स्थानीय तह संघप्रति आक्रोशित

स्थानीय तह संघप्रति आक्रोशित

बुटवल : संघीयता कार्यान्वयनको एक वर्ष पुग्दै गर्दा अधिकारको विषयले तीन तहका सरकारबीच दूरी बढ्दै गएको छ । संघीय सरकारले संघीयताकै बाधक हुने गरी कानुन निर्माण गर्दै अधिकार खोसेपछि स्थानीय तह रुष्ट छन् । प्रदेश सरकारले समेत अधिकार खोसिएको भन्दै आपत्ति जनाएका छन् ।

बुटवलमा सोमबार भएको प्रदेश ५ को दोस्रो परिषद् बैठकमा अधिकारको विषय प्रमुख एजेन्डा बनेको थियो । स्थानीय तहले संघीय सरकारले अधिकार खोसेर कमजोर बनाउने र प्रदेश सरकार चुप बस्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । संघीय सरकारले विज्ञप्ति निकालेरै तहको अधिकार खोसेको उनीहरूको आरोप छ । बजेट विनियोजन, योजना निर्माणमा समेत संघीयताविपरीत काम भइरहेको तह प्रमुखहरूले बताएका छन् ।

बैठकमा दाङ घोराही नगरप्रमुख नरुलाल चौधरीले संविधानको मर्मविपरीत अधिकार खोस्ने काम भएको भन्दै ध्यानाकर्षण गराए । ‘माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको अधिकार संविधानले तहलाई दिएको छ तर अधिकार कटौती गरिन्छ,’ उनले भने, ‘कार्यपालिका बैठकको निर्णय गरेर कहिलेसम्म काम गर्ने ? ’ संघ र प्रदेशले कानुन रोकेर बस्दा कार्यसम्पादनमा कठिन भएको उनले बताए ।

अधिकारको विषयमा प्रदेश ५ को सभा बैठकमा समेत संघीय सरकारको तीव्र आलोचना भएको थियो । स्थानीय तहले भने संघले अधिकार मिच्दा प्रदेश सरकार आँखा चिम्लेर बसेको भन्दै आपत्ति जनाए । शिक्षा, स्वास्थ्य, खनिज, वातावरण क्षेत्रको अधिकारमा स्थानीय तहलाई कमजोर बनाउन खोजिएको स्थानीय तहका प्रमुखहरूले बताए ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संघ र प्रदेशले टुक्रे योजना पठाउने काम बन्द गर्नुपर्ने बताए । ‘संघले ५ करोड, प्रदेशले १ करोडभन्दा साना योजना तहमा पठाउनुहुँदैन,’ उनले भने, ‘साना योजना त तह आफंैले गर्न सक्छन् ।’ संघ र प्रदेश सरकारले तहको अभिभावकत्व लिन नसकेको भन्दै उनले संघीयता आए पनि त्यसअनुरूप कार्यान्वयन नभएको बताए ।

एउटा रूख काट्नका लागि समेत प्रदेश मुकाम आउनुपर्ने बाध्यता गराउनु संघीयताविपरीत काम भएको उनले बताए । प्रदेश सरकारले वन डिभिजन र सब डिभिजन बनाएपछि कतिपय जिल्लाका कार्यालय विस्थापित भएको भन्दै तहले विरोध गरेका हुन् ।

गुल्मीको धुर्काेट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बजेट अनुदान र योजना निर्माणमा समेत संघीय मर्मअनुरूप काम गर्न संघ र प्रदेशलाई आग्रह गरे । लाख रुपैयाँका योजना संघ र प्रदेशले स्थानीय तहमा पठाउँदा बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै उनले एक करोडभन्दा साना योजना स्थानीय तहमा नपठाउन आग्रह गरे । ‘बजेट कार्यान्वयनको आधारमा समानीकरण अनुदानको व्यवस्था हुनुपर्छ,’ उनले भने ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले संघीय निर्णय गाउँ विकासको बाधक भएको बताए । ‘एक करोडभन्दा साना योजनामा मेसिन प्रयोग नगर्नू भनेर निर्णय गरिन्छ, के अब गाउँका सडक खन्न मलेसिया, कतारमा युवा लिन जाने ? उनले प्रश्न गरे, ‘विकासमा चीनले लगाएको प्रविधिबाट संघीय सरकारले शिक्षा लेओस् ।’

तहका प्रमुखले संघ र प्रदेशले अंकुश लगाउँदा अधिकारबिनाका भुरेटाकुरे शासक बन्नुपरेको बताए । जिल्लामा खोलिएको कृषि ज्ञान केन्द्र, विकास कार्यालय आवश्यक नभएको भन्दै ती कर्मचारीलाई तहमै खटाएर काम गर्न दिनुपर्ने उनीहरूको भनाइ छ ।

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले कर्मचारीविहीन हँुदा तह कमजोर भएको भन्दै निकास दिन आग्रह गरे । ‘चैत १० गतेदेखि खाता ठप्प छ, तहलाई कर्मचारी कहाँबाट कसले दिने हो ? ’ उनले प्रश्न गरे ।

स्थानीय तह आर्थिक, प्राविधिक विज्ञतामा कमजोर भएको भन्दै प्रदेशबाट समन्वय हुनुपर्ने उनीहरूको माग छ । परिषद् बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेश ५ सातै प्रदेशमध्ये उच्च आर्थिक वृद्धिदर काम राख्न सफल भएको भन्दै प्रदेशको योजना सघाउने गरी बजेट विनियोजन गर्न आग्रह गरे । ‘बजेट निर्माणमा प्रदेशको आवधिक योजनाको विषयमा स्थानीय तहले ध्यान दिनुपर्छ,’ उनले भने, ‘बजेटका कतिपय परम्परा आगामी वर्ष परिमार्जित हुनेछन् ।’ प्रदेश सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा दोस्रो परिषद् बैठक गरेको हो । बैठकमा प्रदेश ५ का १०९ वटै स्थानीय तहका प्रमुख तथा उप्रमुख सहभागी थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.