होमस्टेमा आउने पाहुना खोलाकै पानी पिउन बाध्य
वीरगन्ज: हामीले त जसो तसो गरेर खोलाको धमीलो पानी पिउँदै आएका छौं, तर घरमा आएका पाहुनालाई पनि खोलाकै पानी पिउन दिँदा साह्रै लाज लाग्छ, पर्साको ठोरी १ तिनघरेकी शुशीला थापा मगरले भनिन्, 'नुहाउन पनि पाहुनालाई खोलामै पठाउनु पर्छ, गाउँमा पानीको साह्रै दु:ख छ।'
शुशीलाजस्तै पर्साको ठोरी गाउँपालिका- १ तीनघरेका स्थानीय, विगत चार वर्षयता खोलाको धमिलो पानी पिउन बाध्य छन् । मगर जातिको २५ घरधुरी रहेको तीनघरे टोलमा खानेपानीको अन्य श्रोत नहुँदा स्थानीय गाउँ नजिकैको चित्ता खोलाको धमिलो पानी पिउन बाध्य भएका हुन्।
तीनघरे टोलमा, एउटा चापकल त छ। तर उक्त चापाकलमा चार वर्ष यतादेखि पानी आउन छाडेको छ।चापाकलबाट पानी आउन छाडेपछि स्थानीयले जंगलको मुहानबाट पाइप बिछयाएर गाउँमा ल्याइएको धाराबाट पानी प्रयोग गर्दै आएका थिए। तर २०७२ सालको साउनमा आएको बाढीले मुहानको पाइप बगाइ दिएपछि त्यसयता तीनघरेका स्थानीय खोलाकै धमिलो पानी पिउन बाध्य भएका हुन्।
नुहाउन, कपडा धुन, भाँडा माझ्न र शौचालयका लागि पनि स्थानीयले खोलाबाटै पानी ओसारेर घरमा ल्याउने गरेका छन्। गाउँमा पानीको श्रोत नभएपछि बिहान, दिउँसो र बेलुकी गरी दिनमा तीन पटक खोलामा पुगेर गाग्री र ग्यालेनमा पानी ओसार्दै आएको स्थानीय दिपेश थापा मगर बताउँछन्।
'हाम्रो टोलमा पानीको धेरै दुख्छ छ, उनी भन्छन्, हरेक दिन खोलामा गएर पानी ओसार्नमै हाम्रो डेढ दुई घण्टा समय खेर गइरहेको छ।' बिहानको समयमा केही काम धन्दा गर्न भ्याइदैन, दिपेशकै छिमेकी विशाल थापा मगर भन्छन्, 'बिहान उठ्ने बित्तिकै गाग्री र ग्यालेन बोकेर खोला तिर दगुर्नुपर्छ।
वर्षामा खोलामा भेल आउँदा पानी धमिलो हुने भएकाले झनै सास्ती हुने गरेको स्थानीय बताउँछन्। हिउँदयाममै सङलो पानीका लागि खोलाको मुल खोज्दै हिड्नुपर्छ, विशाल भन्छन्, ' वर्षाका बेला खोलामा बाढी आएका बेला मुल नै भेटिदैन, त्यस बेला सङ्गलो पानीका लागि बाढी कति खेर सुक्छ र मुल भेटिन्छ भनेर घण्टौंसम्म कुरेर बस्नुपर्छ।एक वर्ष पहिले सुकेको चापकलको पाइप उखेलेर फेरि गाड्दा पनि पानी नआएको उनी बताउँछन्।
पानीको अभावले होमस्ट संचालनमा समस्या
मगर जातिको मात्र बसोबास रहेको तीनघरे टोलमा भदौदेखि होमस्टे पनि संचालनमा छ।गाउँमा पानीको अन्य श्रोत नहुँदा होमस्टे संचालनमा पनि समस्या भइरहेको होमस्टे संचालक समितिका अध्यक्ष चेतबहादुर थापा मगर बताउँछन्।
होमस्टमा आउने पाहुनालाई पनि खोलाकै पानी खुवाउनुपर्दा आफैंलाई अप्ठयारो महसुस हुन्छ,'अध्यक्ष मगर भन्छन्, 'नुहाउन धुवाउनु पर्यो भने खोला देखाइ दिने गरेका छौं।'
होमस्टमा विदेशी पाहुना आउछन्, होमस्टे संचालक शुशीला मगर भन्छिन्, 'विदेशबाट आउने पाहुनाहरु खोलाको पानी पिउन मान्दैनन् ,उनीहरुका लागि चार किलो मिटर परको पसलबाट मिनरल वाटरको बोतल किनेर ल्याउने गरेका छौं।'
होमस्टेमा बास बस्न आउने पाहुनाले गाउँ रमाइलो भएपनि पानीको समस्या भएको भन्दै बसाइ सोचेजस्तो सहज नहुने गरेको गुनासो गर्ने गरेको अध्यक्ष मगर बताउँछन्। गाउँमा पानीको श्रोत व्यवस्थापन गरिदिन स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गर्दै आएको भएपनि कुनै सुनुवाई नभएको अध्यक्ष मगर गुनासो गर्छन्।
तर वडा सदस्य कमल विक्रम तिमल्सिनाले भने तीनघरे टोलमा पानीको श्रोत व्यवस्थापनका लागि वडा कार्यालयले तीन लाख रुपैयाँ रकम विनियोजन गरेको बताए। चालु आर्थिक वर्षकै योजनामा तीनघरेमा पानीको समस्या सामधानका लागि तीन लाख रुपैयाँ छुटयाएका छौं, उनले भने, उक्त रकम सुकिसकेका धारामा डीप बोरिंगका लागि खर्च गरिनेछ।'