मागेर समाजसेवा
मगाइको ‘सेलिब्रेटीकरण’ पराइभूमिमा पसिना चुहाउने नेपालीका लागि बोझ बन्न थालेको छ।
केही दिनअघि हङकङ जाँदा धेरै नेपाली भेटिए। कोही समूहमा। कोही व्यक्तिगत। प्रायःले उही गुनासो गरे, ‘नेपालबाट सहयोग माग्दै आउँछन्। गतिला र मन पगाल्ने प्रस्ताव देखाउँछन्। हामी आफैं जुर्मुराएर सहयोग जुटाउँछौं। पठाउँछौं। त्यसको उपयोगिताको खबरै पाउँदैनौं। कतिपय त आफैंले सहयोग गरेको व्यक्तिले नेपाल जाँदा भेट्न चाहँदैनन्।’
हङकङ मनकारी नेपालीको थलो हो। त्यसैले गतिलो मुद्रा झार्न धेरैको तकाइ त्यहीं हुँदो रहेछ। तर, पटक–पटक ठगिइँदा उनीहरूमा आक्रोश बढ्दो छ। त्यही भएर भन्न थालेका छन्–
‘कतिलाई दिने ? ’
‘के–के नाममा दिने ? ’
‘पसिनाको कमाइ दिएरै सक्ने ? ’
हुन पनि नेपाली कोमल मनका छन्। अझ विदेशमा त्यो कोमलता गर्मीको घिउ झैं पग्लिएको हुन्छ। त्यो भावुक मनमा समाज सेवाको आगो झोस्दै जब कोही ठाँटिएको नेपाली देशबाट पुग्छ, अन्तरमनको सेवाभाव स्वतः तपतप पग्लिँदो रहेछ। अब त ‘ज्यान जाओस् दिन्न’ भन्ने अठोट गरेका व्यक्तिसमेत अर्को ‘समाजसेवी’ को माग्ने कलाले निथ्रुक्कै भिज्दा रहेछन्। मानौं त्यहाँका नेपालीको मुठी खुला छ– जानुहोस्, चाहिएजति ल्याउनुहोस्।
दिँदा–दिँदा दिक्क भइसकेका केही नेपालीसँग लामै भलाकुसारी भयो। यो लेख त्यसकै प्रतिबिम्ब हो।
०००
वास्तवमा मगाइको ‘सेलिब्रेटीकरण’ पराइभूमिमा पसिना चुहाउने नेपालीका लागि बोझ बन्न थालेको छ। यो कसैलाई व्यक्तिगत रूपमा इंगित गरिएको होइन। समग्र प्रवृत्तिगत समस्या हो। हङकङको मात्र होइन, कतार, यूएई, मलेसिया, अमेरिका हुँदै युरोपका विभिन्न देशका नेपालीको साझा अनुभूति हो यो। धेरैले यही विलौना गर्छन् अचेल। विभिन्न आवरणमा माग्नेको ताँती लाग्छ। कारण– टिठलाग्दो हुन्छ। दिउँदिउँ लाग्दो हुन्छ। अर्कैको सेवा गर्ने मनसुवा देखाइन्छ। दिएर पठाएपछि उसैको मुख देखिँदैन।
विदेशका नेपाली राष्ट्रभक्तिले ओतप्रोत हुन्छन्। देशको चिन्ताले लखतरान देखिन्छन्। राष्ट्रियता त्यागेर विदेशी पासपोर्ट अँगालेका नै किन नहुन्, नेपालको समृद्धिको कामना गरिरहेका हुन्छन्। देशमा घाउ लाग्दा विदेशमा बस्ने नेपालीको मनमा चस्स गर्छ। पत्रिकाका पानामा कुनै नेपाली भोकै बसेको छापिँदा उनीहरूको पेट बाँउडिन्छ। ओडारमा बस्ने नेपालीका तस्बिर देख्दा घर बनाइदिन सकसक लाग्छ।
उनीहरू मनैबाट सेवा गर्न चाहन्छन्। तर, अधिकांश माध्यम हुन्छन्– बिचौलिया। कोही एनजीओ बनाएर माग्छन्। कोही व्यक्तिगत रूपमा। सबैको ध्येय एउटै हो– व्यवसाय चलाउनु। मागेर गरिने समाजसेवा पनि यस्तै एउटा व्यवसाय हो, जुन लाभकै लागि भइरहेको हुन्छ। मगाइको ‘मार्केटिङ’ कुनै गतिलो ब्रान्डको भन्दा भव्यत्तर हुन्छ। भावनासमेत जोडिएको। त्यही गुणले झर्छ– डलर, रियाल, रिंगेट आदि।
०००
महाभूकम्पको महाचोट मागेर गरिने समाजसेवाको ठूलो अध्याय थियो। त्यसमा संसारभरिका लाखौं सहयोगीले खर्बौं दान गरे। अधिकांशले जस्केलाबाट दिए। लिने व्यक्ति÷संस्थाले पीडितलाई दिए÷नदिएको खुट्याएनन्। सहयोग लिने कतिपयले नाटकीय फोटो खिचे, दातालाई देखाए। बस्, पुग्यो। अझ बाठाले क्राउड फन्डिङबाट खर्बौं उठाए। सबै पचाए। भूकम्पका नाममा जुटेको सबै पैसा वास्तविक पीडितले पाएको भए उहिल्यै पुनर्निर्माण पूरा हुन्थ्यो। देश अर्कै बन्थ्यो। पीडितलाई सहयोग गर्ने सरकारको टन्टै हट्थ्यो।
तर, न राज्यले त्यसको मेलो पायो। न दाताले बढ्ता खोजी–नीति गरे। बरु राहतस्वरूप खाए–लाए भन्ने पूर्वनिर्मित उत्तर सबैले पाए। कसले कति लियो, कति बाँड्यो, त्यो महासागरमा हिसाब गरी साध्य थिएन। परकम्प महिनौं आयो, वास्तविक दाता वास्तविक पीडितसम्म पुग्नसम्म सकेनन्।
अर्कोतिर धेरै व्यक्ति यस्ता हुन्छन्, जो दिएको गुणगान गाउन लगाउन चाहँदैन। सेवाबाट वास्तविक धर्म खोज्नेहरू कहीं–कतै सार्वजनिक नगर्न आग्रह गर्छन्। त्यसैलाई धन्दा बनाएकाका लागि त्यो गतिलो अवसर हुन्छ। किनकि, दिने नदेखाउन चाहन्छन्, लिने लुकाउन चाहन्छन्। भूकम्पको पैसा त्यही कारण मासियो।
०००
नेपालले भर्खरै लगानी सम्मेलन गरेको छ। दाता सम्मेलन होइन। देशलाई समृद्धिको बाटोमा लैजाने हो भने लगानीकर्ता खोज्नुपर्छ। दाता होइन। अब माग्ने होइन, साझेदारीका हात बढाउनुपर्छ। हामीले निरीह भएर होइन, गर्वसाथ देश बनाउन कम्मर कस्नुपर्छ।
मागेका भरमा कहाँ–कहाँ के–के बनाउने ? समय अब इलम र उद्यमको आएको छ। माग्न नेतृत्व गर्नेसँग भएका कला बरु उद्योग–धन्दा निर्माणमा प्रयोग गर्नुहोस्। तपाईं अग्रसर हुनुहोस्, धेरैले लगानी गर्छन्। त्यसले रोजगार सिर्जना गर्छ। आर्जन हुन्छ। राज्यलाई कर तिरौं। बचेको पैसा मिलेर बाँडौं। पहिला आफ्नो जीवन धानौं। अनि पो हो समाजसेवा गर्ने।
जब–जब देशमा विपत्ति हुन्छ, ‘समाजसेवा खेती’ निकै मौलाउँछ। भूकम्पले कति घरवारविहीन हुँदा कतिका दरबार जोडिए। पीडितका अगाडि गोहीका आँसु चुहाउँदै सहयोगका त्यान्द्रातुन्द्री तिनले छरे। ठूलो हिस्साले आफ्नै गोजी भरे।
कतिका रगत–पसिनाको कमाइ, कतिको कालो धन, कतिको लुकाउने सम्पत्ति बटुलेर ‘समाजसेवी’ बन्ने जमाना अब छैन। कोहीसँग एक रुपैयाँ माग्नुहुन्छ भने त्यसलाई ३ रुपैयाँ बनाएर दिनुहोस्। र, एक रुपैयाँ दान गराउनुहोस्। गरिबले कमाएको १ रुपैयाँ तपाईंले मागेरै किन उडाइदिनुहुन्छ ? एक करोड जनाले एक–एक रुपैयाँ दिँदा तपाईंलाई त करोड हुन्छ। दिनेले पनि ‘नाथे एक रुपैयाँ के खोज्नु ? ’ भन्ठान्छ। त्यही भएर तपाईंको पेसा निर्वाध चलिरहन्छ। सोच्नुहोस्– तपाईंको समाजसेवा न्यायसंगत होला त ?
अचेल एउटा व्यवसाय खुबै फापेको देखिन्छ– सम्मान र अभिनन्दन। पैसावाललाई सम्मान चाहिएको छ। धन्दा नमान्नुहोस्– त्यसका संस्था बग्रेल्ती छन्। तपाईंलाई कति हजार वा कति लाखको पुरस्कार थाप्नु छ, भन्नुहोस्। आफैं रकम दिनुहोस्। त्यसको कार्यक्रम गर्ने खर्च व्यहोर्नुहोस्। दोसल्ला आफैं किन्नुहोस्। साथमा आयोजक संस्थालाई ‘सेवा शुल्क’ टक््रयाउनुहोस्। सम्मान पाउने तपाईंको अभिलाषा पूरा भइहाल्छ। उसको पनि व्यापार चल्छ। ‘विन–विन’ को यो धन्दा निकै फैलिएको छ। समाजसेवा यस्तै अर्को व्यवसाय हो। यसमा पनि झार्ने र कमाउने शैली उही प्रयोग हुन्छ।
०००
दार्चुला सदरमुकाम बाढीले डुब्दा विदेशबाट करोडौं उठ्यो। त्यो कहाँ पुग्यो– लेखाजोखा छैन। हरेक सिजन देशमा कुनै न कुनै विपत्ति आएकै हुन्छ। दानी नेपालीले ती सबै दुःखद क्षणमा दिएकै हुन्छन्। सदुपयोग भने औंलामा गन्नैपर्ने हुन्छ।
जब–जब देशमा विपत्ति हुन्छ, ‘समाजसेवा खेती’ निकै मौलाउँछ। भूकम्पले कति घरवारविहीन हुँदा कतिका दरबार जोडिए। पीडितका अगाडि गोहीका आँसु चुहाउँदै सहयोगका त्यान्द्रातुन्द्री तिनले छरे। ठूलो हिस्साले आफ्नै गोजी भरे।
अहिले बारा–पर्सामा अकल्पनीय विपत्ति आइलागेको छ। अप्रत्यासित हुरी–भुमरीले २७ जनाको निधन भयो। ४ सयभन्दा बढी घाइते भए। आधा दर्जनभन्दा बढी गाउँका ४ हजारभन्दा बढी घर–परिवार विस्थापित भए। त्यहाँको अवस्था कहालीलाग्दो छ।
अब त्यो पीडाको व्यापार गर्ने देशमा धेरै हुनेछन्। आफ्नो होइन, अरूको गोजीको पैसा मागेर ‘समाजसेवी’ बन्न हौसिनेहरू बग्रेल्ती देखिनेछन्। पीडितका पीडासामु केही रुपैयाँको ‘राहत’ बोकेर गलाभरिको माला हल्लाउँदै ती झुल्किनेछन्। र, आफैं भन्नेछन्– ‘मजस्तो समाजसेवी अरू को होला ? ’