बैतडीमा ३२ वडा कार्यालय भवनविहीन
बैतडी : जिल्लाको मेलौली नगरपालिका-३ का नागरिक सेवा लिन २ नम्बर वडा कार्यालयमा पुग्छन्। वडा नं ३ को आफ्नो भवन नहुँदा वडा नम्बर २ कै कार्यालयबाट वडा नम्बर ३ को काम पनि भइरहेको वडा नं ३ का वडाअध्यक्ष रघुबीर भाटले बताए। उनले भने, 'वडा नम्बर ३ मा भाडामा समेत भवन पाइएन्। अहिले हामीले जमीन खोजी गरेर अब वडा नम्बर ३ मै कार्यालय स्थापना गर्ने तयारी गरेका छौं। अहिलेसम्म वडा नम्बर २ कै कार्यालयमा वडा नम्बरको ३ को पनि काम गरिरहेका छौं।'
पाटन नगरपालिका वडा नं ९ को कार्यालयले वडामा जनप्रतिनिधि आएलगत्तै वडा नं ८ को खोड्पेमा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरेको थियो। वडा नं ९ मा भाडामा नपाएपछि वडा नं ८ मा भाडामा भवन लिएर काम गरिरहेको वडाअध्यक्ष लोकबहादुर भण्डारीले बताए।अहिले वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा छ।
वडा कार्यालयका भवन नहुँदा समस्या झेलिरहेका यी दुईवडा मात्रै होइनन् जिल्लाका ८४ वडामध्ये ३२ वडासँग आफ्ना भवन छैनन्। भवन भएका वडा कार्यालयसँग पनि जीर्ण भवन रहेका स्थानीय तहले जनाएका छन्। वडाका भवन नहुँदा कामकाजमा समस्या हुने गरेको सुर्नया गाउँपालिका-३ का वडा अध्यक्ष दिलाराम भट्टले बताए।उनले भने, 'आफ्नो भवनको जस्तो भाडाका भवनबाट सेवा दिन सजिलो छैन्। सानो कोठामा सबै सेवा दिनुपर्ने स्थिती रहेको छ।'
सदरमुकामको नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाको -७ पनि भवन नभएको वडाको रुपमा रहेको नगरप्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिए। उनले भने, 'यो वडा नयाँ वडाको रुपमा स्थापित वडा हो। यसमा साविकका सरकारी भवन पनि छैनन् त्यसैले भवन भाडामा लिएर काम गरिरहेका छौं।'
सिगास गाउँपालिकाको वडा नं १,३,५, ७ र ९ को आफ्नो भवन नभएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। उनले भवन नभएका वडामा चालु आर्थिक वर्षमा भवन निर्माणको काम अघि बढाएको जानकारी दिए।
सुर्नया गाउँपालिकाको वडा नं ३,५,६ र ८ ले भवनको समस्या झेलिरहेका छन्। यस्तै पुरचौंडी नगरपालिकाको २,३,४ र ९ नम्बर वडा आफ्ना भवन नभएका नगरप्रवक्ता गौतम प्रसाद भट्टले बताए।
यसैगरी शिवनाथ गाउँपालिकाको वडा नं १,३,४,५ र ६ नम्बर वडाहरु भाडाका भवनमा सञ्चालन भइरहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।
यसैगरी दोगडाकेदार गाउँपालिका वडा नं २,४, ६ र ७ का कार्यालय भाडाका भवनमा छन् मेलौली नगरपालिकाका १,३,४,५,६ र ८ नम्बर वडाका कार्यालय भाडाकै भवनमा छन्। डिलाशैनी गाउँपालिकाका वडा नं १ र ५ सँग आफ्नो भवन नभएको गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए। भवन भएका अधिकांश वडाका भवन पनि जीर्ण रहेका स्थानीय तहहरुले जनाएका छन्।
स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै दुई वर्ष हुन लागेपनि वडा कार्यालयले अझै पनि भौतिक संरचनाको अभाव खेपिरहेका छन्।भौतिक संरचनाको अभावले पनि सेवाहरु प्रभावकारी हुन नसकेको जनप्रतिनिधि बताउँछन्।