सिरहामा रोकियो बालविवाह
सिरहा : सिरहाको मिर्चैया नगरपालिका १२ स्थित सिक्रौन गाउँमा गएराति एक बालविवाह रोकिएको छ। १५ वर्षकै उमेरमा अभिभावकले ती बालिकालाई आफन्तको घरमा लगेर विवाह गराउन थालेका थिए। स्थानीय वडाअध्यक्ष र प्रहरीको सक्रियतामा उनको विवाह रोकिएको हो। विवाह रोकिएपछि जन्ती बाटोबाटै फर्केका छन्।
लहान नगरपालिका २४ की सियाकुमारी कामैतको अभिभावकले १५ वर्षकै उमेर विवाह तय गरिदिएका थिए। आफ्नो गाउँमा कम उमेर विवाह नगराउन दबाब आएपछि उनको बुबा ओपिन्दर कामैतले आफ्न्तको घर सिक्रौन पुगेर लुकाएर विवाह गर्ने चाजोपाजो मिलाएका थिए।
बालिकाको उमेर नपुगेका थाहा पाएपछि अधिकारकर्मीले प्रहरीलाई खबर गरेको थियो। जन्ती आउनुअघि नै गाउँमा प्रहरी पुगेका थिए। सिक्रौनका वडाअध्यक्ष तपेश्वर यादव र प्रहरी मिलेर बालविवाह रोकेका छन्।
‘खबर पाउनसाथ हामी विवाह हुने घरमा पुग्यौँ,’ वडाअध्यक्ष यादवले भने, ‘सम्झाइ बुझाइ गरी विवाह रोकिएको छ।’ जन्मदर्ता अनुसार बालिकाको जन्म २०६० असोज १८ गते भएको उल्लेख छ।