त्रिशूलीमा बस दुर्घटना : आमा र दिदी पर्खिरहेकी छिन् स्वस्तिका
धादिङ : गजुरी गाउँपालिका-५ गलौंदीकी ४ वर्षीया स्वस्तिका पन्त आमा र दिदीसँगै काठमाडौं जान बिहान ६ बजे गाडी चढिन्। १५ मिनेट बित्न नपाउँदै उनीहरू चढेको बस वडा नम्बर ६ को बन्छेटारमा पुगेर दुर्घटना भयो। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। आमा अनिता पन्त (परियार) र दिदी अस्मिता परियार गम्भीर घाइते भए पनि उछिट्टिएकी स्वस्तिका भाग्यबश सकुशल बाँचिन्।
३ ठाउँमा ठोक्किँदै बस त्रिशूलीमा खसे पनि स्वस्तिका भने भीरको बीचमा अड्किइन्। उद्धारकर्ताले बस खसेको भीरबाट स्वस्तिकालाई सडकमा ल्याएका थिए। उनको शरीरमा कुनै पनि चोट नदेखिए पनि कसैसँग बोल्न सकेकी थिइनन्।
अस्पतालमा सोधीखोजी गर्न जाने जोसुकैलाई एकोहोरो हेरिरहने उनले केही भन्न नसके पनि उनको आँखाको भावले नै आमा र दिदीलाई खोजिरहेको थाहा पाइन्छ। अस्पतालमा सामान्य परीक्षणपछि उनीहरू बस्ने घरबेटीले स्वस्तिकालाई अस्पतालबाट जिम्मा लिएर गएका छन्। गजुरी अस्पताल प्रमुख राम कार्कीका अनुसार स्वस्तिकाकी आमा र दिदी घाइते भए पनि खतरामुक्त रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको बताए।
चालक फेरिएपछि दुर्घटना भयो : घाइते
निन्द्रा नलागे पनि आँखा चिम्म गरेर बसिरहेको थिएँ। एक्कासी गड्याम्म आवाज आयो। सबै यात्रु चिच्याउन्जेल गाडी खोलामा खसिसकेको थियो। म होस्मै थिएँ, ढोकाबाट निस्कन खोजें। नदी गहिरो देखेर ड्राइभरको सिटको झ्यालबाट हाम्फालें। गाडी खसेको भीर पाखाभरि घाइतेहरू छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो। मेरो ज्यान पूरै दुखेको थियो, तर कहाँ के भएको आफैंलाई थाहा थिएन।
गाउँलेसँग मिलेर अरू घाइतेको उद्धारमा सघाएँ। केहीबेरपछि सेना र प्रहरी आइपुगे। सेना र प्रहरीले सबै घाइतेलाई माथि सडकमा ल्याउँदै उपचार गर्न पठाए। मेरो पनि छातिमा दुखाइ बढ्न थाल्यो, मान्छेको भीड बढेपछि स्थानीयले मलाई पनि अस्पताल पठाए। दुर्घटना हुनुभन्दा ३-४ किलोमिटर वर गाडीमा तेल हालिएको थियो। त्यसपछि चालक फेरिएका थिए, त्यसको केहीबेरमै दुर्घटना भयो। (दुर्घटनाका घाइते झापाका फणिन्द्रबहादुर कार्कीसँगको कुराकानीमा आधारित)
यसरी गरियो उद्धार : उद्धारकर्मी गाउँले
हामी घरमै बसिरहेका थियौं। एक्कासि गड्याङगुडङ आवाज आएपछि त्यता दौडियौं। गाडी खसेर घाइते पाखाभरि छरिएका रहेछन्। ३-४ जनाको त मृत्यु नै भइसकेको रहेछन्। रोडबाट हेर्दा गाडीभित्र पनि मान्छे देखिए। सबैले लौ न बचाउ बचाउ भन्दै कराइरहेका थिए। पाखामा भएकाभन्दा पनि गाडीभित्र चिच्याइरहेका घाइतेलाई पहिले निकालियो। हामीसँग बोक्ने साधन केही थिएन, गाडीभित्रका घाइते सबैलाई निकालिसकेपछि पहिले जसलाई भेट्यो उसैलाई माथि सडकमा उकाल्न थाल्यौं, हामीसँगै आएका साथीले प्रहरीलाई खबर गर्यो। केहीबेरमा सेना, सशस्त्र र प्रहरी पनि आए। सबैलाई पालैपालो उपचार गर्न पठाइयो। (दुर्घटनास्थलमा सबैभन्दा पहिले पुगेका उद्धारकर्मी मंगल तामाङ र दिलिप तामाङसँगको कुराकानीमा आधारित)