वर्षाअघि नै सक्ने भनिएको हावाहुरी पीडितको घर शिलान्याशबाट अघि बढेन

वर्षाअघि नै सक्ने भनिएको हावाहुरी पीडितको घर शिलान्याशबाट अघि बढेन

बारा : विनाशकारी हावाहुरीका कारण घरसँगै पत्नि र बुहारी गुमाएपछि शोकमा डुबेका बाराको फेटा–१ भलुहीका रामसुरत दास तत्मा छिमेकीको घर बनाउने जग सेनाले खन्न थालेपछि आफ्नो पनि घर बन्ने भयो भनेर खुसी थिए ।

तर उनको त्यो खुसी धेरै समय टिकेन । छिमेकीको जग खन्दै गरेको सेनाले काम नै छाडेर हिँडेपछि तत्मा अब आफ्नो घर बन्नेमा सशंकित हुन थालेका छन् । उनी भन्छन्, ‘अचानक काम नै बन्द भयो, सेनाहरु आउन पनि छाडेका छन्, कारण के हो थाहा छैन ।’

विनाशकारी हुरीले घरवार विहिन भएका पीडित परिवारका लागि संघीय सरकारका आठ मन्त्री र प्रदेश २ का मुख्यमन्त्रीले बैशाख २१ गते हेलिकप्टरमा आएर घर निर्माणको शिलान्याश तामझाम साथ गरेका थिए ।

मुख्यमन्त्री र मन्त्रीहरुले घरको शिलान्याश गर्दा वर्षायामअघि नै घर निर्माणको काम सकेर प्रभावित परिवारलाई हस्तान्तरण गरिदिने आश्वासन पनि दिएका थिए ।
तर शिलान्याश गरिएको झण्डै दुई साता बित्न लाग्दा पनि घर निर्माणको काम अघि बढेको छैन । भलुहीका तत्मा जस्तै हुरीले प्रभावित बाराका सयौं परिवार वर्षाअघि नै घर नबन्ने कुराले चिन्तित छन् ।

सेनाले भने हुरीमा परि चार जनाको ज्यान गुमाएका बाराको फेटा गाँउपालिका–६ पुरैनियाका इजहार मियाको घर मात्रै अहिले निर्माण कार्य गरिरहेको छ । मियाको घर बाहेक अरु प्रभावितहरुको घर निर्माणको काम भने सुरु नै हुन सकेको छैन । घर निर्माणको जिम्मा पाएको सेनाले केही घरको जग मात्रै खनेको छ ।

सेनाले जग खन्न थालेपछि स्थानीयले आफूहरुको नाम घर निर्माणको सूचीबाट हटाइएको भन्दै विवाद गरेपछि बारामा घर निर्माणको काम रोकिएको बताइएको छ ।
हुरी प्रभावितका लागि घर निर्माण गर्न गठित पुर्नस्थापना तथा घर पुर्ननिर्माण सहजीकरण र समन्वय समितिले बारा जिल्लामा एक हजार तीन सय ६२ घर निर्माण गर्ने बताएको थियो ।

त्यसमध्ये तीन सय भन्दा धेरै परिवारको नाम कटौती गरेको भन्दै विवाद उत्पन्न भएपछि निर्माण कार्य सुरु हुन नपाउँदै रोकिएको हो । बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीका अनुसार सुरुमा क्षतिको विवरण संकलन गर्ने क्रममा पूर्ण क्षति भएका एक हजार तीन सय ६२ घर निर्माण गर्नुपर्ने सूची सेनालाई उपलब्ध गराइएको थियो ।

गापा अध्यक्ष भन्छन् : प्रभावितहरुको नाम हटाइएपछि घर निर्माण रोकियो

फेटा गाँउपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद कलवारले पनि फेटा गाउँपालिका प्रभावित सबै वडामा घर निर्माणको काम रोकिएको बताए । उनका अनुसार हुरीको घटनापछि गाउँपालिकाको कार्यालयले वडा नम्बर १ , ३ , ६ र ७ मा गरि कूल तीन सय ५३ घर क्षतिग्रस्त भएको विवरण जिल्ल प्रशासन कार्यालयमा बुझाएको थियो ।

पछि जिल्ल प्रशासन कार्यालयले स्थलगत अनुगमन गरि तयार पारेर संघीय सरकारलाई बुझाएको सूचीमा पूर्ण क्षतिग्रस्त घरको संख्या दुई सय ८५ मात्र थियो । शिलान्याशपछि स्थानीय प्रशासनले घर निर्माणका लागि सेनालाई उपलब्ध गराएको सूचीमा दुई सय तीन घर मात्र पूर्ण क्षतिग्रस्त भएको उल्लेख रहेको अध्यक्ष कलवार बताउँछन् ।

पछिल्लो पटक सेनालाई उपलब्ध गराइएको घर निर्माणको सूचीमा थुप्रै प्रभावितहरुको नाम उल्लेख नभएपछि आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण पनि गराएका थिए ।

सैनिक अधिकृत भन्छन् : काम कहिले सुरु हुन्छ थाहा छैन

फेटा गाँउपालिकाको वडा नम्बर ६ पुरैनियामा घर निर्माणका लागि खटिएको सेनाका एक अधिकृतले पनि जग खन्ने क्रममा स्थानीयको विवादका कारण निर्माणको काम रोकिएको बताए ।

अहिले घरका भग्नावशेष पन्छाएर सरसफाई मात्र गरिरहेको उनको भनाइ छ । काम छिट्टै सुरु हुन्छ भनेर ‘माथि’बाट खबर आएको तर कहिलेदेखि सुरु हुने जानकारी नभएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.