न्युडदेखि राजाको छातासम्म

न्युडदेखि राजाको छातासम्म

आर्टमा अनगिन्ती कामहरू गर्न बाँकी छ। कलाकारले सुनाउन बाँकी छ। दर्शकले बुझ्न बाँकि छ। ‘आर्टलाई अभिव्यक्ति स्वतन्त्रताको माध्यम पनि मानिन्छ। अभिव्यक्ति कहिल्यै पनि पूरा हुँदैन। यसले नयाँ कुरा खोज्छ। हरेक कलाकारमा फरकफरक विचार, सोच र सिर्जनात्मक क्षमता हुन्छ, यो कहिल्यै पूरा हुँदैन। त्यसैले पनि धेरै कुरा भन्न बाँकी छ।’ कलाकार मनिसलाल श्रेष्ठ आर्टको व्याख्या गरिरहेका थिए।

पाटनढोका छेउमा रहेको एमक्युव ग्यालरीमा ‘छ’ शीर्षकको आर्ट प्रदर्शनी चलिरहेको छ। ग्यालरीभित्र पस्नासाथ जो कोही अवाक हुन्छ। कुनै प्रिन्ट गरिएको आर्ट छ, कुनैमा भने नेपाली कागज काटेर जोडेर बनाइएको छ। अलि पर छाताजस्ता देखिने फरक आकृति टाँसिएको छ। अर्को भित्तामा हरियो नीलो रङ लगाइएको काठको आकार भित्तामा ढल्काइएको छ। कुनैमा भने मानिसका विभिन्न भावभंगीका मानवीय आकृति छन्।

त्यस्तै, महिला र पुरुषका २० वटा न्युड आकृति आर्टमा सजाइएको छ। कुनै चित्रमा मस्त जवान युवती लुगाबिनै बाटोमा हिँडिरहेको दृश्य छ त कुनैमा न्युड पुरुष उत्तानो परेर सुतिरहेको छ। यी न्युड चित्र कपिलमणि दीक्षितका हुन्।

ग्यालरीको गेटनेरैको भित्तामा कालो डे«स लगाएका केही आर्मीहरू ठिंग उभिएका छन्। यिनलाई सुरक्षा कवचका रूपमा प्रयोगमा ल्याइएको छ। सेतो लुगा लगाएको एक मान्छेले टाउकोमा बच्चा बोकेको छ। ‘सेभ माई बेबी गर्ल’ शीर्षकको यो आर्टमा कलाकारको फरक सिर्जना देख्न सकिन्छ। अर्को कुनाका राता फूलहरूलाई पानीको बहावसँग जोडेर बनाएको आर्टहरू छन्।

अक्सर नेपालका ग्यालरीहरूमा एकै खालका प्रोटेट, क्यानभास र एउटै साइजका चित्रहरू लहरै राखेर आर्ट प्रदर्शनी गरिन्छ। तर एमक्युवमा यो नियम तोडिएको छ। कलाकारहरू विधाता केसी, जुपिटर प्रधान, कपिलमणि दीक्षित, मनीषलाल श्रेष्ठ, सन्ध्या सिलवाल र सुष्मा शाक्यलगायतका ६ जना कलाकार अभियानमा जोडिएका छन्। उनीहरू कहिले धागोको डल्लामा कलाकारिता खोज्छन् त कहिले कागजका टुक्रा जोड्न प्रयासरत हुन्छन्। कहिले होटेलका होडिङबोर्डलाई विषय बनाउछन् त कहिले ढलेको रूख देखेर सुन्दर जीवनको परिकल्पना गर्छन्।

हरेक आर्टहरू कुनै न कुनै विचार र थिमसँग सम्बन्धित रहेको मनीषलाल श्रेष्ठले बताए। उनले काठको टुक्रालाई जोडेर निकै कलात्मक आर्ट बनाएका छन्। हेर्दा कुनै दराजको बाहिरी ढोका जस्तो देखिन्छ। मसिना टाँकलाई सँगालेर काठमै उनिएको छ। त्यसमाथि हरियो रङ पोतिएको छ, यसले पुरुषलाई बिम्बात्मक रूपमा प्रस्तुत गरिएको छ। अर्को चित्रमा भने कपडाका विभिन्न टुक्रा टाँसेर महिलाको बिम्ब देखाइएको छ।

मेड इन् माइन्ड लेखिएको यो आर्टमा श्रेष्ठले आर्टको पनि एउटा छुट्टै ब्रान्ड स्थापना गरेका छन्। उनका अनुसार हरेक मान्छेको जीवन केही न केहीसँग आड लिएरै बाँचेको हुन्छ।

‘सेभ माई बेबी गर्ल’ शीर्षकको आर्ट जुपिटर प्रधानले बनाएका हुन्। उनका अनुसार यो एउटा एउटा इन्स्टलेसन आर्टको प्रयोग हो। नेपालमा छोरीहरू अत्यन्तै असुरक्षित छन्। महिलालाई समाज र संस्कृतिले नै विभेद गर्छ। छोरीहरूलाई सुरक्षित तवरले हुर्काउन रक्षाकवच जरुरी छ भन्ने प्रतीकात्मक आशय देखाउन खोजिएको हो।

‘कलामा कुने नियम नै छैन। जसले जे गरे पनि हुन्छ तर कुनै अर्थ बोकेको हुनुपर्छ’ भन्ने कपिलमणि न्युड आर्टिस्ट हुन्। उनका अनुसार ‘आर्ट सन्तृष्टिको लागि हो। यसले कलाकारको विचार र रुचि बोकेको हुन्छ।’ उनलाई क्रिया प्रतिक्रिया दिने, संवेदना, खुसी र दुःखको भाव पोख्न सक्ने मानव शरीर सधैं एक रहस्य जस्तो लाग्छ। त्यसैले पनि करिब एक दशकदेखि न्युड आर्टलाई स्थापित गर्ने प्रयासमा छन्।

विधाता केसी केही समयअघि मुस्ताङ गएकी थिइन्। त्यहाँ जानुअघि मुस्ताङ भन्नासाथ जुन चित्र उनको मनमा थियो, त्यहाँ पुगेपछि चकनाचुर भयो। त्यहाँका विभिन्न होटेलहरूको विज्ञापन र होर्डिङबोर्डले मुस्ताङको मौलिकता हराइसकेको पाइन्। अनि मुस्ताङसँगको चित्तदुखाइ चित्रमा उतारिन्। भन्छिन्, ‘जहाँ जे हेर्न गएको हो, हामीले त्यहाँ त्यही देख्न पाउनुपर्छ।’ उनले मुस्ताङ्गी राजालाई सामान्य खालको पिंक कलरको छाता ओढाएको देखिन्। राजा धार्मिक मान्यतासँग जोडिएको पद भएकाले राजाले विशेष छाता ओढ्नुपर्छ भन्दै राजाको लागि चित्रमार्फत नै विशेष छाता बनाइदिइन्।

प्रदर्शनीमा सन्ध्या सिलवालले छुरा चलाएकी छिन्। विशाल आकारको चित्रमा एक वृद्धा चुपचाप बसेकी छिन्। उनले वृद्धालाई आमाको ठाउँमा राखेकी छन्। आमासँग स्वर्गीय आनन्द प्राप्त हुन्छ। त्यसैले पनि यस चित्रमार्फत उनले आमालाई भगवान्को स्वरूपमा देखाएकी छन्।

सुष्मा शाक्यले मानव जीवनचक्रलाई चित्रमा उतारेकी छन्। एउटा बिजबाट बिरुवा बन्न पानी, हावा, वातावरणलगायत आवस्यक हुन्छ। त्यस्तै मानिसको जीवन पूर्ण हुन अनगिन्ती तŒवहरूको आवश्यकता पर्ने सत्य बताउन रातो फूलको जीवनलाई चित्रमा उतारेकी छन्। वागमतीको किनारमा कुनै सुन्दर फूल फुलिरहेको दृष्यले काठमाडौंको फोहोर वागमतीलाई समेत व्यंग्य गरेको छ। प्रदर्शनी आगामी शुक्रबारसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.