गाउँ निकाला भएको परिवारले जनप्रतिनिधिको पनि पाएन साथ

गाउँ निकाला भएको परिवारले जनप्रतिनिधिको पनि पाएन साथ

वीरगन्ज : बाबुको अन्त्येष्टिमा कपाल नखौरिएको र हिन्दु रितिरिवाज अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँ निकाला गरिएको अवधेश यादवको परिवार न्यायका लागि एक साता देखि भौतारिइरहेको छ।

गाउँलेहरूको सामाजिक बहिष्कारका कारण बैशाख २३ गतेदेखि गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको बाराको सुर्वण गाउँपालिका वडा नम्बर ६ धर्मपुरका अवधेशको परिवार अहिलेसम्म पनि गाउँ फर्किन पाएको छैन।

अवधेश यादवको बुबा अनुठा यादवको बैशाख १५ कलैया अस्पतालमा उपचारको क्रममा निधन भएपछि उनका दुइ छोरा अवधेश र पप्पुले आफ्नो परिवारले अपनाउँदै आएको कबिरापन्थी धर्म अनुसार सात दिनमै बुबाको काजकिरिया संकार सकाए थिए। बुबाको अन्त्येष्टिमा पनि दुवै छोराले टाउको खौरिएनन् र किरिया पनि बसेनन्।

मृत्यु भएका बाबुको काजकिरियाको संस्कार सामाजिक परम्परा र हिन्दु रीतिरिवाज अनुसार नगरेपछि गाउँका केही अगुवाले भेला डाकेर यादव परिवारलाई सामाजिक बहिष्कार गर्ने उर्दी जारी गरेपछि अवधेशको परिवार गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको हो।

गाउँबाट विस्थापित भएको ८ दिन बितिसक्दा पनि आफूहरूलाई गाउँ फर्काउन र न्याय दिलाउन स्थानीय प्रशासन र जनप्रतिनिधिले कुनै चासो नदेखाएको पीडित अवेधशले गुनासो गरेका छन्।

सोमबार वीरगन्जमा अन्नपूर्णसँग भेटेर अवधेश र उनाकी आमा विन्दा देवीले आफूहरूलाई गाउँ फर्काउन कसैले पनि पहल नगरेको बताए।

सामाजिक बहिष्कारपछि ताला लागेको अवधेश यादवको घर। तस्बिर : क्रान्ति शाह


'अहिलेसम्म गाउँमा फर्किने अवस्था छैन', अवधेशकी आमा विन्दा देवीले भनिन्, ‘हामीलाई गाउँबाट निकाला गरेकालाई कारबाही गर्न पनि प्रहरी प्रशासनले चासो देखाएको छैन। न त वडा अध्यक्षले नै पहल गरेका छन्।'

आइतबार वडाअध्यक्ष रामधारी दास तत्माले केही गर्न नसक्ने जवाफ दिएर जिल्ला प्रशासन जान भनेर पन्छिएको अवधेशले बताए।

यसअघि बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीलाई जानकारी गराउँदा उनले वडा कार्यालयमा मिलापत्र गर्नु भनेर जवाफ दिएको अवेधशकी आमा विन्दा देवीले बताइन्।

आफ्नो परिवारसँग अ‍ैचोपैंचो वा बोलचाल गर्ने वा खेतमा मजदुरी गर्न जानेलाई ५० हजारसम्म दण्ड गर्ने उर्दी पनि जारी गरेकाले गाउँ जाने अवस्था नरहेको अवधेशले बताए।


>>> सामाजिक बहिष्कारपछि ताला लागेको अवधेश यादवको घर। तस्बिर : क्रान्ति शाह


समाजले नै मिलाउनु पर्छ : जनप्रतिनिधि

वडाध्यक्ष रामधारी दास तत्माले जातपातको विषयमा भएको घटनामा केही गर्न नसक्ने प्रतिक्रिया दिए। 'समाजले गरेको निर्णय हो। म एक्लैले के गर्न सक्छु र ?', उनले भने, ‘ गाउँमा म मात्रै गैरयादव हुँ, अरु सबै यादव जातिका मात्र छ। अवधेश पनि यादव नै हुन्। यो विवाद यादव समाज आफैले मिलाउनु पर्छ।'

गाउँपालिकाकी उपाध्यक्ष बबीता देवीले पनि यो घटना समाजसँग जोडिएकाले समाजले नै मिलाउनु पर्ने बताइन्।

'समाजको रितिरिवाज नमानेपछि समाजले बहिष्कार गरेको हो', उनले भनिन्, ‘हिन्दु समाजमा बसेपछि हिन्दु धर्म र रितिरिवाज विपरीत लाश जलाए, किरिया पनि बसेनन्। त्यही भएर यो समस्या आएको हो। अब समाजले नै मिलाउनु पर्छ।'

समाजमै मिलापत्र गर्न भनेको हुँ : निमित्त सिडिओ

बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले भने पीडितले निवेदन लिएर नआएका कारण स्थानीय प्रशासनले केही गर्न नसकेको बताए।

चार दिन पहिला अवधेशकी आमा सहितका व्यक्तिहरू आएका थिए। घटनाले यति गम्भीर रुप लिन्छ भनेर सोचेको थिइनँ', उनले भने, 'त्यसैले मैले वडामै मिलापत्र गर्नुस् भनेर पठाएको हुँ।' फेरि निवेदन लिएर आए कानुन अनुसार अगाडि बढ्छौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.