पाइला पेसा

पाइला पेसा

 न पुख्र्यौली पेसा, न सीमा निपुण। अर्कोतिर गाउँलेको खिसिटिउरी। मन नलागीनलागी सुरु गरेको जुत्ता सिलाउने कामले आज उनलाई नाम र दाम दुवै दिएको छ।


रोजगारका लागि विदेश जाने रामबहादुर परियार (३७) को सपना तब अन्त्य भयो जब मेडिकल चेकअपमा उनलाई पत्थरी देखियो। विदेशको सपनामात्र सकिएन, अब देशमा के गर्ने भन्ने चिन्ता पनि थपियो।

त्यसअघि नै भारतमा १५ वर्षसम्म मजदुरी गरेका उनले त्यहाँको कमाइले परिवार पाल्नसमेत धौधौ हुने बुझेका थिए। अरू देश जान नसक्ने र ठूलो       श्रम पनि गर्न नसक्ने स्थितिले उनलाई सोचमग्न बनायो। उनले अलिअलि जानेको काम थियो— जुत्ता सिलाउने।

‘अचानक पत्थरी भएको स्वास्थ्य परीक्षणबाट थाहा पाएँ’, उनी सम्झन्छन्, ‘भारी काम गर्न नसक्ने अवस्था भयो। अनि जुत्ता सिलाउने काम सुरु गरेँ।’ बाध्यताले रोजेको पेसा अहिले उनका लागि बलियो आडभरोसा बनेको छ।

सानैदेखि जातीय भेदभाव र समाजको हेय व्यवहार भोगेका रामबहादुर कहिल्यै डगमगाएनन्। पुर्खाले पनि नगरेको र कुनै तालिम पनि नपाएको जुत्ता सिउने कामसँग उनको नाता केलाउने हो भने कसरी उद्यमशील मानिसले गर्जो टार्नेभन्दा माथि उठेर आफ्नो कामलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने उदाहरण भेटिन्छ।

बागलुङको दुर्गम निसीखोला गाउँपालिका–६ का रामबहादुरले रोपेको       श्रम, सीप र पौरखले उनको मात्र जीवन फेरिएको छैन, धेरैका लागि प्रेरणासमेत बन्न सफल भएका छन्।

चार वर्ष अघिमात्र उनी आफ्नो गाउँभन्दा केही सुगम ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा व्यावसायिक रूपमा जुत्ता सिलाउन आएका थिए। तर उनले आफूलाई जुत्ता, चप्पल सिलाउनेमा मात्र सीमित गरेनन्। नयाँ जुत्ता, चप्पल उत्पादन गरी बिक्री–वितरणसमेत थाले। परियारलाई उनकी जीवनसंगिनी विमला परियारले दरिलो साथ दिइन्।

दैनिक सयदेखि मुस्किलले हजारमा हुने आम्दानी बिस्तारै बढ्दै गयो। अहिले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्न उनको परिवार सफल भएको छ। व्यवसाय थालेको यो छोटो समयमै उनले ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारको सोरबोटमा दुईतले पक्की घर बनाएका छन्। ‘जीविका चलाएर बचेको पैसा बचत गरेँ। जुत्ता सिउने पेसालाई व्यवसायमा बदलेँ’, परियार भन्छन्, ‘मानिस अरूका अग्ला घर देखाउँदै भ्रष्टाचार गरेर, ठगेर बनायो भनेर कुरा काट्छन् तर आफ्नै दुःख र संघर्षबाट बनाएको घरले सन्तुष्ट छु।’ जुत्ता सिलाइकै आम्दानीबाट एक छोरा र दुई छोरीलाई निजी स्कुलमा पढाइरहेका छन्।

पुख्र्यौली पेसा नभएको र गाउँघरमा पनि कसैले नगरेका कारण सुरुसुरुमा जुत्ता सिलाउन असजिलो भएको परियार सम्झन्छन्। गाउँलेहरू पनि खिसिटिउरी गर्थे। बुर्तिबाङ बजारको बसपार्क नजिकै एउटा सटर भाडामा लिएर उनले मन नलागीनलागी जुत्ता सिलाउने काम थालेका थिए। अहिले यहाँ जुत्ता उत्पादन र बिक्री पनि हुन्छ।

‘कतै तालिम लिएको थिइनँ, सीप सिकेको थिइनँ’, भन्छन्, ‘अरूले गरेको अलि अलि देखेकै भरमा जुत्ता सिलाउन थालेँ।’ सुरुमा धेरै पटक पुरानो जुत्ता खोलेर त्यसलाई मर्मत गर्ने प्रयास गरेको र पछि राम्रो बन्न थालेपछि आफैं नयाँ जुत्ता बनाउन थालेको उनी बताउँछन्। मन नलागेरै थालेको कामलाई अहिले फर्केर हेर्दा आफू धेरै हदसम्म सफल र सन्तुष्ट रहेको उनी सुनाउँछन्।

उनको पसलबाट आठ सयदेखि २५ सय रुपैयाँसम्मका जुत्ता, चप्पल उत्पादन तथा बिक्री हुन्छन्। जुत्ता, चप्पल सिलाइ गरेको ८० रुपैयाँदेखि तीन सयसम्म लिने गरेका छन्। ग्राहकले पनि परियारले उत्पादन गरेका जुत्ता चप्पल खुब मन पराउने गरेका छन्।

रोजगारका लागि दैनिक युवाहरू विदेश उडिरहेका बेला परियार र उनीजस्ता युवाको पौरख प्रेरणादायी रहेको स्थानीय पत्रकार सुमन सुनार बताउँछन्। आफ्नो सीपअनुसारको व्यवसाय गर्न सक्ने हो भने स्वदेशमै पनि राम्रो आम्दानी हासिल गर्न सकिने परियारको संघर्षबाट देखिएको उनको ठम्याइ छ।

‘कपाल काट्ने होस् वा तरकारी उत्पादन, अनि घर निर्माणदेखि लिएर ठूला ठूला आयोजनाका काममा मानिसको अभाव छ’, सुनार भन्छन्, ‘यस्ता कामलाई सानो भनेर हेप्छौं तर विदेशमा गएर अझ तल्लो स्तरको काम गर्छौं। अनि सुख पाएको भ्रम छरेर देखावटी काम गर्छौं।’

युवाहरू बिदेसिनुमा समाजको यस्तो सोच नै दोषी भएको उनको बुझाइ छ। ‘युवाहरूले स्वदेशमै केही गर्छौं भन्दा परिवारले नै पढ्दापढ्दै विदेश जान प्रेरित गर्छन्’, उनी भन्छन्, ‘समाजले व्यक्तिको योग्यता, क्षमता र हैसियतको मापन नै कति पैसा कमाएको छ भन्नेबाट गरिरहेको छ, हाम्रो सोच पनि बदल्न जरुरी छ।’
ज्यान हत्केलामा राखेर विदेशमा परि श्रम गर्नुभन्दा सीप सिकेर आफ्नै माटोमा पौरख गर्नुपर्ने उनको बुझाइ छ। कसैको दबाबबिना घरपरिवारसँगै बसेर काम गर्दाको आनन्द अलग हुने उनी सुनाउँछन्।

रामबहादुरकी पत्नी विमला श्रीमान्को पेसाबाट आफू सन्तुष्ट रहेको बताउँछिन्। भन्छिन्, ‘परि श्रम र पेसा ठूलो सानो हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.