पानीका प्यारा
राम अहिले अन्तर्राष्ट्रिय स्तरमै एड्भेन्चरस स्पोर्ट्समा स्थापित छन्। ५३ मुलुक घुमिसकेका उनले नेसनल जिओग्राफिकमा ‘एड्भन्चर इन द हिमालयन’मा समेत काम गरिसकेका छन्।
त्रिशूली नदी किनारमा हुर्केको एउटा बालक। अविरल बगिरहने त्यही त्रिशूलीसँगै जोडिएको उसको अटुट प्रेम। त्रिशूलीकै कारण पर्यटन क्षेत्रमा स्थापित बनेको नाम हो, राम सिलवाल।
धादिङको बेनीघाट रोराङमा जन्मिएका हुन् राम। त्यहीँ नजिकै रहेको विशालटारस्थित चन्द्रोदय माविमा पढे। उनले नदीसँगै पढे। नदीको बेगसँगै जीवन जिउन सिके। पढाइभन्दा त्रिशूली नदीमा पौडिनुमा उनले बढी आनन्द मान्थे। उनको ध्यान पढाइमा कम, त्रिशूलीमा बढी हुन थाल्यो। ‘मेरा लागि पढाइ प्राथमिकताको विषय नै बनेन, लाग्थ्यो विद्यालय नै जान नपाए हुन्थ्यो,’ उनले बाल्यकाल सम्झिँदै भनेँ, ‘दिनभर त्रिशूलीमा खेल्नुको मज्जा नै छुट्टै आउँथ्यो।’
त्रिशूलीसँग उनको मोह बढ्नुको एउटै कारण हो, ‘विदेशीले र्याफ्टिङ गरेको दृश्य।’ त्रिशूली नदी किनारामा उभिएर उनी र्याफ्टिङ गरेको हेर्थे। ‘मलाई अचम्म लाग्थ्यो, के गरेका होलान्, पौडी नखेलेर किन प्लाीिटकमाथि चढेका होलान्,’ उनले भने, ‘मलाई पनि र्याफ्टिङ गर्ने इच्छा लाग्न थाल्यो। कसरी त्यसमा चढ्ने भनेर।’
उनी त्यतिबेला १०/१२ वर्षका मात्र थिए। प्रत्येक शुक्रबार विद्यालय सकिएपछि उनी किताबको झोला बोकेरै र्याफ्टिङ गरिरहेको ठाउँमा जान थाले। अनि विदेशीसँग अंग्रेजी सिकाइ माग्थे। तिनै विदेशीसँग र्याफ्टिङ गर्न थाले।
‘आइतबार स्कुल जाँदा जहिले पनि पहिलो पिरियड कक्षाबाहिर उभिनुपथ्र्यो,’ उनले सुनाए, ‘र्याफ्टिङ गर्न गएको भनेर हेडसरले जहिले पनि सजाय दिनु हुने। घरमा पनि बुवाआमाको निकै गाली खाइन्थ्यो।’ एकातिर बुवाआमाको गाली अनि अर्काेतर्फ विद्यालयमा सधैंको सरहरूको सजायले उनको पढाइप्रतिको मोह नै भंग भयो। उनी त्यतिबेला आठ कक्षामा पढ्थे। उनको औपचारिक शिक्षा त्यतिमै रोकियो। विद्यालय जान छोडेर उनी पूर्ण रूपमा र्याफ्टिङमा आबद्ध भए। ‘त्यसपछि त बुबासँग बोलचालै बन्द भयो नि। पढाइ छोडेर र्याफ्टिङतर्फ लागेपछि छोरा बिग्रियो भन्ने चिन्ता बुबालाई,’ उनले भने, ‘तर बुबा अहिले चाहिँ खुसी हुनुहुन्छ। पढाइ छाडेर पनि जीवनमा सफल भयौ भन्नुहुन्छ।’
घर र आफन्तले बिग्रियो भन्ने तिनै राम अहिले अन्तर्राष्ट्रिय स्तरमै एड्भेन्चरस स्पोर्ट्समा स्थापित छन्। ‘अहिले चार देशमा म काम गर्छु, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडिएको छु। युरोपियनहरूलाई तालिम दिन्छु। विभिन्न व्यवसायमा आबद्ध छु,’ गर्वसाथ उनले भने, पढाइ छाडेकोमा कहिल्यै चिन्ता लिइनँ। यही क्षेत्रमा लागेर संसारभरका मान्छेहरूसँग भेट्ने अवसर पाइयो। उहाँहरूसँग नयाँ कुरा सिक्ने मौका मिल्यो। मेरा लागि यो भन्दा अरू ठूलो के हुन्छ र ? ’
उनले अहिलेसम्म ५३ मुलुक घुमिसकेका छन्। नेसनल जिओग्राफिकको ‘एड्भन्चर इन द हिमालयन’मा काम गर्ने मौका पाए। नेपालमा मात्र नभएर युरोपमा समेत एड्भन्चर स्पोर्ट्ससँग जोडेर नेतृत्व विकाससम्बन्धी युवालाई तालिम दिन्छन्। ‘गाउँमा जन्मिएको, त्रिशूलीको खोला हुर्किएर, खेलेर यो क्षेत्रमा काम गर्दा ब्रिटिस आर्मीसँग पनि काम गर्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो,’ उनले अनुभव सुनाउँदै भने, ‘ब्रिटिस आर्मीको तालिम नेपालमा चलाउने मौका पाए। उनीहरूसँग फ्रान्स, ब्रिटेन, नर्वेमा तालिम लिने अवसर पाए। यसले मलाई थप अब्बल बनाउन मद्दत पुग्यो।’
उनको जीवनको निर्णायक मोड बन्यो, ‘ब्रिटिस आर्मीका क्याप्टेनसँगको भेट।’ ‘म यता र्याफ्टिङ गर्थे। त्यहीबेला ब्रिटिस आर्मीको क्याप्टेन तालिम लिएर नेपाल आउनुभएको थियो। तीन महिनासँगै तालिममा काम गर्ने अवसर मिल्यो,’ उनले जीवनको त्यो क्षण सम्झिँदै भने, ‘उहाँलाई मेरो काम गराई मन पर्यो। त्यसपछि थप तालिमका लागि ब्रिटेन बोलाउनुभयो। फ्रान्स बोलाउनु भयो। नर्वे बोलाउनु भयो। पाँच वर्ष ब्रिटिस आर्मीसँगै काम गर्ने अवसर मिल्यो। त्यो तालिमले मलाई रेस्पेक्ट के हो, रेस्पोन्स कसरी गर्ने, समय व्यवस्थापन, सही सूचना कसरी आदानप्रदान गर्ने भन्ने सिकेँ।’
अहिले उनी नेपालभन्दा युरोपतिरै बढी हुन्छन्। नेपाल पर्यटन बोर्डले उनलाई स्विडेनका लागि पर्यटन दूतको जिम्मेवारी दिएको छ। नेपालको पर्यटन प्रवद्र्धनबारे उनी बरोबर अभियान चलाउँछन्।
उनले नेपालमा सन् २००६ मा युवाको नेतृत्व विकाससम्बन्धी तालिम दिन ‘रोयल बिच क्याम्प’ सुरु गरे। ‘यसको मूल उद्देश्य हाम्रो नेपाली युवालाई एड्भन्चरससम्बन्धी तालिम दिने र उनीहरूलाई लाइफस्किल भनेको के हो, चुनौतीसँग कसरी जुध्न सक्ने भन्नेबारे पनि सिकाउँछौं,’ क्याम्पबारे उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने युवा बनाउनु हाम्रो लक्ष्य हो।’ क्याम्पमा मद्यपान र धूमपान निषेध गरिएको छ।
उनी चाहन्छन्, क्याम्पमा नेपाली मात्र नभई विदेशीलाई पनि तालिम दिन। ‘हामी विदेशीलाई पनि बोलाउँदै छौं। हामीले नेपालमा पाइलट, इन्जिनियरको तालिम दिन नसकुँला। तर एउटा राम्रो लिडर, राम्रो माउन्टेनियरिङ, राम्रो क्लाइम्बर, राम्रो एड्भन्चरस, राम्रो एथ्लेटिक्स बनाउन सक्छौं भनेर बोलाइरहेका छौं, यसका लागि युरोपमा प्रचार प्रसार पनि भइरहेको छ,’ उनले भने।
३० वर्ष भयो उनी पर्यटन र एड्भेन्चरस स्पोर्ट्सको क्षेत्रमा काम गर्न थालेको। सधैं सुख र आनन्द मात्र कहाँ हुन्छ, जीवनमा। उनी आज जति खुसी र सन्तुष्ट छन्, पीडा र दुःखको भारी पनि उत्तिकै छ। तर उनले हरेक संकटलाई सफलताको सूत्रका रूपमा लिए। असफलताबाट नै सफलताको बाटो पहिल्याउन सकिन्छ भन्ने उनको अठोटले नै आज पर्यटन क्षेत्रमा उनलाई स्थापित गरेको हो।
सन् १९९२ देखि २००२ सम्म उनले युरोपका विभिन्न देशमा एड्भेन्चरस स्पोर्ट्ससम्बन्धी काम गरे। उनी एउटा देशमा तीन महिना जति काम गर्थे। त्यहाँबाट फेरि कामका लागि अर्काे देश जाने। यसरी नै उनले काम गरे। सन् २००२ तिर उनी कामको सिलसिलामा नर्वे पुगे। नेपाल फर्किने समय भएको थियो तर उनीसँग टिकट काट्ने पैसासम्म थिएन। उनले त्यहाँ पत्रिका बेच्ने काम गरे।
‘घर आउनुपर्ने थियो, तर टिकट किन्ने पैसा मसँग पैसा थिएन। म नर्वेबाट ट्रेनमा स्विडेन आए। त्यहाँ साथीहरू थिए। त्यहाँ मैले पत्रिका बाँड्ने काम पाए। त्यो दैनिक पत्रिका थियो,’ उनले भने, मैले कामलाई कहिल्यै सानो ठूलो भनिन। मसँग पत्रिका बेच्नुबाहेक अरू विकल्प नै थिएन।’
सधैं अरूका बारेमा लेखिएका पत्रिका बेच्ने रामले सोचेका पनि थिएनन् कि त्यही पत्रिकामा उनका बारेमा समाचार प्रकाशित हुन्छ भनेर। पत्रिका बेच्ने काम त उनले केही सातामै छोडिसकेका थिए। उनी स्विडेनलगायत युरोपका देशमा नेपालको पर्यटन प्रवद्र्धनका साथै एड्भन्चरस् स्पोर्ट्सबारे तालिम दिन्थे। सन् २०१३ को कुरा हो, उनलाई त्यही पत्रिकाबाट फोन आयो, उनको कामका बारेमा समाचार तयार पार्ने भनेर। ‘एड्भन्चरस स्पोर्ट्सबारे स्विडेनमा उनले गरिरहेको कामबारे उक्त दैनिक पत्रिकामा ‘कभर स्टोरी’ नै प्रकाशित भयो।