बैतडी जीप दुर्घटना अपडेट : दाजु-भाइसहित तीनको मृत्यु
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका १० बाराकोटका लागि आइतबार निकै कहालीलाग्दो साबित भएको छ। पूजा गर्न हिँडेका दाजुभाइसहित तीन जना जिप दुर्घटनामा मृत्यु भएपछि अहिले गाउँ शोकमग्न भएको छ।
आइतबार बिहान सवासात बजे बाराकोटबाट देहीमाण्डौं हुँदै नागार्जुनका लागि हिँडेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाडमा दुर्घटना हुँदा दशरथचन्द नगरपालिका बाराकोटका अन्दाजी ६० वर्षीय हिराबल्लभ भट्ट र उनका भाई अन्दाजी ५३ वर्षीय लालमणि भट्टका साथै उनकै आफन्त अन्दाजी ५० वर्षीय नरुली भट्टको ज्यान गएको हो।
दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १० कै नवीन भट्ट रहेका छन्। घाइते मध्ये प्रकाशको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा. वसन्तराज जोशीले बताए। उनले भने ‘प्रकाश भट्टको अवस्था गम्भीर छ। हामीले रेफर गरिसकेका छौं। २ जनालाई पनि थप उपचारका लागि अन्यत्र लग्नै पर्छ।’
दुर्घटनामा मृत्यु भएका लालमणि भट्ट दानेश्वर माविकै अंग्रेजी शिक्षक हुन्। एकै घरका र एकै ठाउँका व्यक्तिहरुको ज्यान गएपछि गाउँमा रुवाबासी चलेको छ। ‘देवताल मन्दिरको दर्शनका लागि परिवारका सदस्य सहित लालमणि सर पनि जानु भएछ। शुक्रबार विद्यालयबाट छुट्टिँदा आइतबार भेटौंला भन्नुहुन्थ्यो तर त्यही भेट अन्तिम रहेछ’, दानेश्वर माविका शिक्षक हरिश भट्टले भने।