पदकको चाङ
१२औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक एक रजतसहित चार पदक जितेकी गौरिका सिंह रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन्।
प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक जितिन्, गौरिका सिंहले। त्रिभुवन आर्मी क्लबकी गौरिकाले सर्वाधिक स्वर्ण मात्र जितिनन्, थुप्रै राष्ट्रिय कीर्तिमान पनि कायम गरिन्। आठौं राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण पदक जितेकी उनले आठवटा राष्ट्रिय कीर्तिमानसमेत बनाइन्।
उनले सबैभन्दा पहिले महिला ५० मिटर ब्याकस्ट्रोकको आफ्नै नाममा रहेको कीर्तिमान तोडिन्। निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गर्दै सन् २०१८ मा काठमाडौंमा आयोजना भएको २२औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको ३१.२२ सेकेन्ड समय सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। यस्तै १०० मिटर फ्रिस्टाइल स्पर्धामा कीर्र्तिमान बनाइन्। उनले सो दूरी ५९.६० सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएकी हुन्।
यस्तै एक सय मिटर बटरफ्लाई र दुई सय मिटर फ्रिस्टाइलमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। उनले एक सय मिटर बटरफ्लाईमा एक मिनेट ०७.९७ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् भने दुई सय मिटर फ्रिस्टाइलमा दुई मिनेट ०९.१९ सेकेन्डको कीर्तिमान बनाइन्। गौरिकाले महिला ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्।
उनले हिट चरणमा निर्धारित दूरी २७.५९ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। उनले आफ्नै कीर्तिमान सुधार गरेकी हुन्। यसअघि २७.९५ सेकन्डको उनको कीर्तिमान थियो। यसैगरी एक सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। उनले निर्धारित दूरी एक मिनेट ०८.६३ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन्। गौरिकाले दुई सय मिटर व्यक्तिगत स्पर्धामा पनि नयाँ कीर्तिमान कायम गरिन्। उनले दुई मिनेट ३२.०० सेकेन्डमा सो दूरी पार गर्दै कीर्तिमान बनाइन्। यसअघि उनकै नाममा दुई मिनेट ३२.५१ सेकेन्डको कीर्तिमान थियो।
उनले आठ सय मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक, चार गुणा एक सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा पनि स्वर्ण जितिन्। गौरिकाले यसअघिका प्रतियोगितामा पनि लगातार राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दै आइरहेकी छन्।
गौरिका सिंहले लन्डनमा बसेर पौडीलाई अगाडि बढाइरहेकी छन्। लन्डनमै निजी प्रशिक्षकबाट पौडी सिक्दै आएकी उनी दक्षिण एसियाली खेलकुद र ओलम्पिकमा पनि सहभागी भइसकेकी थिइन्। सन् २०१६ मा ब्राजिलको रियो दी जनेरियोमा भएको ओलम्पिकमा गौरिका कान्छी खेलाडीका रूपमा संसारभर चर्चामा रहेकी थिइन्।
१२औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक एक रजतसहित चार पदक जितेकी गौरिका सिंह रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन्। रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी भएर उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खुबै छाइन्। १३ वर्षकै उमेरमा पौडीबाट ओलम्पिकमा सहभागी उनी ११ हजारभन्दा बढी प्रतिस्पर्धीमाझ आकर्षणको केन्द्र बनेकी थिइन्। उनी ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष दुई सय ५५ दिनकी थिइन्। सन् २००२, नोभेम्बर २६ मा जन्मिएकी गौरिकाले सातामा आठदेखि नौ सेसन पौडी अभ्यास गर्दै आएकी छन्। हरेक सेसन दुईदेखि तीन घण्टासम्म चल्छ।
उनले १३औं सागमा नेपालका लागि थुप्रै पदक जित्ने अठोट गरेकी छन्। १२औं सागमा ऐतिहासिक एक रजत र तीन कांस्य पदक जितेकी उनले अब अझ धेरै पदक जित्नका लागि मेहनत गर्ने बताइन्। यही वर्ष आफ्नै देशमा आयोजना हुन लागेको १२औं सागलाई अझ विशेष बनाउने योजना उनको छ।
यसबाहेक भर्खर १६ वर्ष प्रवेश गरेकी उनको अर्को लक्ष्य छ— छनोट पार गरेर सन् २०२० को टोकियो ओलम्पिक खेल्ने। त्यसैले अहिलेलाई उनले यही दुई प्रतियोगितालाई दृष्टिगत गरेर तयारी गर्ने योजना बनाएकी छन्। गौरिकाका बुवा पारसबहादुर सिंह डाक्टर हुन्। उनी लन्डनको अस्पतालमा कार्यरत छन्। आमा गरिमा राणाले भने छोरी गौरिका र छोरा सौरेनको व्यवस्थापनमा समय बिताउँदै आएकी छन्।
पहिलो सहभागितामै चर्चा
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि सहभागिता जनाउने अवसर पायो। एनआरएनएका २५ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा चर्चामा रहे, नेथन दोर्जे शेर्पा। राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएको एनआरएनए टोली शेर्पाकै योगदानका कारण पदक तालिकामा कर्णाली प्रदेशभन्दा माथि उक्लियो। पदक तालिकामा एनआरएनए टोलीले जितेको ६ स्वर्णमध्ये चार स्वर्ण शेर्पाकै नाममा लेखिएको छ।
नेथनले एक सय मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। निर्धारित दूरी एक मिनेट ०७.०६ सेकेन्डमा पूरा गर्दै उनले सो कीर्तिमान बनाएका हुन्। यसअघि यस विधामा प्रशान्तराज जोशीको नाममा कीर्तिमान थियो। उनले एक मिनेट ११.५३ सेकेन्डको कीर्तिमान बनाएका थिए।
नेथनले पुरुष चार सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण जित्ने क्रममा निर्धारित दूरी पूरा गर्न चार मिनेट ३३.०९ सेकेन्ड समय खर्चिए। उनले पुरुष आठ सय मिटर फ्रिस्टाइल र दुई सय मिटर बटरफ्लार्ईमा पनि आपूmलाई च्याम्पियनका रूपमा उभ्याएका थिए।
एक सय मिटर बटरफ्लाईमा भने नेथनले कांस्य पदक जिते। उनले आठौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण र एक कांस्य जिते। एक सय मिटर बटरफ्लाईमा पुलिसका सैयद हमजा साहले नयाँ राष्ट्रिय कीर्तिमान बनाए। उनले हिट चरणमा निर्धारित दूरी एक मिनेट ०.२५ सेकेन्डमा पूरा गरेका थिए। फाइनल चरणमा भने उनी रजत पदकमा सीमित भए। आर्मीका अनुभव सुब्बाले स्वर्ण जितेका थिए। पुरुष दुई सय मिटर ब्याकस्ट्रोकमा भने शेर्पाले स्वर्ण जिते।
१५ वर्षीय शेर्पा अमेरिकामा बस्दै आएका छन्। अमेरिकामै जन्मिएका उनले पौडीको औपचारिक शिक्षा पनि उतै लिएका थिए। विगत आठ वर्षदेखि पौडी खेल्दै आएका उनले हरेक दिन साढे दुई घण्टासम्म पौडी पोखरीमा बिताउने गरेका छन्। उनका एक दिदी र दुई जुम्ल्याहा दाइ पनि अमेरिकामै बस्दै आएका छन्। अहिले कक्षा १० मा अध्ययनरत नेथन भविष्यमा पनि पौडीलाई नै अगाडि बढाउने योजनामा छन्।
उनले अमेरिकामा आयोजना हुने विभिन्न पौडी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। तर, उनले पढ्ने विद्यालयमा पौडीको टिम तयार नहुँदा व्यक्तिगत रूपमै सहभागी हुँदै आएको बताए। अहिले विद्यालयले पौडी टोली बनाउन लागेकाले आगामी दिनमा विद्यालयकै टिमबाट खेल्दा सहज हुने नेथनले बताए।
उनले आठौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि राम्रो तयारी गरेको दाबी गरे। एनआरएनएले पनि नेपालको राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने भएपछि धेरै दिन स्विमिङ पुलमा बिताएको नाथेनले बताए। ‘मलाई नेपाली खेलाडीका बारेमा केही थाहा थिएन। त्यही कारण पनि प्रतियोगिताका लागि धेरै मेहनत गरेँ’, उनले भने, ‘त्यो मेहनतले नै अहिले यति धेरै पदक जित्न सकेको छु।’
उनले अमेरिकामा गरेको मेहनतले नै नेपालका उत्कृष्ट पौडीबाजमाझ पनि धेरै पदक जित्न सकेको बताए। नेथन नेपालको राष्ट्रिय जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आतुर रहेको बताउँछन्। ‘अब राष्ट्रिय प्रतियोगितामा मात्र होइन, नेपालको जर्सीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुन चाहन्छु’, उनले भने।