जोडिदै महिलाको नाममा सम्पत्ति

जोडिदै महिलाको नाममा सम्पत्ति

बैतडी : केही वर्ष पहिलासम्म महिलाको नाममा लालपूर्जाको कल्पनासम्म गर्न सकिदैनथ्यो। बुवा बाजेको नाममा भएको सम्पत्ति सिधैं छोरा नातीका नाममा नामसारी हुन्थ्यो। बुहारीको नाममा सम्पत्ति राख्ने कुरा त बहसमै आउँदैनथ्यो। तर पछिल्लो समयमा यो चलन फेरिदै गएको छ। महिलाको नाममा जमीन राख्ने चलन बढ्दै गएको जिल्ला मालपोत कार्यालय बैतडीले जनाएको छ।

पछिल्लो ८,९ वर्ष यता महिलाको नाममा सम्पत्ति अर्थात जमीन राख्ने चलन बढ्दै गएको मालपोत कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले बताए। उनले कार्यालयमा जग्गा नामसारी गर्न आउने मध्ये धेरैजसो महिलाको नाममा लालपूर्जा बनाउने रहेको बताए।महिला आफैं कार्यालयमा पुगेर आफ्नो नाममा जग्गा दर्ता गराउने गरेका छन्।

केही दिनअघि पाटन नगरपालिका भुमेश्वरकी नन्दा विष्टले आफ्नो नाममा लालपूर्जा लिइन्।उनले मेरो नाममा लालपूर्जा होला भन्ने सोचेकै थिइन्। तर पछिल्लो समयमा चलन फेरिएको छ।आफ्नो नाममा जग्गा दर्ता गर्दा राजस्वमा पनि छुट पाइएयो, सम्पत्ति आफ्नो नाममा हुँदा खुसी लागेको विष्टले बताइन्।

केही महिना अघि दशरथचन्द नगरपालिका- २ का ध्वजबहादुर थलाल र बसन्ती थलाल जमीन पास गर्नका लागि मालपोत कार्यालयमा पुगे।आफ्नो नाममा लालपूजा बनेपछि वसन्ती निकै खुसी भइन्। उनले भनिन्, 'मेरो नाममा जमीन भएको छ। आफ्नो नाममा जमीन भएपछि धेरै खुसी लागेको छ।'

सोमबार मात्रै जिल्लाको सुर्नया गाउँपालिका- २ की निर्मला बिष्टले आफ्नो नाममा लालपूर्जा बनाइन्। पहिलो पटक आफ्नो नाममा लालपूर्जा बन्द निकै खुसी लागेको उनले बताइन्

२०६७ सालमा पहिलो पटक बैतडीमा संयुक्त पूर्जाको अवधारणा सञ्चलानमा ल्याएपछि पछिल्लो समयमा महिलाको नाममा सम्पत्ति राख्ने प्रचलन बढ्दै गएको भूमी अधिकार मञ्चकी तत्कालिन कार्यक्रम संयोजक सरस्वती नेपालीले बताइन्।

उनले भनिन्, 'हामीले २०६७ सालमा श्रीकोट ३७ सुकुम्बासी परिवारलाई पूर्जा दिनका लागि सहजीकरण गरेका थियौं। त्यो बेला हामीले महिला र पुरुष दुवैको नाममा पूजा दिनुपर्छ भनेका थियौं।महिलाको नाममा सम्पत्ति राख्नुपर्छ भन्दा धेरैले नाक खुम्च्याउँथे। तर पछिल्लो समयमा महिलाको नाममा सम्पत्ति राख्ने चलन बढ्दै गएको छ। यो खुसीको कुरा हो।'

जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७३÷७४ मा ७९ जना महिलाको नाममा लालपूर्जा बनेको छ भने गत आर्थिक वर्षमा ९२ जना महिलाको नाममा लालपूर्जा बनेको छ।

चालु आर्थिक बर्षको अहिले सम्म ६६ जना महिलाको नाममा लालपूर्जा बनेको मालपोत कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले बताए। उनले भने, 'पछिल्लो समयमा महिलाको नाममा जग्गादर्ता गर्ने क्रम बढ्दै गएको छ। महिलाको नाममा जग्गादर्ता गर्दा लाग्ने राजस्वमा २५ प्रतिशत छुट समेत दिने गरिएको छ।'

महिलाको नाममा सम्पत्ति राख्दा महिलामाथि हुने हिंसामा समेत कमी आउने महिलाअधिकारकर्मी बताउँछन्। 'महिलाको नाममा सम्पत्ति भयो भने महिलामाथि हुने हिंसामा कमी आउँछ। महिलाको नाममा सम्पत्ति नहुँदा उनीहरुलाई अपनत्वको भावना नै हुँदैन्,'अधिकारकर्मी सरस्वती नेपालीले भनिन्, 'महिलाको नाममा सम्पत्ति राख्ने क्रम बढेको छ। यसले महिलाको समनताको अधिकार पनि प्राप्त भएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.