जग्गा बेचेर अस्पताललाई डेढ करोड
भरतपुर : भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे ।
भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् । ‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ’, पाठकले भने, ‘ आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’
पाठक दम्पतीका नाममा भीमराज–उषामाया पाठक आँखा बैंक स्थापना गरिएको छ । पाठकले आँखा बैंक सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बैंक सञ्चालन गरिनेछ । नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिएको छ । परीक्षण गर्न आउनेलाई आँखादानबारे जानकारी गराइन्छ ।
पाठक धादिङ गजुरीबाट २०१७ सालमा बसाइँ सरी चितवन आएका थिए । उनको आँखामा जलविन्दुको समस्या छ । विज्ञबाट आँखा परीक्षण गर्न योग्य भए आफूले पनि आँखादान गर्ने उनले बताए । उनका एक्ला छोरा अंशबन्डा लिएर अलग्गै बस्छन् । पाठकको अब भरतपुरमा चार कट्ठा जग्गा र घर बाँकी छ । जीवनको बाँकी समय सामाजिक सेवाका लागि जीवनको खर्चिने उनले बताए ।
भरतपुरमा आँखाको नानी (कोर्निया) संकलन कार्य सुरु गरिएको छ । तिलगंगा आँखा अस्पतालको सहकार्यमा नानी संकलन सुरु गरिएको हो । आँखा बैंक पूर्ण रूपमा तयार नभएकाले अहिले आँखाको नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । नानी संकलनका लागि विशेष तालिम प्राप्त दुई कर्मचारी खटिएका छन् । नानी दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्युपछि कोर्निया संकलन गरिन्छ ।
भीमराज पाठकले भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् ।
चिकित्सकका अनुसार आँखादान गर्ने व्यक्तिको मृत्यु भएको ६ घन्टाभित्र नानी निकालिसक्नुपर्छ । आफन्तले बेलैमा खबर गरेमा नानी संकलन गर्न मिल्ने कार्यविधिसमेत बनाइएको छ । चितवनमा संकलित कोर्निया प्रोसेसिङ गरी सुरक्षित राख्ने मेसिन नहुँदा अहिले काठमाडौं पठाउने गरिएको भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छाया श्रेष्ठले बताइन् । ‘दान गरेपछि निकालिएको नानी प्रत्यारोपणका लागि ठिक भएनभएको परीक्षणका लागि मात्र काठमाडौं पठाउँछौं’, उनले भनिन्, ‘आर्थिक अभावमा उपकरण राख्न गाह्रो भएको हुँदा अब त्यसको पनि तयारी भएको छ ।’
एघार हजार रुपैयाँमा कोर्निया प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेका व्यक्तिलाई नानी प्रत्यारोपण गर्न सकिन्ने कनिर्या विशेषज्ञ डा. पुष्पा गिरीले बताइन् । भरतपुर आँखा अस्पतालमा अहिलेसम्म दुई सय ६५ जनाले आँखा दान गरेका छन् ।