आमाकी आमा
एसएलसी सकेर वृद्धवृद्धाको सेवाका लागि आ श्रममा छिरेकी भवानी आज सोही आ श्रमको नेतृत्व गर्छिन्। बिहेबारीसहितका व्यक्तिगत रहरलाई तिलाञ्जलि दिएर घर त्यागेर बेसहाराको आडभरोसा बनेकी उनले ५० जनालाई त दागबत्ती नै दिएकी छन्।
भर्खर एसएलसी परीक्षा दिएकी भवानी एक निजी विद्यालयमा पढाउँदै थिइन्। कोइराला समाजको एक भेलामा वासुदेवशरण कोइरालासँग उनले सामाजिक कार्यमा आफ्नो रुचि रहेको सुनाइन्। यो २०५६ सालको कुरा हो।
वासुदेवशरणले सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा पद्म भुवनेश्वरी वृद्ध सेवा आ श्रम सञ्चालन गरेको भर्खर एक वर्ष पुगेको थियो। भर्खर स्कुलको पढाइ सकेकी भवानी कोइरालाले असहाय वृद्धवृद्धाको सेवा गर्ने इच्छा राखेपछि उनी खुसी नहुने कुरै भएन। उनले स्वीकृति दिएपछि भवानी खुसीले गद्गद् हुँदै आ श्रम पुगिन्।
भवानी २१ वर्षदेखि आ श्रममा बेसहाराहरूको सेवामा तल्लीन छिन्। हाल ४० जना वृद्धवृद्धा र ६ जना बालबालिका रहेको आ श्रममा रमाइरहेकी भवानीका लागि सेवाबाहेक कुनै व्यक्तिगत रहर छैन। २०३४ साल भदौ २० गते सर्लाहीकै साविकको जब्दी गाविस–४ मा जन्मेकी भवानीले बिहेबारी र सांसारिक मोहमाया त्यागी सम्पूर्ण समय सेवामै लगाइरहेकी छन्।
२०५६ माघदेखि घरबाटै आउनेजाने गरेर सेवा गरेकी भवानी २०५७ जेठ ६ देखि घर पूर्ण रूपमा छोडेर वृद्धवृद्धाको सेवामा लागेकी हुन्।
आमाबुवाबाहेक घरका सबै सदस्यले घर नछोड्न सल्लाह दिएका थिए। उनीहरूको अवरोधपछि घरका अन्य सदस्यबाट लुकाएर बुवाले आ श्रमसम्म पुर्याएको उनी सुनाउँछिन्।
‘दाइभाइले पढ्नुपर्छ, सरकारी जागिर खानुपर्छ भनेका थिए। घरका सदस्यहरूले फर्केर आउँदिन भनेर रोकेका थिए’, उनी सम्झन्छिन्, ‘तर, बुवासँग धेरै कर गरेपछि लुकाएर मलाई आ श्रमसम्म पुर्याउनुभएको थियो।’
आ श्रममा आफ्ना लागि खाट लिएर आउनुपर्ने नियम थियो तर बुवाुको सहयोगमा लुकिछिपी हिँडेकी उनले खाट ल्याउन सक्ने कुरै भएन। खाट ल्याउन नपाएपछि उनले केही दिन भुइँमै सुतेर रात बिताइन्। वृद्धवृद्धा आमाबुवाको सेवामा लागेपछि त्यति बेला उनको पढाइ पनि प्रभावित भयो।
‘आमाबुवा बिरामी भइरहने। उपचारका लागि बाहिर लानुपर्दा पढाइ प्रभावित भयो। नियमित क्याम्पस जान पाइनँ’, उनी सुनाउँछिन्, ‘एक दिन पढ्न गएपछि फेरि १०÷१५ दिन जान नपाउने। क्याम्पसमा सबैजना मलाई टुरिस्ट विद्यार्थी भनेर जिस्क्याउँथे।’ आ श्रममा रहेका वृद्धवृद्धाको मृत्यु हुँदा झन् लामो समय क्याम्पस जान पाउँदिनथिन्। कहिले उनीहरू बिरामी हुँदा उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था थियो।
आ श्रममा सेवाबाट त उनी खुसी नै थिइन् तर पढाइ छुट्छ कि भन्ने तनाव सधैं भइरह्यो। पढाइ छोड्ने मनस्थितिमा रहेका बेला आ श्रममा डा. स्वामी प्रपन्नाचार्य र चिन्तमणि योगी आइपुगे।
‘उहाँहरूले कति पढेकी छौ भनेर सोध्नुभयो। मैले प्रवीणता प्रमाणपत्र पढेँ, अब पढ्दिनँ भनेँ’, उनी सुनाउँछिन्, ‘उहाँहरूले ठूलो मान्छे बन्न पढ्नुपर्छ, पढेर सेवामा लाग्यो भने त्यसले ठूलो अर्थ राख्छ भन्नुभयो। त्यसपछि जसोतसो पढाइलाई निरन्तरता दिएँ।’
त्यही भेटबाट प्रेरित भएर उनले पुनः लालबन्दीको जनज्योति क्याम्पसमा स्नातक पढ्न नाम लेखाइन्। यही क्याम्पसबाट उनले शिक्षाशास्त्र संकायमा नेपालीमा स्नातकोत्तर गरिन्। जनकपुर क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन्। अहिले जनकपुरबाटै राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिहेकी छन्। ‘गुरुको त्यो वचन नै मेरा लागि प्रेरणास्रोत बन्यो’, उनी भन्छिन्।
स्कुल सकेर आ श्रममा आएकी उनले सुरुमा कार्यालय सचिवका रूपमा काम गरिन्। पछि पढाइ, उमेर र अनुभवसँगै नयाँनयाँ भूमिका पनि आइपुगे। संस्थाको सचिव, प्रबन्धक, प्रबन्ध निर्देशक हुँदै उनी अहिले सञ्चालक समितिको अध्यक्ष र संरक्षकका रूपमा काम गरिहरेकी छन्।
यसबाहेक अन्य सामाजिक संघसंस्थामा पनि विभिन्न भूमिकामा उनी काम गरिरहेकी छन्। शान्ति समितिको तीन कार्यकाल जिल्ला संयोजक, रेडक्रस लालबन्दी शाखामा तीन कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपसभापति भएरसमेत उनले काम गरिन्। अहिले एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छिन् उनी।
‘म सेवा गर्नकै लागि जन्मेको रहेछु कि जस्तो लाग्छ’, आफ्नो कामबारे भएको लामो कुराकानीपछि उनी भन्छिन्, ‘आफ्नो लागि भन्दा पनि अरूका लागि काम गर्नुपर्छ जस्तो मलाई लाग्छ।’
उनले घर छोडेर हिँडे पनि परिवारले उनलाई बिर्सेका थिएनन्। उनीहरूले बिहेबारीका लागि केटा पनि खोजेका थिए। भवानीले आफ्नो जीवन वृद्धवृद्धाका लागि समर्पित गर्छु भनेपछि बाबुआमालगायत आफन्त पछि हटे। ‘म यिनै बेसहरा आमाबुवा र बालबालिकाका लागि नै जन्मेकी रहेछु जस्तो लाग्छ’, उनी फेरि भन्छिन्।
चाहे सुरुमा यहाँ आउँदा होस् वा अहिले पनि, आफ्नाविरुद्ध कुरा काट्नेहरूको कमी नभएको उनी सुनाउँछिन्। ‘फलानोकी छोरी त बिग्रिई भनेर समेत गाली गर्थे’, उनी सुनाउँछिन्, ‘अहिले पनि अनेक थरीका कुरा काट्ने मानिस भेट्टाउँछु।’ तर उनी आफ्नो काममा कति तल्लीन छिन् भने अनेकतिरबाट सुन्ने कटाक्ष पनि उनलाई सहज लाग्न थालेको छ, स्वाभाविक लाग्न थालेको छ।
भवानीले आ श्रममा बसेर ज्यान गुमाएका ५० भन्दा बढी वृद्धवृद्धाको आफ्नै हातले दागबत्ती दिएर अन्तिम संस्कार गरिसकेकी छन्। ‘हाम्रो समाजमा छोरीले दागबत्ती दिनु हँुदैन भनिन्छ तर यो मान्यता चिरेर समाज परिवर्तनका लागि उहाँहरूको छोरा भएर मैले दागबती दिएँ’, उनी सुनाउँछिन्।