लाहुरेको करिम
आवासीय सुविधा र औषधोपचार मात्र होइन श्रीमती र छोराछोरीलाई पनि बेलायतमै छोडेर गाउँलाई नमुना बनाउन लागिपरेका बागवीर जनता र जनप्रतिनिधिको साथ खोजिरहेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्वाँतका ७० वर्षीय बागवीर पाइजा बेलायती सेनाबाट रिटायर्ड (सेवानिवृत्त) भएपछि धरानमा भएको प्रशिक्षणमा एक जना ब्रिगेडियरको भनाइ झलझली सम्झन्छन्।
१८ वर्षको उमेरमा पाँच दिन पैदल हिँडेर उनी भैरहवा पुगेका थिए। १७ वर्ष सैन्य जीवन बिताएका उनी सन् १९८५ मा रिटायर्ड भएका थिए। पाइजा बेलायतको सेवा, सुविधा र ऐस आराम छाडेर दुर्गम गाउँबस्तीमा विकास भित्र्याउन सक्रिय छन्।
‘गोर्खा सैनिकमा रहँदा विश्वका धेरै देश पुगेर त्यहाँको विकास देख्नुभयो। राष्ट्रियताप्रति सचेत र इमानदार हुनुहुन्छ। सहर बजारमा धेरै प्रतिस्पर्धा छ। गोर्खा सैनिकमा रहँदा गरेको अनुभव र अनुशासनलाई पहिला आफ्नो गाउँ गएर लागू गराउनुहोस्’ ती ब्रिगेडियरको भनाइ थियो।
तर परिवार र देशको राजनीतिक अवस्था पाइजाले सोचे र ब्रिगेडियरले भने जस्तो थिएन। ब्रुनाईको सुल्तान दरबारमा सुरक्षा गार्डको अवसर पाएपछि रिटायर्ट भएलगत्तै नौ वर्ष उतै बिताए। ब्रिगेडियरको भनाइले प्रभावित भएको पाइजाको मन मानेन र ‘जनयुद्ध’ चर्किरहेका बेला स्वदेश फर्किए। त्यो बेला देश फर्कने भन्दा बिदेसिनेको लर्को धेरै थियो।
‘म गाउँ फर्किंदा तत्कालीन स्थानीय निकायका जनप्रतिनिधिको पदावधि सकिएको थियो, द्वन्द्व चर्किएको थियो। धन हुनेहरू सहरमा बसाइँसराइ गर्ने क्रम बढेको थियो। गाउँ नेतृत्वविहीन थियो,’ पाइजाले २०५८ मा जन्मथलो फर्कंदाको अवस्था सम्झिए।
गोर्खा सैनिकमा रहँदा मलेसिया, बेल्जियम, सिंगापुर, बु्रनाई, अस्टे«लिया, बेलायत, अमेरिका, हङकङ, क्यानडा, जर्मनी, फ्रान्सलगायतका देशमा खटिए। त्यहाँको विकास देख्ने र अनुभव गर्ने अवसर पाए।
भारतीय गोर्खा सैनिकका जम्दार रहेका बुवा मनराजबाट प्रभावित भएर बागवीर बेलायती सेनामा भर्ती भएका थिए। मनराज दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकको तर्फबाट लडेका थिए। परिवारको दबाब र सामाजिक प्रभावले पाइजा माध्यमिक तहको शिक्षा पूरा नगरी भर्ती हुन गएका थिए।
गाउँको नेतृत्व
गोर्खा सैनिकको सार्जन (हबलदार) पदबाट सेवानिवृत्त भएका हक्की स्वभावका पाइजालाई ब्रुनाईबाट गाउँ फर्किएपछि चाहेजस्तै एकपछि अर्को गर्दै नेतृत्व गर्ने अवसर आयो। ‘संकटकालमा गाउँमा बसेर ज्यान जोगाउनै मुस्किल भएको अवस्थामा मलाई गाउँलेले एकपछि अर्को गर्दै जिम्मेवारी दिँदै गए,’ पाइजाले भने ‘सबै सहयात्री सहरबजार र यूकेमा छन तर म हरिबुंगा भएर पनि गाउँको काम गर्न छाडेको छैन।’
शान्ति स्थापनापछि बागवीरको नेतृत्वमा शिखरमा धेरै विकास गतिविधि भए। बागवीर अघि सरेपछि स्थानीय, पोखरा, काठमाडौं, चितवनलगायत सहर, बेलायत, हङकङ, अमेरिकादेखि खाडी मुलुकमा रहेका शिखवासीले साथ दिन थाले। जनप्रतिनिधि नभएको अवस्थामा उनले गाउँलेलाई अभिभावकत्व प्रदान गरेर मगर समुदायको बाहुल्य बसोबास रहेको शिखको नेतृत्व गरे।
पोखरामा महायज्ञ आयोजना गरेर शिख माविमा कक्षा १२ को पठनपाठन सञ्चालन सुरु भयो। पोखरेबगरदेखि घार शिख, चित्रे पुगेको कच्ची सडक निर्माणमा शिखको तर्फबाट बागवीरले नेतृत्व गरे। १२ वर्षसम्म शिख माविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका पाइजाले विभिन्न दाताहरूबाट सहयोग जुटाएर कम्प्युटर कक्षा सञ्चालन, इन्टरनेट जडान, छात्रावास सञ्चालन गराए।
विद्यालय चलाउन बयली र डाडखर्कमा सामुदायिक लज सञ्चालन भयो। ती स्थानलाई पर्यटकीय पदमार्गमा समावेश गरिएको छ। सामाजिक अभियन्ता महावीर पुनसँग सहकार्य गरेर भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेका सामुदायिक लजहरूमा विद्युत् सुविधा पुर्याउन घोस्केखोरखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ।
गत असारमा सञ्चालनमा आएको ५० किलोवाट क्षमताको परियोजनाबाट खोप्रा, बयली र ढाँडखर्कका सामुदायिक लजमा विद्युत् सुविधा पुगेको छ।
पाँच वर्ष शिख स्वास्थ्यचौकीको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका पाइजा हाल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत संरक्षण व्यवस्थापन समितिको नेतृत्वमा छन्।
टेलिमेडिसिनदेखि बिजुलीसम्म
पाइजाको कार्यकालमा शिख स्वास्थ्यचौकीमा टेलिमेडिसन सेवा सञ्चालन भयो। शिखदेखि स्वाँता जोड्ने सडकअन्तर्गत स्वाँता खोलामा आर्क प्रविधिको मोटरेबल पुल निर्माणका लागि पाइजा तत्कालीन जिविस र सम्बन्धित मन्त्रालयमा पटकपटक धाए।
बेलायती गैरसरकारी संस्था कादुरीलाई गुहारेर शिखदेखि किन्दु र स्वाँता जाने बाटोमा पर्ने स्वाँता खोलामा झोलुंगे पुल निर्माण भयो। शिख माविको आठ कोठे भवन निर्माण गर्न गोर्खा वयलफेयरको सहयोग भित्र्याउन पाइजाले सहयोग गरेको शिख माविको व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले बताए।
वर्षमा ६ महिनाभन्दा बढी समय पाइजा शिखमै बिताउँछन्। पाइजाले प्रवास र देशका विभिन्न ठाउँमा रहेका शिखवासी आबद्ध सिख्तानी समाजमार्फत गाउँको विकासमा करोडौं सहयोग भित्रिएको बताए। गत कात्तिकमा सिख्तानी समाज र किन्दु टोल विकास समितिले ९१ लाख जुटाएर किन्दुमा सडक, खेलमैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिरमा सत्तल निर्माण गरेका छन्।
आफ्नो नेतृत्वमा सुरु भएको शिखको नमुना खेलमैदान र स्वाँता खोलाको मोटरेबल पुल निर्माण योजना अधुरो रहेकोमा बागवीर दुःखी छन्। तत्कालीन जिल्ला प्राविधिक कार्यालयले दुई करोड २५ लाख रुपैयाँमा ठेक्का लगाएको स्वाँता खोलाको मोटरेबल पुललाई पूर्णता दिन स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिलाई दबाब दिइरहेको पाइजाले बताए।
शिख मावि परिसरमा म्याग्दीकै नमुना खेलमैदान बनाउने उद्देश्यसहित जग्गा सम्याउने काम गरिएको छ। त्यसलाई आवश्यक पूर्वाधारको यवस्था गरेर नमुना बनाउने बागवीरको सपना छ। सरकारी निकाय र समुदायको सहभागितामा शिखलाइ शिक्षा, पर्यटन, खेलकुद र कृषिको क्षेत्रमा नमूना बनाउने बागवीरको योजना छ।
‘बेलायत सरकारले आवासीय र औषधि उपचारको सुविधा दिएको छ । श्रीमती र छोराछोरी उतै छन् तर मलाई आफ्नै गाउँठाउँको मायाले तान्छ’ पाइजा भन्छन् ‘शिखलाई नमुना बनाउने मेरो योजनामा जनप्रतिनिधि र जनताले साथ दिए भने एक दिन पक्कै पनि सफल भइएला।’