खगेन्द्रको खुकुरी

खगेन्द्रको खुकुरी

अछूतले गर्ने पेसा भन्दै समकालीनहरू विदेश हान्निएका बेला उनले पुख्र्यौली पेसामा व्यावसायिकता थप्ने निश्चय गरे। बाउबाजेले मुस्किलले टिकाएको खुकुरी बनाउने काम अहिले उद्योग बनेको छ, धेरैलाई रोजगारी दिएको छ।


खगेन्द्र कुनै बेला सरकारी जागिर खान पाउँदा निक्कै हौसिएका थिए। बन्दीपुरको नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालयमा ६ वर्ष लेखापालको रूपमा काम गरेपछि उनले जागिर माया मारे।

जागिर छोडेर २०७१ सालमा खुकुरी बनाउने पुख्र्यौली पेसामा फर्केका खगेन्द्र लकान्द्री त्यसयता स्वरोजगारमै रमेका छन्। सिरुपाते, भोजपुरे, बेहुला, चैनपुर, तीनचिरे, पानचिरे लगायतका खुकुरी बनाउन उनको खुकुरी उद्योगलाई भ्याइनभ्याइ छ। बीबीएससम्मको अध्ययन गरेका उनले सरकारी जागिर छोडेर सिरहाको बन्दीपुर बजारमा स्थापना गरेको ‘मन्दिरा भोजपुरे खुकुरी उद्योग’को यस क्षेत्रमा अलगै नाम छ। उनका उत्पादनहरू देशविदेश पुगिरहेका छन्।

पुख्र्यौली पेसाले दैनिक गर्जो टार्न धौधौ पर्दा पेसा नै परिवर्तन गर्ने तथा वैकल्पिक रोजगारी अपनाउने क्रम बढेका बेला सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका खगेन्द्रले उल्टो यात्रा थालेका थिए। तर खुकुरी बेचेरै परिवारको जीवनशैली फेरेका उनले समाजमा अल्लगै पहिचानमात्र बनाएका छैनन्, मनग्गे आर्थिक उपार्जन पनि गरेका छन्। उनको उद्योगबाट उत्पादन हुने खुकुरीसँगै अन्य घरायसी उपकरण राजधानी काठमाडौंसहित पोखरा, उदयपुर, सिन्धुली, जनकपुर, बर्दिबास, लालबन्दी, कटारी र रामेछापसम्म पुग्ने गरेका छन्।

उद्योगमा खुकुरीसँगै उत्पादन हुने तरबार, हसिया, कट्टी, संगीन, कता, कचियाँ र चुलेसी बिक्री हुन्छन्। व्यापारीले थोकमै खुकुरी खरिद गरी लान्छन्। उद्योगमा नौ जना मजदुर खुकुरी बनाउने काम गर्छन्। मजदुरले मासिक ४४ देखि ६० हजार रुपैयाँसम्म पारि श्रमिक पाउँछन्। सबै खर्च कटाएर मासिक ५० देखि ६० हजार रुपैयाँ उनी बचत गर्छन्।

उद्योगबाट सिरुपाते, भोजपुरे, बेहुला, चैनपुर, तीनचिरे, पानचिरे नामकरण गरिएको खुकुरी प्रत्येक महिनामा चारदेखि पाँच सय थानसम्म बिक्री हुने गरेको खगेन्द्र बताउँछन्। १७, २१ र २५ सय रुपैयाँ पर्ने खुकुरी बढी बिक्री हुन्छन्। काम गर्ने मजदुरले खुकुरी उत्पादनका आधारमा ज्याला पाउँछन्। उनी जंगलको काठ, कोइला र कवाडीबाट फलाम ल्याएर खुकुरी बनाउँछन्। खुकुरी बनाउन चाहिने काठ, कोइला र फलाम उपलब्ध गराउनेले पनि आफ्नो उद्योगका कारण रोजगार पाएको उनी सुनाउँछन्।

मेला, महोत्सव र पर्वहरूमा खुकुरीको बढी माग हुने गर्छ। देशभित्र मात्र नभएर विदेशमा पनि उनको उद्योगबाट उत्पादन हुने खुकुरी पुग्छन्। २०६८ सालमा बेलारुस सय पिस र २०७४ सालमा अमेरिकामा २५ पिस खुकुरी पठाएको उनले बताए।

‘खुकुरी विदेश निर्यात गर्ने सहज वातावरण सरकारले बनाइदिए व्यवसाय अझै फस्टाउँथ्यो र थप रोजगारी सिर्जना हुन्थ्यो’, उनी भन्छन्, ‘बजार व्यवस्थित छैन। अहिले एउटा खुकुरीको मूल्य बराबर विदेश पठाउने लागतमा खर्च हुन्छ।’ युवालाई तालिम दिएर यस व्यवसायमा जोड्न सकिने उनको बुझाइ छ।

विश्वकर्मा समुदायले पुस्तौंदेखि यो व्यवसाय गर्दै आएको थियो। कतिपयले यस्तो पेसा दलित, अछूतले गर्ने भनेर लत्याउँदै वैदेशिक रोजगारमा गएको उनले सुनाए। ‘आफू विदेश जानुभन्दा नेपालमै केही गर्न सकिन्छ भने मनशायले खुकुरी पेसा सँगाले’, उनले भने, ‘स्वरोजगार पनि बनेँ र अरूलाई रोजगार पनि दिए। जागिरभन्दा बेस यही लाग्छ।’
खगेन्द्रका हजुरबुवा प्रभुराम विश्वकर्मा, बुवा टंकबहादुर विश्वकर्मा भोजपुरबाट खुकुरी व्यवसाय गर्न पहिले पोखरा पुगेका थिए। त्यहाँ व्यवसाय जमेन। २०५४ सालमा उनको परिवार त्यहाँबाट सिरहाको बन्दीपुर बसाइँ स¥यो। यहाँ सुरु भएको खुकुरीको उत्पादनले व्यावसायिक रूप लियो।

हजुरबुवा र बुवाले यही व्यवसायको आम्दानीले छोराछोरी खगेन्द्र लकान्द्री, विष्णु लकान्द्री र मन्दिरा लकान्द्रीलाई उच्च शिक्षा दिलाए। विष्णु सिभिल इन्जिनियर, खगेन्द्र काठमाडौं नेपाल कमर्स क्याम्पसबाट बीबीएस र मन्दिराले स्टाफ नर्स पढेकी छन्। मन्दिरा नेपाल पुलिस अस्पतालमा सई पदमा जागिरे छिन्। उनका दाइ विष्णु आठ वर्षअगाडि अमेरिका पुगे। विदेश पठाउन लागेको रुपैयाँ त्यही उद्योगको आम्दानीले तिरेको खगेन्द्र बताउँछन्।

चार वर्षअगाडि खुकुरी बनाउने कलाको जग हाल्ने उनका हजुरबुवा बिते। हजुरबुवा बितेको केही समयमा बाबुआमा पनि अमेरिकामा रहेका छोरासँग गए। बाबुको उत्तराधिकारीका रूपमा खुकुरीको व्यावसायिक उत्पादन थालेका खगेन्द्रले उत्पादनको सीप स्कुल पढ्दा नै बाबुबाट सिकेका थिए।

बाबुले जग हालेको खुकुरी व्यवसाय सुरुमा सोचेजस्तो थिएन। ठूलो कठिनाइ झेलेर बाबु टंकबहादुरले यसलाई टिकाएका थिए। बिस्तारै खुकुरी बिक्री हुन थाल्यो, बजार बढ्यो। ‘पहिले खुकुरी बेच्न डुल्नु पथ्र्यो, अहिले त घरमै किन्न आउने धेरै छन्’, उनी भन्छन्, ‘अहिले त खुकुरी उत्पादन गर्न भ्याइनभ्याइ छ।’ २०६३ सालयता यही व्यवसायको आम्दानीले उनको परिवारले गुजारा, पढाइ र सम्पत्ति आर्जन गरेको छ।

खगेन्द्रलाई खुकुरी व्यवसायमा पत्नी रीता लकान्द्रीले पनि सघाइरहेकी छन्। छोरा आरएन लकान्द्री र छोरी कृतिकालाई उनीहरू राम्रो स्कुलमा पढाएका छन्। वर्ष दिनअघि जिल्ला युवा समितिबाट ‘युवा उद्यमी सम्मान’ पाएका उनी अहिले राजनीतिक यात्रामा पनि छन्। गत स्थानीय निर्वाचनबाट उनी कर्जन्हा नगरपालिका–२ बाट वडा सदस्य निर्वाचित भएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.