थुक्पा खाएपछि अचानक आठजना बिरामी, दुई गम्भीर

फिदिम : पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटस्थित आठजना स्थानीय थुक्पा खाएपछि अचानक बिरामी परेका छन् । दुई बालिका साहित आठजना बिरामी भएका हुन् ।
ढाका बुन्ने तालिममा सहभागी भएका ६ जना महिला र खाजा खुवाउने घरका दुई बालिका बिरामी परेका हुन् । आठमध्ये दुईजनाको अवस्था गम्भीर छ । मिलन केन्द्र पाँचथरले आयोजना गरेको तीनमहिने ढाका बुनाई तालिममा सहभागी भएका उनीहरुले सोमबार स्थानीय जस्मिता फियाकको घरमा थुक्पाको खाजा खाएका थिए ।
ढाका बुनाई तालिममा जस्मिता प्रशिक्षक समेत हुन् । नौ वर्षीया मुहाना शेर्मा र १३ वर्षीया मूना शेर्मा सहित लक्ष्मी फियाक, मनिषा नेपाली विष्णु बिक, मनकुमारी फियाक, सोना लिम्बू र मेनुका दास बिरामी परेका हुन् । जसमध्ये लक्ष्मी र मनिषाको अवस्था गम्भीर रहेको छ ।
बिरामीमध्ये ६ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । दुईजनाको सदरमुकाम फिदिमस्थित समर्पित अस्पतालमा उपचार भइरहेको छ । नुनमा सीसा मिसाएकाले खाजा खानेजति सबै बिरामी परेको पाँचथर अस्पतालमा उपचाररत बिरामी सोना लिम्बूकाे दाबी छ । ‘खाजामा नुन नलागेको भन्दै नुन थपेर खाजा खायौँ,’ सोनाले भनिन् ‘थुक्पा खाइसकेपछि बटुकाको पिँधमा सीसाको टुक्रा भेटिएको थियो ।’ खाजा खाइसकेपछि घाँटीमा केही अड्कीएजस्तो हुन थालेको र पेट दुख्न थालेको बीरामीहरुको भनाइ छ । खाजा खाएर बिरामी भएका उनीहरु तत्काल स्थानीय आरुबोट स्वास्थ्यचौकी गएका थिए । स्वाथ्यचौकीमा उपचार सम्भाव नभएपछि थप उपचारका लागि बिरामीहरुलाई बुधबार जिल्ला अस्पताल फिदिम ल्याइएको हो ।
खाजा खाइसकेपछि बटुकाको पीँधमा सीसाको टुक्राजस्तो देखिएपछि खोजी गर्दा नुनमा सीसा मिसाइएको पाइएको आयोजक मिलन केन्द्रका अध्यक्ष बहादुरसिंह नेम्बाङको दाबी छ ।
प्रतिक्रिया दिनुहोस !
