चिया पिउनुभयो ?
मट्का संस्कृतिसँग पनि जोडिएको छ। मट्कामा चिया चिसो र स्वादिलो हुनुका साथै युनिक पनि देखिने भएकाले ग्राहकको आकर्षण बढ्दै गएको उनको अनुभव छ।
मट्का चिया भन्नेबित्तिकै ललितपुरका मृदुल प्रधानको नाम आउँछ। पुल्चोक र झम्सिखेलमा उनका मट्का चिया पसल छन्। खासाबाट सामान व्यापारमा लागेका उनी लामो समयपछि नयाँ व्यवसायमा लागेका हुन्। अहिले त्यही चियामा उनको नाम र दाम छ।
मट्का चिया अरू चियाभन्दा फरक छ। चियामा मसला हालेर पकाइने भएकाले चियाको स्वाद मीठो हुन्छ। मट्काले पानी सोस्ने भएकाले चियाको स्वाद मीठो हुने गरेको प्रधानले जानकारी दिए। एक चोटि चिया, लस्सी खाने मान्छेहरू अक्सर उनको पसलमा नियमित आउने गरेका छन्।
मट्का संस्कृतिसँग पनि जोडिएको छ। जनकपुरमा मिथिला प्रचलन छ। संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पनि मट्का चियामा लगानी गरिएको हो। मट्कामा चिसो र स्वाद हुनुका साथै युनिक पनि देखिने भएकाले ग्राहकको आकर्षण बढ्दै गएको उनको अनुभव छ।
प्रधानले बानेश्वरमा दुई वर्ष चिया पसल सञ्चालन गरे। पसल राम्रै चलेको थियो। तर पनि अझै रचनात्मक बनाउन चाहन्थे उनी। यसै क्रममा उनले मन मिल्ने साथीसँग भेट भयो। बानेश्वरमा हुँदा चिया प्लास्टिककै गिलासमा दिन्थे। दुई वर्षअघि बानेश्वरको पसल छाडेर ललितपुरमा मट्का चियामा रमाइरहेका छन्।
प्रधान फुटबल खेलाडीसमेत हुन्। फुटबल खेल्ने क्रममा सरमिन्द्र श्रेष्ठसँग भेट भयो। दुवै जना भएर नयाँ तरिकाले मट्का चिया खोल्ने निधो गरे। त्यसपछि साझेदारीमा माटोको भाँडामा चिया र लस्सी बेच्न थाले। सुरुमा लगनखेल र झम्सिखेलामा मट्का पसल खोले। तर लगनखेलमा उनीहरूले नचाहँदा नचाहँदै छोड्नु पत्र्र्यो। उनीहरूका अनुसार सञ्चय कोषको भवनमा ठेकेदारले बदमासी गरेपछि त्यसको सिकार भए। लगनखेल ठाउँ राम्रो भएकाले दुई वर्षसम्म चिया पसल राम्रोसँग चले पनि बाध्य भएर छोड्नुपर्दा पीडा भएको उनी सुनाउँछन्।
पुल्चोकमा मट्का पसल दिनप्रतिदिन फस्टाउँदै गएको छ। दैनिक सय जनाभन्दा बढी ग्राहक उनको पसलमा चिया खान आउँछन्। दिनप्रतिदिन पुल्चोकको ब्रान्ड चम्कँदै गएको उनी ठान्छन्। उनको पसलमा विभिन्न प्रकारका चिया, लस्सी, सोडा, कोकका विभिन्न आइटम, मिल्क सेक, मसला कोक, पोटेटो टर्नोड, फ्रेन्च फ्राई, कोल्ड कफीलगायत १६ प्रकारका खानेकुरा पाइन्छ। मट्का टेकवेमा ३० रुपैयाँमा कालो चिया पाइन्छ। लस्सी ८० रुपैयाँमा पाइन्छ। उनीहरूले पाँच महिना लगाएर पसल सञ्चालनमा ल्याएका हुन्। त्यहाँ स्थापना भएको तीन महिना बित्न लागेको छ। ग्राहकको संख्या बढ्दै गएपछि उनले काम गर्नेको संख्या पनि बढाउँदै लगेका छन्।
श्रेष्ठ हिसाबकिताब राख्छन्। मार्केटिङको काम गर्छन्। प्रधान मेनु आइटम बनाउने काम गर्छन्। पुल्चोकमा विभिन्न कार्यालय छन्। कलेज, स्कुल पनि छन्। यसले गर्दा व्यवसाय विस्तारमा सघाउ पुगेको उनीहरूको दाबी छ।
प्रधान काठमाडौंका विभिन्न स्थानमा मट्का चिया पसल विस्तार गर्ने योजनामा छन्। भन्छन्, ‘काठमाडौंका मुख्य केन्द्रबिन्दुमा पसल खोलेर माटोको भाँडामा चिया र लस्सी खुवाउन मन छ।’
केही समयभित्र चेनमा कम्तीमा आठ÷दसवटा मट्का चिया पसल खोल्ने योजनामा छन्। त्यसका लागि प्राइम लोकेसन खोज्नै छन्। प्रधान भन्छन्, ‘एग्रेसिभ भएर व्यवसाय विस्तार गर्ने सोच छैन, बिस्तारै पसल बढाउने सोचमा छौं।’
प्रधानका पार्टनर सरमिन्द्र श्रेष्ठ सेवाग्राहीको आकर्षणमा जोड दिइएको बताउँछन्। ‘सबभन्दा पहिला आँखालाई आकर्षित गर्ने हाम्रो सोच हो, अनि खानाको स्वादमा ध्यान दिन्छौं’, उनले भने। मट्कामा पेट भरेर जानेभन्दा पनि मन भरेर जाने गरेको सुनाउँछन्। मट्कामा चिया सुरु गर्ने प्रधानहरू भए पनि पछिल्लो समयमा मट्कामा चिया बेच्ने धेरै आइसकेका छन्। तर मट्कामा लस्सी बेच्ने उनीहरू मात्र छन्।
प्रधान र श्रेष्ठ फरक व्यावसायिक पृष्ठभूमिका मान्छे हुन्। श्रेष्ठ चार्टर एकाउन्टेन्ट हुन्। उनको अडिट फर्म पनि छ। पछिल्लो समयमा अरू पार्टनरसँग मिलेर फर्निचर व्यवसाय सुरु गरेका छन्। ‘नयाँ केही गरौं भनेर मट्का चिया व्यवसाय सुरु गरेका हौं’, उनी भन्छन्। प्रधानले दुवै जनाबीच आइडिया र कुरा मिल्दै गएपछि व्यवसाय अघि बढ्दै गएको बताए। कतिपय अवस्थामा साझेदारीमा व्यवसाय फस्टाउँदैन। तर उनीहरू मट्मा चिया व्यवसाय फैलाउने योजनामा छन्। ‘मान्छेमा पनि भर पर्छ। पैसाभन्दा पनि बुझाइमा ध्यान दिनुपर्छ। आपसमा कुरा बुझ्नुपर्छ’, उनले भने। प्रधान भन्छन्, ‘फरक फिल्डबाट आएका साझेदारबीच आरोप लगाउने परिपाटी हुन्छ तर हामी त्यसो गर्दैनौं।’
पहिला लगनखेलमा खुल्दा धेरैले खानामै ध्यान दिन्थे। तर यहाँ खानाभन्दा बसेर रमाइलो गर्ने सोचका साथ सेवाग्राही आउने गर्छन्। यहाँ बसेर फोटो खिच्ने, सञ्जालमा पोस्ट गर्ने चलन बढ्दै गएको प्रधान सुनाउँछन्।
माटोको भाँडामा चिया र लस्सी बेच्न सहज छैन। पछिल्लो समय माटाको भाँडा बनाउने चलन हट्न थालेको छ। माटाका भाँडाको मूल्य बढ्दै गएको उनीहरू सुनाउँछन्। अर्डर दिएको १२÷१५ दिनपछि मात्रै पाइने भएकाले कतिपय अवस्थामा सर्भ गर्न समस्या पर्ने गरेको उनीहरू सुनाउँछन्। दैनिक एक सयभन्दा बढी माटाका भाँडा खपत हुने गरेको छ। लस्सी घरमै बनाएर बेच्छन्। चिया पनि मसला हालेर बनाइन्छ। स्वाद नै फरक हुन्छ।
प्रधान भन्छन्, ‘घाटामा जाँदा पनि हरेश खाएका छैनौं। अन्तिम लक्ष्य यो मात्र होइन भन्ने हाम्रो बुझाइ छ।’ मट्काको ब्रान्ड बढ्दै गएको छ। मट्का टेकवेले क्वान्टिटीभन्दा पनि क्वालिटीमा जोड दिएको छ। जित सधैं हुँदैन। हार हँुदा हरेस खान हुन्न। ‘अरूको देखासिकी गरेर मात्र नभई योजना बनाएर अघि बढ्न सके सफलता प्राप्त गर्न सकिन्छ’, प्रधान भन्छन्।