वायुसेवा निगमको दुबइ उडान रद्द, ६ कर्मचारीलाई कारवाही सिफारिस
काठमाडौं : नेपाल वायुसेवा निगमको यही चैत १९ गते राती सवा नौ बजे काठमाडौं दुबई उडान रद्द गर्ने कर्मचारीलाई कारबाही सिफारिस भएको छ । निगमको उक्त उडान रद्द भएको विषयमा आवश्यक छानबिन गर्न बनेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वको एक समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको उक्त प्रतिवेदनमा सम्बन्धित निकायका छ जना कर्मचारीलाई विभागीय कारबाही गर्न समितिले किटानीसहित सिफारिस गरेको छ ।
निगको उक्त उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुइ जना जिम्मेवार कर्मचारी, उडान रद्द भएपनि उपयुक्त कदम नचाल्ने नेपाल वायुसेवा निगमका विमानस्थल स्थित दुइ जना पदाधिकारी, उक्त समयमा ह्याङ्गर तथा पार्किङ वेमा जहाज ल्यउाने सन्दर्भमा कमजोरीगर्ने अर्को दुई कर्मचारीसहित ६ जनालाई कारवाही सिफारिश भएको छ । कारवाहीमा परेको कर्मचारीलाई सम्बन्धित कार्यालयले बिभागिय कारवाहीगर्ने भएकोले नाम सार्वजनिक नगरेको समिति संयोजक लामिछानेले बताए ।
उनका अनुसार गत मंगलबार नोटामको समयमा फ्लाई दुबाईलाई उडान अनुमति दिने कर्मचारीलाई पनि कारवाही गर्न सिफारिश गरिएको छ । एउटै प्रकृतिको घटनामा वायुसेवा निगमलाई उडान अनुमति नदिने र विदेशी वायुसेवालाई दिएको विषय उड्डयन मापदण्डसँग बाझिएकोले पनि फ्लाई दुबईको लागि उडान अनुमति दिने कर्मचारीलाई पनि कसुर बमोजिम कारबाही गर्न पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सिफारिश गरेको छ । साथै समितिले अगामी दिनमा हवाई उडान सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित निकायलाई १९ बुँदे सुझाव पनि दिएको छ ।
सुधारको लागि सिफारिस
१. रनवे क्लोजर सम्बन्धी नोटामको सूचनाको कार्यान्वयन समान रूपमा सबै पदाधिकारीबाट हुनु पर्ने ।
२. संवेदनशील परिस्थितिमा निर्णय गर्नु पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय मिवानस्थल (टीआईए)को सिफ्ट इन्चार्जले प्राधिकरणको माथिल्लो तहसम्म समन्वय गरी स्पष्ट निर्देशन प्राप्त गरेर मात्र निर्णय गर्नु पर्ने ।
३. धावनमार्ग जिर्णोद्वारमा असर नपर्ने गरी बफर टाइमलाई उपयोग गर्ने अधिकार सिफ्ट इन्चार्जले टर्मिनल ड्युटी अफिसर र निर्माण कम्पनीको प्रतिनिधिबीच समन्वय गरी गर्ने व्यवस्था प्राधिकरणले मिलाउने ।
४. टावरको निर्देशानुसार यात्रु अनबोर्ड गरेर उडानको लागि सबै ढोका बन्द गरेर उडानको पूर्ण तयारी अवस्थामा पुगेको कुनै पनि अन्तर्रा्ष्ट्रिय वायुयानलाई उपयुक्त समन्वयमा काममा प्रतिकूल असर नपर्ने गरी सम्भव भएसम्म उडाउने गरी विमानस्थल व्यवस्थापनले आवश्यक पहल गर्नु पर्ने ।
५. नोटामको समयभित्र उडानको समय पुग्ने आँकलन भएमा सो क्याल्कुलेशन गरि त्यस्ता उडानको हकमा उडानको प्रारम्भिक तयारी नगर्न र नगराउन विमानस्थल तथा वायुसेवा कम्पनीहरुले आपसी समन्वयमा पूर्व निर्णय लिनु पर्ने ।
६. नोटाम तोक्दा योग्यदा र अनुभवको मापदण्ड बनाइ तोक्ने व्यवस्था प्राधिकरणले मिलाउने ।
७. विमानस्थल अपरेसनको सूचना प्रवाहलाई गू्रप म्यासेज प्रणालिमा रूपान्तरण गरी एक जना पदाधिकारीले पठाएको सूचना सम्बद्ध सबै पदाधिकारीहरुलाई जानकारी हुने गरी व्यवस्था मिलाउने ।
८. निगमले आफ्नो वायुयान र उडान संख्यालाई बिचार गरी प्रत्येक सिफ्टमा उपयुक्त संख्यामा प्राविधिक र इन्जिनियरको व्यवस्था मिलाउने ।
९. प्राधिकरण तथा वायुसेवा निगम अपरेसनमा कार्यरत कर्मचारीहरुलाई मानविय संवेदनशिलता, धैर्यता र समन्वय सम्बन्धी तालिमको व्यवस्था गर्ने ।
१०. यात्रु अनबोर्ड गरिसके पछि उडान रद्द हुन गएमा यात्रुको उचित व्यवस्थापनका लागि सबै वायुसेवाले त्रि.अ.वि. र सुरक्षा निकायबीच समन्वयको लागि एसओपी बनाउने । यसमा विमानस्थल कार्यालयले समन्वयकारी भूमिका खेल्ने ।
११. एउटा वाइडबडी वायुयान रनवेमा र अर्को वाइडबडी ट्याक्सीवेमा होल्डिङ प्वाइन्मा राखि अपरेशन सञ्चालन गर्न सकिन्छ वा सकिँदैन ? विमानस्थलले रिक्स एसिसमेन्ट गरी कार्यान्वयन गर्न सकेमा उडान सञ्चालनमा सहजता हुने देखिएकोले यस सम्बन्धमा क्यानले गृहकार्य गर्ने ।
१२. उडान सुरक्षा र यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिँदै यदि कुनै कारणले कुनै उडान हुन नसक्ने अवस्था सिर्जना भएमा टावर तथा एयरलाइन्सले आपसी समन्वयमा उडान पूर्वका तयारी कार्यहरु नगर्ने र नगराउन े।
१३. अन्तर्रा्ष्ट्रिय उडान गर्ने निगमको वायुयान ह्याङ्गरमा छ भने जहाजको प्रोसेसिङ समयालाई ध्यान दिँदै उपयुक्त समयमा ह्यागरबाट पार्किङबे सम्म जहाज ल्याउने अवसर विमानस्थलले मिलाउनु पर्ने र निगमले पनि सकेसम्म छिटो जहाज उडान गराउने गरीविमानस्थलाई सहयोग गर्नु पर्ने ।
१४. क्इानले धानवमार्ग जिर्णोद्वारको कार्य समयमै सम्पन्न गर्ने गरी अधिकतम रुपमा सबै साधन, श्रोत र शक्ति परिचालन गर्नु पर्ने ।
१५. निगमको विमानस्थलमा कार्यरत सबै विभागको कर्मचारीहरुले चनाखोपूर्ण तरिकाले आफ्ना आन्तरिक विभाग तथा सम्बद्ध अन्य निकायसँग निकट समन्वयमा रहेर चुस्तता र धैर्यतापूर्ण रूपमा कार्य गर्नु पर्ने ।
१६. धावनमार्ग जिर्णोद्वार कार्य सम्पन्न हुने समयसम्म पटक पटक यस्तो परिस्थिति आउन सक्ने संभावनालाई ध्यानमा राखि आयोजनाको तोकिएको पदाधिकारीको समन्वयमा परिस्थितिको गम्भिरतालाई मध्यनजर गरी उपयुक्त निर्णय गर्ने अधिकार एटीसी सिफ्ट इन्चार्जलाई दिन उपयुक्त देखिने । यस सम्बन्धमा छलफल गरी निष्कर्षमा पुग्न क्यानलाई निर्देशन दिने ।
१७. अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालन जस्तो विषयमा व्यक्ति पिच्छे फरक निर्णय नआओस् भन्नका लागि एसओपी बनाइ लागू गर्दा उपयुक्त देखिने ।
१८. विमानस्थल भित्र वायुयानको मुभमेन्टलाई प्रभाव पार्ने स्थानमा कुनै पनि मर्मत सम्भार र निर्माण हुँदा एसओपी बनाई एटीसी युनिटसँग प्रत्यक्ष संचार सम्पर्क राख्ने व्यवस्था मिलाउने र विमानस्थलका मौजुदा कानून जानकारी भएको जिम्मेवार व्यक्ति निर्माण कार्य गर्ने संस्थाको प्रतिनिधि हुनु पर्ने ।
१९. वर्तमान परिस्थिति रहँदा सम्म अन्तर्राष्ट्रिय उडानलाई छिटो छिटो प्रोसेसिङ सम्पन्न गरी उडाउनु पर्ने अन्यथा टाइम फ्याक्टरको कारण उडान रद्दका घटना पटक पटक दोहोरिन सक्ने भएकोले एयरलाइन चेक इन काउन्टर, अध्यागमन तथा एयरपोर्ट सेक्युरीटी प्वाइन्टमा काम गर्ने सबै पदाधिकारीहरूले शिघ्रता र उच्च सतर्कताका साथ काम गर्नु पर्ने ।