सुत्केरीको तीन पटक शल्यक्रिया

सुत्केरीको तीन पटक शल्यक्रिया

वीरगन्ज : वीरगञ्जको नारायणी अस्पतालमा सुत्केरीका लागि भर्ना भएकी महिलाको अस्पतालको लापरबाहीका कारण तीन पटक शल्यक्रिया गर्नुपरेको परिवारले आरोप लगाएको छ। तर अस्पतालले भने लापरबाही अस्वीकार गरेको छ।

पर्साको धोबीनी गाउँपालिका ४ बखरी गाउँकी २९ वर्षिया तेतर देवीलाई सुत्केरी बेथाले च्यापेपछि वैशाख १९ गते नारायणी अस्पतालको प्रसुति विभागमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएकै दिन साँझ डाक्टर विमला बछारले शल्यक्रिया गरेपछि तेतर देवीले शिशु जन्माएकी थिइन्।

शिशु जन्मिएको दुई घण्टा बित्न नपाउँदै तेतर देवीको पिशाब रोकिएर पेट फुलेपछि डाक्टर मोनिका सिंह यादवले फेरि अर्को शल्यक्रिया गरेकी थिइन्। 'शल्यक्रिया भएको दुई घण्टापछि पेट सुन्नियो, पिसाब पनि रोकियो', तेतर देवीका पति जलेश्वर हजराले भने, ‘डाक्टरले आएर हेर्दा पहिलो शल्यक्रिया गर्ने क्रममा पिसाब नली पनि सिलाइएको रहेछ भन्दै फेरि शल्यक्रिया गरे।'

दोश्रो शल्यक्रिया गरेको एक दिन पछि फेरि तेतर देवीको पेट दुख्न र उल्टी हुन थालेपछि चिकित्सकले औषधि र सुई दिए पनि निको नभएको जलेश्वरले बताए। शनिबार शल्यक्रिया गरेर लगाइएको टाँका आफै टुटेपछि डाक्टर सुरेन्द्र चौधरीले तेस्रो शल्यक्रिया गरेको उनले बताए।

शनिबार अप्रेसन गरेर लगाइएको टाँका फुस्किएर पेट भित्रको भाग देखिएपछि नर्सहरूलाई बोलाउँदा अत्तालिएर भागेको जलेश्वरले बताए। ‘पछि नर्सहरूले डाक्टरलाई बोलाए र अप्रेसन थिएटरमा लगे', उनले भने।

तीन पटकसम्म शल्यक्रिया गरिएकी तेतर देवीलाई पोस्ट अप वार्डमा राखेर चिकित्सकहरूले उपचार गरिरहेका छन्। उनले जन्माएका शिशुलाई एनआईसीयू कक्षमा राखिएको छ।

उपचारमा डाक्टरहरूले लापरबाही गरेका कारण आफ्नी श्रीमति तेतर देवीको तीन/तीन पटकसम्म शल्यक्रिया गर्नुपर्ने अवस्था आएको पति जलेश्वरको आरोप छ। 'हामी गरिब मान्छे। अस्पतालमा राखेको पनि ११ दिन भइसक्यो', उनले भने, ‘ डाक्टरले अझै १५/१६ दिन अस्पतालमै राख्नु पर्छ भनेका छन्। औषधिमुलो गर्न पैसा पनि सकिएको छ।'

लापरवाही छैन : डाक्टर चौधरी

अस्पतालको प्रसुति विभागका डाक्टर सुरेन्द्र चौधरीले भने उपचारमा कुनै लापरबाही नभएको बताएका छन्।

सर्जरी गरेर शिशु जन्माउने क्रममा पेटभित्रै रगत जमेपछि पछि फेरि अप्रेसन गर्नु परेको हो', उनले भने, ‘यस्तो समस्या अरु बिरामीमा पनि हुन्छ। बिरामीको अवस्था सामान्य छ।' अझ १५/१६ दिनसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने उनले सुनाए।

तेतर देवीको दोश्रोपटक शल्यक्रिया गरेकी डाक्टर मोनिका सिंह यादवले पनि शल्यक्रिया र उपचारका क्रममा लापरवाही नभएको दाबी गरिन्। उनको भनाई छ कि बिरामीको खानपानमा कुरुवाहरूले लापरवाही गरेका छन्।

'बिरामीको अवस्था जटिल थियो। दोश्रो पटक शल्यक्रिया गर्ने क्रममा जोखिम मोलेकै हो', उनले भनिन्, ‘अप्रेसन गरेपछि बिरामीलाई प्रोटिनयुक्त खाना बढीभन्दा बढी दिनुपर्ने हुन्छ। तर उनलाई अण्डा, मासु लगायत प्रोटिनयुक्त खाना खुवाइएको छैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.