लगानी भित्र्याउन सरकार–निजी क्षेत्र सहकार्य
वीरगन्ज : निजी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जना र लगानी भित्र्याउन प्रदेश २ सरकारले काम थालेको छ। यसका लागि सरकारले निजी क्षेत्र सल्लाहकार समिति गठन गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वीरगन्जमा आयोजनाको गरेको दुई दिने कार्यशालापछि समिति गठन गरिएको हो। समितिमा कृषि, उद्योग , पर्यटन, वित्त, विप्रेषणलगायत क्षेत्रको नेतृत्व तहमा रहेका व्यक्तिलाई सहभागी गराइएको छ। समितिले प्रदेश र स्थानीय तहका सरकारलाई सार्वजनिक–निजी साझेदारीमार्फत प्रदेश २ को सामाजिक र आर्थिक रूपान्तरणमा प्रदेश सरकारलाई मार्गनिर्देशन गर्नेछ।
शनिबार बसेको समितिको पहिलो बैठकमा नेपाल र भारतका प्रतिष्ठित कम्पनी, बैंक तथा वित्तीय संस्थाले पनि प्रदेश २ मा रोजगारी सिर्जना गर्न लगानी गर्न तयार रहेको बताए। बैठकमा भारतका एमजोन, महिन्द्रालगायत प्रतिष्ठित कम्पनीका साथै नेपालका उद्योगी, नेपाल एसबीआई बैंक, प्रभु बैंकलगायत निजी क्षेत्र सहभागी थिए। उनीहरूले प्रदेश २ मा रोजगारी बढाउन सार्वजनिक–निजी साझेदारी मोडेलमा लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए। प्रदेश २ मा कृषि, पर्यटन र उद्योगको प्रचुर सम्भावना रहेकाले ती क्षेत्रमा लगानी गर्न तयार रहेको उनीहरूले बताएका छन्।
त्यसका लागि बैठकमा ती कम्पनी र बैंकका प्रतिनिधिले आआफ्नो गुरु योजनासहितको प्रस्ताव पेस गरेका थिए। प्रदेश २ मा लगानी गर्न नेपाल र भारतका कम्पनी, बैंक तथा वित्तीय संस्थालाई उत्प्रेरित गर्न मध्यस्थताको काम बेलायती संस्था यूकेएडको स्किल्स फर इम्प्लोयमेन्ट प्रोग्राम (सीप ) ले गर्दै आएको छ।
सीपका लिडर बलजित बोहोराले प्रदेश २ मा सीप विकास गरी रोजगारी सिर्जना गर्न लगानीकर्तालाई उत्प्रेरित गर्न आफूहरूले काम गर्दै आएको बताए। ‘प्रदेश २ मा रोजगारीको प्रचुर सम्भावना छ’, उनले भने, ‘खासगरी यो प्रदेशमा कृषि, उद्योग र पर्यटनको क्षेत्रमा प्रचुर लगानी भित्र्याउन सकिन्छ र यो प्रदेशको समृद्धिका आधारमा पनि यी तीनवटा क्षेत्र नै हुन्।’
वीरगन्जको बैठकमा कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट आएको प्रस्तावका बारेमा प्रदेश सरकार र समितिको फेरि अर्को बैठक बसेर कार्यान्वयन प्रक्रियामा जाने बोहराले जानकारी दिए। निजी क्षेत्रले ल्याएको प्रस्ताव कार्यान्वयन छिट्टै हुने बैठकमा सहभागी मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्री, प्रमुख प्रतिपक्षी र विपक्षी दलका नेता सबैले बताए।
मुख्यमन्त्री लालबाबु राउतले बैठकमा प्रस्ततु भएका विषय कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध र गम्भीर रहेको बताए। प्रदेशका सत्ता पक्ष र प्रतिपक्ष सबै दल यस क्षेत्रका उद्योगी व्यवसायी र अन्य सरोकारवालालाई साथ लिएर नै प्रदेश सरकारले रोजगारी सिर्जना र लगानी भित्र्याउन काम गर्ने उनले बताए।
बेरोजगारी विश्वव्यापी समस्या रहेको भन्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश २ को कुरा गर्दा अन्य प्रदेशको तुलनामा गरिबी र बेरोजगारी सबैभन्दा बढी छ, यसलाई हटाउन प्रदेश सरकार लागि परेको छ, त्यसैका लागि यो बैठक गरिएको हो र बैठकमा आएका प्रस्ताव हामी चाँडै कार्यान्वयन गर्छौं।’
प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता रामसरोज यादवले पनि प्रदेश २ को विकास र समृद्धिका लागि प्रदेश सरकारलाई सदैव साथ र सहयोग गर्ने प्रतिबद्धा जनाए। प्रदेश २ मा रोजगारी सिर्जना र लगानीको वातावरण निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी र सहकार्य गर्ने निजी क्षेत्रको प्रस्ताव सराहनिय रहेको उनले बताए।