कोटेश्वर जामको विकल्प अन्डरपास

कोटेश्वर जामको विकल्प अन्डरपास

काठमाडौं : ट्राफिक जामको पर्यावाची भइसकेको छ, कोटेश्वर। सर्वसाधारण कोटेश्वरको जामले आजित छन्। जामका कारण यो बाटो प्रयोग गर्नेको दैनिकी बदलिँदो छ। कोटेश्वरस्थित कैलाश विकास बैंकमा काम गर्ने गठ्ठाघरकी नमिता काफ्ले कार्यालय समयभन्दा एक घण्टाअघि नै घरबाट निस्किन्छिन्। अढाई वर्षीय छोरीलाई साढे ८ बजे नै खाना खुवाएर घरबाट निस्कुनुपर्ने काफ्लेको भनाइ छ।

‘गठ्ठाघरबाट कोटेश्वरको बाटो १० मिनेटको हो। जामपर्ने भएकाले छिट्टै निस्किन्छु’, काफ्लेले भनिन्, ‘जामका कारण छोरीसँग बिताउने समय छोटिएको छ।’ बेलुका ५ बजे कार्यालय छुटे पनि घर पुग्दा साढे ६ बज्ने उनी बताउँछन्। यस्तै ठिमीका उत्तम खत्री जमलको कार्यालय समय पुग्न घरबाट ढेड घण्टा अघि नै निस्किने बताउँछन्। ‘१० बजे कार्यालय पुग्नु पर्छ। छिट्टै घरबाट ननिस्कने हो भने समयमा पुग्न सकिन्न’, खत्रीले भने, ‘कार्यालय आउनजान मात्र ३ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्छ।’ उनीहरू त प्रतिनिध पात्र मात्र हुन्।

दुई लेनको कोटेश्वर–सूर्यविनाक ९.१४ किलोमिटर सडक २०६९ सालमा चार लेनमा स्तरोन्नति गरिएको थियो। साघुँरो सडक फराकिलो बन्दा जामको समस्या अन्त्य हुने धेरैको विश्वास थियो। तर सडक विस्तार भएको ७ वर्ष लाग्दै गर्दा सडक साँघुरो भइसकेको छ। सडकको सुविधासँगै भक्तपुरमा बसाइसर्नेको संख्या बढ्दो छ। २०७२ सालदेखि सञ्चालनमा आएको बीपी राजमार्गमा गुड्ने सवारी पनि यही सडक प्रयोग गर्छन्। यही रुटबाट काठमाडौंबाट पूर्वी पहाड र तराई जाने सवारी छुट्ने गर्छन्।

सडकको क्षमताभन्दा सवारीको चाप धेरै भएकाले कोटेश्वर क्षेत्रमा जाम बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। यसअघि कलंकी क्षेत्रमा पनि यस्तै जाम हुने गरेको थियो। कोटेश्वर–कलंकीखण्ड विस्तार गर्दा त्यहाँको जाम न्यूनीकरण गर्न अन्डरपास निर्माण गरिएको थियो। अन्डरपासका कारण अहिले कलंकी चोकको जाम न्यूनीकरण गर्न धेरै सहयोग गरेको छ।

कोटेश्वरको जाम हटाउन अन्डरपास र वैकल्पिक मार्गको प्रयोगमा जोड दिनुपर्ने गजुरेल बताउँछन्। ‘सडक बढाएर मात्र जाम न्यूनीकरण हुँदैन। गाडी क्रस गर्दा अर्को रोक्नुपर्छ’, गजुरेलले भने, ‘चोकमा गाडी एक अर्काको आगमनमा बाधा नपुग्ने गरी सडकको डिजाइन गर्नुपर्छ।’

ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय प्रहरीलगायत प्रतिनिधिको सहभागितामा यहाँको जाम व्यवस्थापन गर्न अध्ययन भइरहेको छ। रत्नपार्कको जस्तै पिक एन्ड ड्रप (चढाउने र ओराल्ने) प्रणाली लागू गर्न अध्ययन भइरहेको छ। पूर्वी पहाड र तराई जाने सवारीको बसपार्क अन्यन्त्र सार्ने तयारी पनि गरिएको छ। यस्तै मनोहरा खोलाको करिडोरलाई पनि प्राथमिकतामा राखिएको छ।

जापानी सहयोग नियोग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मिलेर कोटेश्वर–जडीबुटीको जाम व्यवस्थापन गर्ने विषयमा पनि अध्ययन भइरहेको छ। मन्त्रालयका सहसचित मधुसूदन अधिकारीका अनुसार जाइकाले यो क्षेत्रको जाम न्यूनीकरण गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ। उनका अनुसार जाइकाले जाम हटाउन अन्डरपास र भायोडक्ट (सडक माथि पुल) निर्माण गर्न अध्ययन गरिरहेको बताए। जाइकको प्रतिवेदनअनुसार कोटेश्वर चोकमा अन्डरपास र कोटेश्वरदेखि थापाथलिसम्म भायोडक्ट निर्माण गर्ने विकल्प अघिसारिएको छ। कोटेश्वर र बानेश्वर सडकखण्ड सम्वेदनशील क्षेत्र भएकाले भायोडक्स सम्भव छैन।

यो क्षेत्रमा नजिकै अन्तर्राष्ट्रिय विमानस्थल छ। भायोडक्स विमानस्थलको सुरक्षाका लागि चुनौती हुन सक्छ। अग्लो पिल्लर उठाएर निर्माण गरिने भायोडक्स यात्रुका लागि उपयुक्त पनि देखिँदैन। जाइकाले अनुदानमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने अध्ययन गरेको हो। कोटेश्वर–जडीबुटीको ट्राफिक व्यवस्थापन गर्ने विकल्पमध्ये यो एक हो। जाइकाले मेभित्र अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ। प्रारम्भिक अध्ययन भएकाले अहिले नै कसरी अघि बढ्ने भन्न सकिने अवस्था नरहेको सचिव अधिकारी बताउँछन्। तर भायोडक्टभन्दा पनि अन्डरपास विकल्प हुन सक्ने उनको आसय छ। सम्भवतः कोटेश्वर–सूर्यविनायक सडक जापानले विस्तार गरेकाले सरकार जापानकै भरमा छ।

यस अघि सडक विभाग पुल महाशाखाले ट्राफिक व्यवस्थापन गर्न भनेर कोटेश्वर र बानेश्वरमा अन्डरपास निर्माण गर्ने तयारी गरेको थियो। यस विषयमा जाइकाले अध्ययन गरेकाले अहिले पुल महाशाखा यसबाट पछिहटेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.