परिवर्तन जलवायु परिवर्तनसँग सम्बन्धित हुन्छन्। कतिपय प्राकृतिक र धेरै हदसम्म मानवसिर्जित कारण यस्तो परिवर्तनका कारक हुन्। जलवायु परिवर्तनका लागि बढी दोषी विकसित मुलुकहरू भए पनि यस असरको सिकार सबै मुलुक हुन्छन्। अझ नेपालजस्ता विकासको रेखामा तल परेका मुलुकमा पूर्वअनुमान र पूर्वतयारीको अभावमा यस्तो असर झनै बढी पर्नेछ। जलवायु परिवर्तन जोखिम सूचकांकअनुसार जलवायु परिवर्तनबाट जोखिममा परेका १९८ राष्ट्रहरूमध्ये नेपाल १३ औं स्थानमा पर्छ। नेपालमा गत १० वर्षभित्रमा जलवायु परिवर्तनले निम्त्याउने विपत्तिका कारण धेरै मानिसको मृत्यु भइसकेको छ।

जलवायु परिवर्तनको प्रत्यक्ष वा परोक्ष असर कृषि, खानेपानी, स्वास्थ्य, जीविकोपार्जनजस्ता क्षेत्रमा परिरहेको हुन्छ। तापमान वृद्धि, अनावृष्टि, अतिवृष्टि वा अल्पवृष्टिका कारण कृषि उत्पादनमा नराम्रो प्रभाव परिरहेको छ। सीमित जमिनमा मात्रै सिँचाइको व्यवस्था भएका कारण नेपालमा खेती गरिने करिब ६५ प्रतिशत जमिन अझै पनि आकाशे पानीमा आ िश्रत छ, जसलाई जलवायु परिवर्तनले सहजै प्रभावित पार्न सक्छ। राष्ट्रसंघीय निकायको एक प्रतिवेदनअनुसार सन् २०५० सम्ममा जलवायु परिवर्तनको असरका कारण तापमानमा दुई देखि तीन डिग्री सेल्सियससम्म वृद्धि हुन जानेछ र त्यसको सीधा असर कृषि उत्पादनमा पर्नेछ। सन् २०५० सम्ममा १० प्रतिशत कृषि उत्पादन घट्ने, स्वच्छ पिउने पानीको अभाव, खाद्य असुरक्षा तथा कुपोषण संसारकै प्रमुख समस्या बन्ने देखिन्छ।

जलवायु परिवर्तनले कृषिमा निर्भर परिवारको जीविकोपार्जन, खाद्य तथा पोषण सुरक्षामा धेरै नकारात्मक असर पारिरहेको छ। वर्षात्को समयमा समेत विभिन्न भूभागमा देखिएको सुक्खापन, खेतबारीमै बाली सुक्ने तथा नफल्ने समस्या, बालीमा नयाँनयाँ रोगा देखा पर्न थाल्नु तथा जीवाणुहरूको सहनशीलता बढ्नु यसैको दृष्टान्त हुन्। अर्कोतिर बालीमा देखा पर्ने नयाँ तथा पुराना रोग व्यवस्थापनका नाममा प्रयोग गरिने अधिक तथा अनियन्त्रित रासायनिक विषादीका कारण वातावरण तथा खाद्य स्वच्छतामा नकारात्मक असर परिरहेको छ।

जलवायु परिवर्तनले निम्त्याउन सक्ने आपत्कालीन अवस्थामा खाद्य तथा पोषण अवस्था बिग्रन सक्ने जोखिम झनै बढ्छ। आवश्यकताको तुलनामा कृषि उत्पादन कम हुने नेपालका केही हिमाली तथा पहाडी जिल्लाहरू खाद्य सुरक्षाका दृष्टिकोणले संवेदशिल क्षेत्रमा पर्छ, जहाँको कृषि उत्पादकत्व पनि कम छ र जलवायु पविर्तनको असर पनि बढी छ। तिनै क्षेत्रमा कुपोषणको वर्तमान अवस्था पनि खतराकै विन्दुमा छ।

विशेषगरी वातावरणीय परिवर्तनका कारण रोग वा संक्रमणका कारण कृषि उत्पादनमा नोक्सानी, जमिनको उत्पादकत्वमा कमी, प्राकृतिक विपत्तिका कारण हुने नोक्सानीका कारण खाद्य उपलब्धतामा कमी आउँछ। उत्पादनमा कमीका कारण खाद्य मूल्यवृद्धिका कारण खाद्य अभाव, पर्याप्त, स्वच्छ तथा पोसिला खानामा हरेक घरधुरीको पहुँचमा कमी पनि जलवायु परिवर्तनले निम्त्याउन सक्ने अवस्था हुन्। जलवायु परिवर्तन र त्यसका कारण आउन सक्ने प्रकोपका कारण स्वच्छ पानीको कमी, विशेष समूहको हेरचाह तथा पोषणमा कमी, रोगको महामारी फैलिने खतरा, बसाइँसराइ, रोग प्रतिरोधात्मक क्षमतामा कमी, सरुवारोगहरूको प्रकोप, खाद्य तथा पानीजन्य रोगको जोखिम, तापक्रम तथा अन्य प्राकृतिक प्रकोपसँग सम्बन्धित स्वास्थ्य समस्या पनि निम्तिन सक्छ। स्वास्थ्य सेवामा पहुँचको कमी, सरसफाइसम्बन्धी समस्या, जीविकोपार्जनमा प्रभाव तथा जीवनको गुणस्तरीयतामा कमीजस्ता समस्या जलवायु परिवर्तनका कारण सिर्जित हुन सक्छन्, जसको प्रत्यक्ष सम्बन्ध पोषणसँग हुन्छ।

जलवायु परिवर्तनका कारण सरुवा रोगका जैविक माध्यमको सहनशीलतामा वृद्धि हुनुका साथै नयाँनयाँ जैविक माध्यमको उत्पत्ति हुन सक्छ। तापमानको उतारचढावका कारण औलो जस्ता रोगहरूको जोखिम क्षेत्र बढ्दै जाने सम्भावना हुन्छ। प्राकृतिक विपत्तिले गर्दा पैmलिन सक्ने रोगव्याधी र चोटपटकका कारण स्वास्थ्य समस्या भोग्ने तथा मृत्यु हुने मानिसको संख्या बढ्छ। विभिन्न कारकले झाडापखालाजन्य माहामारीको जोखिम बढ्न सक्छ। सामान्यतः हानिकारक ब्याक्टेरिया, भाइरस, परजीविजस्ता सूक्ष्म जीवहरूको प्रजनन तथा वृद्धि विकास मानव शरीरभित्र हँुदैन अर्थात् पौष्टिक तत्व सन्तुलित रूपमा पुगेको शरीरमा यस्ता जीवहरूको संक्रमणको खतरा कम हुन्छ। पोषण तथा सरसफाइ र सूक्ष्म जैविक संक्रमणका बीचमा प्रत्यक्ष विपरीत सम्बन्ध हुन्छ।

जलवायु परिवर्तनका कारण खाद्य तथा पोषण सुरक्षामा पर्ने असर न्यूनीकरणका लागि अनुकूलित बाली तथा कृषि प्रविधिको विकास, जलवायु परिवर्तनबाट हुन सक्ने प्राकृतिक विपत्ति कम गर्ने रणनीति, स्वास्थ्य पोषणसम्बन्धी आवश्यक पूर्वतयारी तथा क्षमता अभिवृद्धि र सचेतना चाहिन्छ। जलवायु परिवर्तनबाट जोखिममा परेका समुदायका सदस्यहरूलाई अनुकूलित जीविकोपार्जन पद्धतिको विकास गरी स्वास्थ्य, पोषण तथा जीवनस्तरमा सुधार ल्याउन जरुरी छ। कृषि, जलस्रोत व्यवस्थापन तथा वन क्षेत्रमार्फत वातावरण संरक्षण तथा आर्थिक अवसर प्रदान गर्ने दिगो विकास, प्राकृतिक विपत्ति न्यूनीकरणको योजना तथा जलवायु परिवर्तन समायोजनका रणनीतिहरू तय गर्ने तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।

जलवायु परिवर्तनका कारण नयाँनयाँ जीवाणुहरूको उत्पत्ति तथा हानिकारक जीवाणुहरूको सहनशीलता बढेका कारण हावा, पानी, खाना वा अन्य कुनै माध्यमबाट संक्रमण हुन सक्ने जोखिम उच्च हुन्छ। खानाजन्य रोग नियन्त्रणका लागि खाद्य स्वच्छता कायम राख्न आवश्यक हुन्छ। त्यसका लागि खाद्य पदार्थ सुरक्षित र सफा राख्ने, पाकेको र काँचो खाना छुट्टाछुटै राख्ने, खाना सधैं राम्ररी पकाएर खाने, उचित तापक्रममा मात्र खाना भण्डारण गर्ने सफा एवम् सुरक्षित पानी र कच्चा पदार्थ प्रयोग गर्नेजस्ता व्यवहार अपनाउन जरुरी देखिन्छ। पानीजन्य रोगबाट बच्न स्वच्छ पिउने पानीको व्यवस्था तथा पानी शुद्धीकरणका उपाय अवलम्बन गर्न जरुरी छ।

पोषणका दृष्टिकोणले बढी जोखिममा रहेको वर्ग गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई कुपोषित हुनबाट बचाउन विशेष हेरचाह पुर्‍याउन जरुरी हुन्छ। सबै खालका परजैविक संक्रमणको व्यवस्थापन, परिवारका कोही सदस्य संक्रमित भएमा अन्य सदस्यले हेरचाह र उपचारमा सहयोग गर्ने, स्थानीय स्तरमा उपलब्ध हुने खाद्यवस्तुको सन्तुलित उपभोगमा प्रवद्र्धन गर्नुपर्दछ। कृषि उत्पादन वृद्धिका लागि संयुक्त बाली पद्धति, बाली उत्पादनमा हुने नोक्सानी घटाउने, माटोको क्षयीकरण घटाउने र उर्वराशक्ति बढाउन जैविक मल प्रयोग गर्ने, उत्पादन क्षमतामा सुधार गर्ने, उन्नत बीउविजनमार्फत कृषि उत्पादनमा वृद्धि गर्नुपर्छ। समयानुकूल जलवायु परिवर्तनको असरबाट बच्न आवश्यक नीति तर्जुमा तथा प्रभावकारी कार्यान्वयन जरुरी छ।

-लेखक पोषणविद् हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.