मनिषा र कञ्चनको मृत्यु : हत्या कि आत्महत्या ?

मनिषा र कञ्चनको मृत्यु : हत्या कि आत्महत्या ?

सिरहा  : एक हप्ता अगाडि सिरहाको कल्याणपुर नगरपालिका–८ की २१ वर्षीया कञ्चन कुमारी मण्डलको जलेर मृत्यु भएको घटना नसेलाउँदै फेरि एक महिलाको रहस्यमै मृत्यु भएको छ । शुक्रबार सिरहा नगरपालिका–१४ खिरौनाकी १९ वर्षीया मनिषा कुमारी मण्डलको ओछ्यानमै मृत अवस्थामा भेटिइन् । 

उनी आफ्नो पति रामनरेश मण्डलसँगै सुतेकी थिइन्। घरमा पति–पत्नीबाहेक सासु तारादेवी मण्डल पनि बस्थिन् ।  प्रहरीले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याएका थिए । मृतक मनिषाका माइतीले उनलाई दाइजोका कारण पति र सासूले घाँटी थिचेर हत्या गरेको आरोप लगाएपछि शुक्रबार दिनभरी पोस्टमार्टम हुन सकेको थिएन । साँझ मनिषाका बुबा रघुनाथ मण्डलले प्रहरीमा किटानी जाहेरी दर्ता गराएपछि उनको पोस्टमार्ट भयो । रघुनाथले मनिषाका पति, सासूसहित चार जनामाथि जाहेरी दर्ता गराएका छन् ।  

मृत्यक मनिषाका पति र सासूलाई घटनाको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइने प्रहरी कार्यालयले जनाएको छ । शवको प्रकृति हेर्दा तत्कालै हत्या कि आत्महत्या भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलको भनाई छ । पोस्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्याबारे खुल्ने उनले बताए । 

मनिषाको माइती गोलबजार नगरपालिका–८ह हो । हत्या नै गरिएको माइती पक्षको दाबी छ । ‘बिहीबार साँझ छोरीसँग कुरा गराइदिनु भन्दा ज्वाँइले छोरी सुतिरहेको जवाफ दिएका थिए,’ मृतक मनिषाका बुबा रघुनाथले भने,‘त्यसको केही मिनेटमै मृत्यु भएको खबर आयो । उनको हत्या भएको छ ।’ घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाही हुनुपर्ने उनले माग गरे । 
सामाजिक परम्पराअनुसार गएको फाल्गुन १६ गते मनिषा र रामनरेशको विहे भएको थियो । विहेमा कबुल गरेअनुसार मोटरसाइकल, एक तोला सुन र डेढ लाख नगद दिएको रघुनाथले सुनाए । ‘विहेमा दाइजो, भोजभतेर र सरसमानमा ९ लाख भन्दा बढी रकम खर्च भयो । ऋण लाग्यो । जग्गा बेचेर ऋण तिरेँ,’ उनले भने । रघुनाथ दुई वर्ष वैदेशिक रोजगारीमा गएर  छुट्टीमा घर फर्केका थिए । छोरीको विहे चाडै गर्नुपर्छ भन्ने दबाबले ऋण खोजेर विहे गरेको बताए । 

यस्तै, गएको बैशाख १२ गते कल्याणपुर नगरपालिका–८ अरङ्गका २१ वर्षीया कञ्चन कुमारी मण्डल जलेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बैशाख १३ गते काठमाडौंमा मृत्यु भयो । कञ्चनले घाइते अवस्थामै प्रहरीसमक्ष पति बेचु मण्डल र सासू सुरजी मण्डलले मट्टीतेल खन्याएर आगो लगाइदिएको ब्यान दिएकी थिइन्। सुरजीलाई प्रहरीले पक्राउ गरेको छ भने बेचु फरार छन् । 

स्थानीयबासीले भने कञ्चनको घटनालाई हत्या नभएर आत्महत्या भन्ने दाबी गर्दै आएका छन् । उनीहरुकाअनुसार कञ्चन जलिरहेको अवस्थामा उनकी सासू खेतमा काम गर्न र पति बेचु भारतको अहमदावाद थिए । बेचु ६ महिना पहिला नै रोजगारीका लागि भारत गएका थिए। पीडितको अन्तिम बयानका आधारमा कतव्र्य ज्यान मुद्दामा सुरजीलाई म्याद थप गरी अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी खरेलले जानकारी दिएका छन् । उनका पति बेचुको खोजी भइरहेको उनले बताए । 

दुवै घटनालाई अनुसन्धानपछि मात्रै हत्या कि आत्महत्या भन्न सकिने डिएसपी खरेलको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.