पशुपतिनगरमा पानीको हाहाकार
(बर्दिबास)महोत्तरी : महोत्तरीको बर्दिबासस्थित पशुपतिनगरमा खानेपानीको हाहाकार भएको छ। दुई वर्षअघि निर्माण भएको खानेपानी योजना अझै संचालनमा आएको छैन।
एक लाख लिटरको ओभरहेड ट्यांकी निर्माण भइसकेको छ।उपभोक्ता समिति भित्रको विवादका कारण स्थानीयले खानेपानी पाउन सकेका नसकेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जय महतोले जनाए।
चैत्र-वैशाखको सुख्खा याम सुरु भएसँगै पानीका मुहान सुकिसकेका छन्। इनारमा पानी आउँदैन। पानी अभावले सबैभन्दा गृहिणी पिरोलिएका छन्।खानेपानी योजना अलपत्र परेपछि पशुपतिनगरका ५ सय ८७ घरधुरीका करिब २ हजार ९ सय ६८ जनसंख्या प्रभावित भएका छन्।
उपभोक्ता समितिको आन्तरिक विवादको कारण खानेपानी योजनाको काम पुरा हुन सकेको छैन। डिप बोरिङ्ग, ओभरहेड ट्यांक, ट्रास्फर्म, मुख्य पाइपलाइनको काम भइसकेको छ। शाखा पाइपलाइन विस्तार, बोरिङ्गमा मोटर जडान र विद्युतको मिटर जडानको पुरा हुन नसकेको खानेपानी तथा सरसफाई जिभिजन कार्यालय डिभिजन नं.- २ जलेश्वर महोत्तरीका इन्जिनियर सुरेन्द्र शर्माले जनाए।
उनका अनुसार, समितिले काम गर्न नसक्दा २५ लाख रुपैयाँ कार्यालयको खातामा थन्किएको छ। काम गरेर विलभपाई पेश गरे तुरुन्त भुक्तानी हुनेछ।तर, समितिले न काम गरेको छ न त कार्यालयलाई काम गराउन उपभोक्ता समितिले लिखित निर्णय गरेर दिएको छ।
बर्दिबास नगरपालिका-९ पशुपतिनगरका वडाअध्यक्ष टेकवीर रखालले उपभोक्ता समिति भित्रको विवाद मिलाउन छलफल चलाइएको बताए।'विवाद सामस्य पारेर स्थानीयको घरघरमा धाराको पानी पुर्याउन कुनै कसर बाँकी राखादैंनौं, 'उनले भने ।
खानेपानी योजना निर्माणका लागि स्थानीय जगदेव महतोले आठ वर्षअघि २१ लाख पर्ने तीन कठ्ठा जग्गा दान गरेका थिए। पिउने पानी पिलाएर पुण्य प्राप्ति हुने भन्दै उनले आफ्नो घडेरी नै दान गरेका थिए।
खानेपानी योजना विवादमा परेपछि ८० वर्षीय जग्गादाता वृद्ध जगदेव चिन्तित बनेका छन्।'वर्षौदेखि पशुपतिनगरमा खानेपानीको समस्याले पिरोलिएका स्थानीयलाई पानी खान पाउलान् भन्ने उद्देश्यले खानेपानीका लागि जग्गा दान गरे तर खानेपानी आएको छैन।उनले भने, 'म पाकेको फलझैं भइसके कतिखेर झर्छु थाहा छैन्।पशुपतिनगरवासीले मेरो आँखा अगाडी स्वच्छ खानेपानी पिएको देख्ने सपना छ।'
स्थानीय अकिना खातुन भन्छिन्, 'हामी गाउँदेखि टाढाको क्रसरबाट पानी ल्याएर खान्छौं। पशुपतिनगरको इनार सुक्ने क्रम सुरु भइसक्यो। इनारबाट आएको दुषित पानी खान बाध्य भएका छौं।'
स-साना बालबालिकालाई सफा पोशाकमा विद्यालय पठाउन नसकेको बताउँदै खातुनले भनिन्, 'इनारमा पानी भर्न घण्टौं लाम बस्नु पर्छ अनि बल्ल पालो आउँछ।'
इनार सुकेर माटो मिसिएको दूषित पानी आएको उनले गुनासो गरिन्। 'हामीले गत वर्ष नै ५ सयको दरले श्रमदान गरेका थियौं, तर वर्षदिन बितिसक्दा पनि धाराको पानी खान पाएका छैनौं।एकातिर इनार सुख्दै जानु, अर्कातिर हिलो मिसिएको पानी खानुपर्ने बाध्यताले आफूहरु ४ महिनासम्म खोकीबाट जुध्नुपरेको अर्का स्थानीय मंगल रामले बताए।
पशुपतिनगरकै अर्का स्थानीयवासी मोहन महतोले दुखेसो पोख्दै भने, 'धाराको पानी खान पाउँछौं कि पाउँदैनौं भनेर बिरामी बुवाले मसँग प्रश्न गरे। ७ वर्षदेखि खानेपानी आउँछ भनेको सुन्दैछु बाबु कहिले धाराको पानी खान पाउँछौं त हामीले? बुवाको यस्तो प्रश्न सुनेर म जवाफ दिन सकिन त्यति खेर।उनले भने,'बुवा संसार छोडेर गए।आफ्नै गाउँमा धाराबाट आएको पानी खान्छु भन्ने उनको सपना अपूरै रहयो।'