आँधीको मनोरम दृश्य

आँधीको मनोरम दृश्य

काठमाडौं : युवायुवतीको प्रेम सम्बन्धलाई लिएर संसारमा अनगिन्ती कथा, कविता र साहित्य लेखिएका छन्। मानिसले पहिलोपटक गर्ने प्रेमको अनुभव साँच्चिकै रोचक हुन्छ। यस्तै किशोरकिशोरीको मनोविज्ञान र उनीहरूले भोगिरहेको जटिल परिस्थिति देखाउने प्रयास गरेको छ नाटक ‘आँधीको मनोरम दृश्य’ ले।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा गत २१ गतेदेखि यो नाटक मञ्चन भइरहेको छ। एक हूल किशोर किशोरीको स्कुले जीवन, क्लासमेटसँगको प्रेमसम्बन्ध, प्रेमले निम्त्याउने अप्ठ्यारोपन नाटकमा देखाइएको छ। भ्रष्ट सरकारी कर्मचारीले कसरी राष्ट्रदोहन गर्छन् र व्यक्तिगत रूपमा सम्पन्न बन्छन् भन्ने विषय पनि नाटकमा समावेश गरिएको छ।

समयअनुसार सोच बदल्न नसक्ने शिक्षक सविन कट्टेल सदैव पुरानै ढर्रामा कक्षा लिइरहन्छ। छात्रालाई नैतिक र चरित्रवान् हुनुपर्ने, झुकेर हिँड्नुपर्ने, आदर गर्नुपर्ने बताउँछन्। भृकुटी र सीताजस्तै चरित्रवान् बन्नुपर्ने सिकाउँछन्। तर केटाहरूलाई पढ्न मात्रै सल्लाह दिन्छन्। यसले कक्षामा पनि लैंगिक विभेदको अवस्था देखापर्छ। कक्षाकी एक छात्रा निस्सिम       श्रेष्ठ उठेर जवाफ दिँदै भन्छिन्, ‘मलाई त नारी र पुरुषबराबर हुन्छन् भनेर सिकाएको मन पर्छ। अमेरिकन, क्यानेडियन जेन्डर इक्वालिटी मनपर्छ।’

कक्षा १० मा पढ्ने विद्यार्थीहरू केटा र केटी मिलेर खेल्ने, सँगै जिस्किने, सँगै बस्ने गर्छन्। यो कुरा स्कुलका शिक्षक, प्रिन्सिपललाई समेत मन पर्दैन। उनीहरूले स्कुल पढ्ने बेलामा प्रेम गर्नु भनेको अपराध हो भन्ने तरिकाले निस्सिम, संगीता, गोविन्द, विवेकलगायतलाई गाली गर्छन्। अभिभावक बोलाएर उनीहरूको पोल लगाउँछन्। यसले बच्चालाई अत्यन्तै नराम्रो लाग्छ। उमेरको वृद्धिसँगै एकअर्कामा आकर्षण हुनु, नजिक हुनु सामान्य अवस्था हो भनेर कसैले पनि बुझ्दैन।

संगीता भन्छे, ‘मैले के सोच्छु भनेर कसैले पनि किन बुझ्न सक्दैन ? के एउटी केटीको मन मिल्ने केटा साथी हुन सक्दैन ?  एउटा केटाको मन मिल्ने केटी साथी हुन सक्दैन ?  केटा र केटीले स्कुलमा देखाउने आत्मीय व्यवहारमा सबैको गलत बुझाइ छ।

मन परेको मान्छेसँग बोल्न र संगत गर्न नपाउने उर्दी सुनाइएको छ निस्सिमलाई। ऊ निकै विक्षिप्त बनेकी छे। उसलाई स्कुल जान मन लाग्दैन। टोलाएर घरमै बस्छे। घरबाट भागेर हिँड्ने योजना बनाउँछे। निस्सिमको अवस्थाले स्कुल पढ्ने तमाम युवायुवतीको मनोविज्ञान बुझ्न सकिन्छ।

स्कुले परिवेशमा अघि बढेको यो नाटकले धेरै अभिभावकलाई सकारात्मक सन्देश दिन्छ। राम्रो स्कुलमा महँगो शुल्क तिरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भयो भन्ने आम अभिभावकलाई आफ्ना बच्चा स्कुलमा के कस्तो समस्यामा पर्न सक्ने रहेछन् भनेर आंकलन गर्न मद्दत गर्छ। नाटक जीवन्त बनेको छ। डेढ घण्टा बितेको पत्तै हुँदेैन। नाटक हेर्दै गर्दा दर्शकले आफ्नै स्कुले जीवनको याद गर्छन्।

‘आँधीको मनोरम नृत्य’ लाई युवराज घिमिरेले परिकल्पना गरेका हुन्। अमजद प्रवेज र घिमिरे युवराजकै निर्देशन रहेको छ। विभिन्न स्कुलमा गएर विद्याथीसँग अन्तरसंवाद गरेर, विज्ञसँग छलफल गरेर मात्रै यो नाटक लेखिएको घिमिरेले जानकारी दिए। नाटकमा सौभाग्य सिंह, मञ्जु  श्रेष्ठ, पवित्रा खड्का, झकेन्द्र बीसीलगायतको अभिनय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.