सामूहिक तरकारी खेतीमा उस्ताको उदाहरण

सामूहिक तरकारी खेतीमा उस्ताको उदाहरण

बेंसीसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ उस्ताका स्थानीयले सामूहिक रुपमा हरिया तरकारी फलाएर आम्दानी गरेका छन्।

केही वर्षअघि बेंसीसहर, खुदीबजारबाट तरकारी किनेर लैजाने उनीहरू अहिले आफैंले फलाएको तरकारी विक्री गरेर आम्दानी गर्न थालेका हुन्।

उस्ता र उस्ताबेंसीका स्थानीयले उस्ताबेंसी क्षेत्रमा तरकारी फलाएका छन्। उस्ता र उस्ताबेंसीका २१ जना किसानले गाउँबेंसी पौरखी कृषक समूह गठन गरेर तरकारी फलाउन थालिएको समूहकी अध्यक्ष उमा घलेले बताइन्।

उनका अनुसार उत्पादन गरेको तरकारी ङादी, खुदीबजारसम्म पुर्‍याउने गरिएको छ। ‘पहिले सबैले बेंसीसहरबाट तरकारी ल्याउथे। अहिले गाउँमै उत्पादन गरेको तरकारी विक्री गरिन्छ’, घलेले भनिन्। अहिले काउली, बन्दा, फर्सी, काँक्रो, गोलभेंडा खेती गरिएको उनले बताइन्।

समूहमा अधिकांश दलित र विपन्न महिला छन्। धान तथा मकै लगाउँदै आएको उस्ताबेंसीको खेतमा तरकारी लगाइएको हो। एक वर्षदेखि तरकारी लगाउँदै आएको समूहका सचिव लिलिजङ घलेले बताए।

गएको वर्ष आलुमात्र फलाइएपनि यो वर्षबाट अन्य तरकारी फलाउन थालिएको उनले बताए। ‘फाँटमा राम्रो सिंचाईको व्यवस्था छ। तरकारी लगाउन सके आयआर्जन गर्न सकिने भएकाले तरकारी लगाउन थाल्यौं। उत्पादन पनि राम्रो छ’, घलेले भने।

उनका अनुसार ३५ रोपनी जग्गा भाडामा लिएर हिउँदे तथा बर्खे तरकारी खेती लगाइएको छ। गएको वर्ष २० रोपनीमा आलु लगाइएको र उत्पादन राम्रो भएपछि यस वर्ष १५ रोपनी थप गरिएको उनले बताए। समूहका सदस्य डम्बर गुरुङका अनुसार यस वर्ष करिब ४० क्विन्टल आलु उत्पादन भएको छ। तरकारी खेती थालेपछि स्थानीयको आयआर्जनमा सघाउ पुगेको र घर व्यवहार चलाउन सहज भएको उनले बताए।

तरकारीको हेरचाहका लागि समूहका सबै सदस्य पालैपालो खटिने गरेका छन्। समूहकी कोषाध्यक्ष नितादेवी घलेका अनुसार समूहको कोषमा प्रत्येक सदस्यले मासिक ५०/५० रुपैयाँका दरले जम्मा गर्ने गरिएको छ। मर्स्याङ्दी गाउँपालिका ७ का वडाअध्यक्ष युवा घलेले उस्ताबेंसीमा २ वर्षअघि तत्कालीन जिल्ला सिंचाई डिभिजन कार्यालयले सिस्नेरी फाँट सिंचाई आयोजना निर्माण गरेको थियो। फाँटमा राम्रो सिंचाई सुविधा भएकाले स्थानीयले स्थानीयले तरकारी खेती थालेको उनले बताए।

सामूहिक तरकारी खेतीका लागि मर्स्याङ्दी गाउँपालिकाले २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। ६ वटा प्लास्टिक टनेल सहयोग गरेको थियो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सामूहिक र व्यवसायिक रुपमा तरकारी खेती गर्नेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.