लुट्छन् बिचौलियाले, ५८ दरबन्दी, ८ हाजिर
जनकपुरधाम : तीन महिनाअघि धनुषाका सीडीओ प्रदीपराज कणेलले मालपोत कार्यालयमै पुगेर कर्मचारीलाई भ्रष्टाचार नगर्ने कसम खुवाए । घुसखोरीविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भन्दै कणेलको कदमको सर्वत्र प्रशंसा भयो । ‘अब मालपोत कार्यालय जनकपुर सुध्रिन्छ,’ धेरैले सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेखे, ‘वाह ! सीडीओ साप्, धन्यवाद !’
तर, आइतबार मालपोत कार्यालय पुग्दा अवस्था भिन्न देखियो । कर्मचारी हाकाहाकी घुस मागिरहेका थिए । सेवाग्राही ४० डिग्री तातो घाममा लाममा थिए । बिचौलियाको हालिमुहाली थियो । कार्यालय अव्यवस्थित थियो ।
कार्यालयमा सीसी क्यामरा जडान भएपछि कर्मचारीले दलालमार्फत घुस खाने सेटिङ मिलाएका छन् । मालपोत कार्यालय दक्षिणतर्फ बिचौलियाको भीड थियो । उनीहरू सेवाग्राहीसँग लेनदेनका कुरा गरिरहेका थिए । सीडीओ कार्यालय मालपोत कार्यालयबाट सय मिटर दुरीमा छ ।
लेनदेनको कुरा मिलेपछि बिचौलिया आफैं कार्यालयभित्र गएर काम गरिरहेका थिए । पूर्वकर्मचारी तृपित झा तामेली फाँटमा कर्मचारीको कुर्सीमा बसेर मोलमोलाइ गरिरहेका भेटिए । उनी मालपोत कार्यालय जनकपुरका पूर्वखरिदार हुन् । उनी कार्यालयको कुर्सीमै बसेर कर्मचारी भेषमा दलाली गर्छन् । कर्मचारीसँग सेटिङ मिलाउँछन् । कुर्सीमा बसेको फोटो खिचेपछि उनले कताकता फोन गरे । पाँच वर्षअघि उनले घुस लिएको भिडियो भाइरल भएको थियो । झाले दर्जनौं मानिसलाई अन्नपूर्ण टोलीसँग फोन गराएर समाचार रोक्न प्रयास गरेका थिए ।
भनसुन र बिचौलियाको भर
बिहान ९ः४५ बजे मालपोत कार्यालय जनकपुर पुग्दा कार्यालयको गेटमा भीड थियो । धनुषाका फेकन चौरसिया मालपोत कार्यालय जलेश्वरका एक कर्मचारी राजकिशोर साहलाई कुरिरहेका थिए । ‘राजकिशोर जीसँग चिनजान छ। उहाँले यहाँ भनसुन गरेर काम गराइदिनुहुन्छ,’ उनले भने, ‘यहाँ सोर्सफोर्स नलगाई र पैसा नखुवाई त कामै हुँदैन ।’ सेवाग्राही लाम लागेका थिए । चन्दन लगाएका एक बिचौलियाले १० बजे राजस्व तिरे ।
फाइलको बिटा बोकेर सीधै मोठ भिडाउन भुइँतलाको उत्तरपट्टि पसे । फाइलको बिटा कर्मचारीको टेबुलमा हालिदिए । लामबद्ध सेवाग्राही भने फाँटको झ्याल खोल्न ढकढकाइरहेका थिए । १०ः३० बजेसम्म धेरै फाँटका झ्याल बन्द थिए । १०ः१५ मा पान चपाउँदै एक कर्मचारी मोठ फाँटमा पसे । उनले तीनै बिचौलियाको फाइल प्राथमिकतामा राखे । पत्रकार टोली कार्यालय प्रवेश गर्न हाकिमको अनुमति चाहिन्थ्यो । तर बिचौलियालाई रोकटोक थिएन ।
मालपोतका कर्मचारी पहिले टेबुल तलबाट घुस खान्थे । सीसी क्यामरा जडान भएपछि बिचौलियामार्फत सेटिङ मिलाएका छन् । तर यतिले पनि कर्मचारीलाई पुग्दैन । फाँटमा पुग्ने सेवाग्राहीसँग सेटिङ मिलाउँछन् । ११ः३५ बजे कार्यालयको दोस्रो तलाको तामेली÷अभिलेख फाँटमा कर्मचारीले बिचौलियामार्फत सेटिङ मिलाइरहेका थिए । सेवाग्राहीका लागि नखुल्ने त्यो फाँटको ढोका दलालका लागि खुलेको थियो । अन्नपूर्ण टोली दलालसँगै सुटुक्कै भित्र पस्यो । त्यहाँ फाँटका प्रमुख रामदेव यादवले दलालमार्फत घुस मागिरहेका थिए । सेवाग्राहीबाट चिया खर्च भन्दै बिचौलियाले पाँच सय रुपैयाँ लिएर गोजीमा हाले । ती बिचौलिया फाइल लिएर टाप कसे । कर्मचारीले भित्रबाट ढोका लगाए ।
सधैं भोलि
दुई भाइको अंश विवादमा फसेका छन्, धनुषा विदेह नगरपालिका–४ ठाढीझिझाका ६० वर्षीय मोहम्मद इस्लाम । धनुषा जिल्ला अदालतले मालपोत कार्यालयलाई जग्गाको कित्ता, क्षेत्रफलको यकिन विवरण पठाउन पत्राचार गरेको छ । पत्र लिएर इस्लाम दुई सातादेखि दिनदिनै भौंतारिरहेका छन् । आइतबार १०ः१७ बजे विवरण लिन लाम लागेका थिए । निराश भएर कुर्सीमा बसिरहेका उनले भने, ‘कर्मचारीले सधंै बस्नुस्, खोजिदिन्छु भन्छन्, साँझ परेपछि भोलि आउनुस् भनेर फर्काइदिन्छन् ।’ १ः०० बजे भेटिएका वृद्ध आलम ४० डिग्रीको घाममा निराश भएर सुतिरहेका भेटिए । बिचौलियाको काम भने फटाफट भइरहेको थियो । लाम लागेका सेवाग्राहीसँग कर्मचारी भन्दै थिए, ‘आज काम हुँदै–हुँदैन भोलि आउनुस् ।’ कर्मचारीले कडा शब्दमा सेवाग्राहीलाई ललकार्दै थिए ।
तारिखमाथि तारिख
मालपोत कार्यालयअगाडि १०ः२९ मा भेटिइन् । उनले शुक्रबार बिचौलियामार्फत जग्गा पास गराएकी थिइन् । प्रिन्टरमा मसी कम भएर लालपुर्जामा उनको नाम मधुरो थियो । ‘कुरै छोड्नुस, जग्गा पास गराउन कति लाग्यो भनेर,’ उनले भनिन्, ‘यहाँ घुसमाथि घुस चढाउनुपर्छ ।’
कार्यालयमा भीड बढ्दै थियो । दिनहुँ रित्तै हात फर्किएका सेवाग्राही कर्मचारीलाई गाली गर्दै बर्बराइरहेका थिए । भुइँतलाको ७ नं. झ्यालमा १०ः४६ भेटिए, धनुषा खरिहानी मिसरपट्टी–७ का ५५ वर्षीया चन्द्रदेव यादव । उनले भने, ‘अढाइ महिनादेखि फाइल लिएर कार्यालयमा तारिखमाथि तारिख लगाइराखेको छु । कर्मचारीले कामै गर्दैनन् ।’
चन्द्रदेवका छोरा रामप्रकाशले उनीविरुद्ध अंश मुद्दा हालेका छन् । १७ माघ २०७५ धनुषा जिल्ला अदालतले उनीलगायत परिवारका सदस्यका नाममा रहेको स्रेस्ताको रेकर्ड पठाइदिन मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । अदालतले दिएको पत्र बोकेर उनी महिना दिनदेखि मालपोत धाइरहेका छन् । कर्मचारीले अदालतको जबाफ फर्काएका छैनन् । ‘यो तातो घाममा ज्यान मरिसक्यो । छोराले मुद्दा हालेर दुःख दियो । त्यसमाथि पनि कर्मचारीले तारिख खेपाइराखेका छन्,’ उनले भने, ‘यहाँ अदालतको पनि अपमान भइरहेको छ ।’
२० हजारमा म सबै काम
रामेश्वर यादव भतिजाहरूको अंशबन्डा मिलाउन मालपोत कार्यालय आएका रहेछन् । १०ः५७ बजे कार्यालयको दक्षिणपट्टि एक लेखापढी व्यवसायीकहाँ पुगे । ‘अंश बाँडफाँट गर्न २० हजार लाग्छ’, बिचौलियाले भने, ‘भित्र सबै म मिलाउँछु ।’ रामेश्वर बिचौलियासँग ‘अलि कम गर्दिनुस् न’ भन्दै थिए । ती बिचौलिया १५ हजारमा झरे । रामेश्वरले १४ हजारमा कुरो मिलाए ।
यूपीएस मर्मत नहुँदा हैरानी
११ः३२ मा तेस्रो तलाको लेखा फाँटमा पुग्दा टीकाराम काम गरिरहेका थिए । काम गर्दागर्दै बत्ती गएर कम्प्युटर अफ भयो । उनले भने, ‘१५ दिनदेखि यूपीएस बिग्रिएको छ । लाइन गएपछि यस्तै हो ।’
रक्सीको बोतलदेखि तासको पत्तीसम्म
११ः४७ मिनेटमा माथिल्लो तलामा पुग्यौं । त्यहाँ चन्दनकुमार मुखिया भेटिए । कोठामा फाइल यत्रतत्र छरिएका थिए । चन्दनले भने, ‘फाइल नथी गरिरहेका छौं । कार्यालयले ठेक्का लगाएको छ ।’ नजिकै पानको पिक थुकेको कोठाको कुनामा रक्सीका बोतल भेटिए । चन्दनलाई सोध्यौं, ‘यो रक्सीको बोतल कसरी यहाँ आयो ? ’ उनले भने, ‘सर ! मसँग त चक्लेट खान पनि पैसा छैन, रक्सी खाने पैसा कहाँबाट आउँछ ?
पहिलो तलाको पूर्वपट्टि तासका पत्ती र चुरोटका बट्टा भेटिए । कार्यालयका कर्मचारीदेखि सेवाग्राहीले प्रयोग गर्ने शौचालय दुर्गन्धित थियो । बेसिनका धारा भाँच्चिएका थियो । सेवाग्राही नाक थुनेर शौच गरिहरका थिए । धनुषा फूलगामाका घुरन महराले भने, ‘शौचालय फोहोर छ । सफा गर्न नसके दबाई हाल्न त सकिन्छ नि !’ कर्मचारीदेखि कार्यालय प्रमुख रामबाबु मण्डलसम्मले पान चपाइरहेका थिए । पानको थुकले भित्ता कुरूप देखिन्थ्यो । शौचालय दुर्गन्धित थियो । सेवाग्राही नजिकैको चापाकलमा नाक थुनेर प्यास मेटाइरहेका थिए ।
कार्यालय सहयोगीलाई दया लागेपछि...
१२ बजे महोत्तरीको एकडाँरा गाउँपालिका–६ का ४५ वर्षीय विजय झा लालपुर्जा प्रतिलिपि लिन रजिस्ट्रेसन फाँटको झ्यालमा उभिइरहेका थिए । तीन महिनादेखि आफ्नै जग्गाको प्रमाण लिन उनलाई सास्ती छ । ‘महिनौं देखि धाइरहेका छौं,’ उनले भने, ‘मलाई यहाँ धैरै पटक आएको देखेर आज कार्यालय सहयोगी नथुनीजीलाई दया लगेछ । उहाँले एकैछिनमा गराइदिनुभयो ।’
मालपोत कसैको सम्पत्ति होइन
१२ः१७ मिनेटमा मोठ भिडाउने कर्मचारी रामदरेश साह सेवाग्राहीलाई हप्काउँदै थिए, ‘जतिखेर फुर्सद हुन्छ, त्यतिखेर काम गर्छु । मालपोत कसैको सम्पत्ति होइन । लेखनदास जिउमै चढ्न आउँछन् ।’ १२ः२२ बिचौलिया महेशप्रसाद साह कर्मचारीको टेबुलमै पुगेर काम गराइरहेका थिए । कार्यालय आएका अन्य सेवाग्राही उभिइरहेका थिए ।
ज्येष्ठ नागरिकको बेहाल
धनुषाको नौ सय बिघाका ८७ वर्षीय जोगिन्द्र मि श्र कार्यालयको प्रतीक्षालयमा गम्छा ओछयाएर सुतिरहेका थिए । १२ः५० मा भेटिएका उनले भने, ‘सरकारका कार्यालयले दुःखबाहेक अरू केही जानेका छैनन् । वृद्धवृद्धाका लागि आराम गर्ने ठाउँसमेत छैन ।’ उनी छोराहरूलाई अंश बाँडफाँट गर्न कार्यालय आएका थिए ।
हुलाक टिकटमा पनि ठगी
हुलाक टिकटमा पनि सेवाग्राही ठगिने गरेका छन् । कार्यालय परिसरमा रहेको पसलमा हुलाक टिकट बिक्री हुन्छ । एक वृद्धाले रु. १० को हुलाक टिकट रु. १५ मा बेचिरहेकी थिइन् । उनले भनिन्, ‘को मूर्ख छ र किनेको दाममा सामान बिक्री गर्न ।’
कर्मचारीलाई डरभर छैन
२ः३५ मा जनकपुर उपमहानगरपालिका–१ की रामसकल देवी कर्मचारीलाई गाली गर्दै थिइन् । ‘आउनुस्–जानुस् भन्दै कुदाइरहेका छन्,’ उनले भनिन्, ‘के हामी मालपोतका कर्मचारीको मुख हेर्न आएका हौं ? ’ कित्ताकाट गराएर जग्गाको लालपुर्जा लिन आएकी उनले थपिन्, ‘दुईतीन दिन एउटै टेबुलमा फाइल अड्काइदिन्छन् ।’
रामसकल देवीसँगै लाम लागेका विदेह नगरपालिका–३ गोबराहीका प्रदीप यादव ओक्रोशित थिए । कर्मचारीले कुदाइरहेका कारण हैरान बनेका उनले भने, ‘कर्मचारीलाई डरभर छैन ।’ बिचौलियामार्फत नआएकैले ३५ दिनदेखि उनको जग्गाको रजिस्टे«सन हुन सकेको छैन । ‘कर्मचारी त पूरै भ्रष्ट भए,’ उनले भने ।
‘५८ जना दरबन्दीमा ८ जना मात्रै हाजिर’
मालपोतका कार्यालय प्रमुख रामबाबु मण्डलका अनुसार कार्यालयमा ५८ जना कर्मचारी दरबन्दी छ । तर त्यहाँ आठजना मात्र कार्यरत छन् । उनले बिचौलियालाई कार्यालयभित्र पस्न नदिएको र कुनै कर्मचारीले घुस नखाईकन काम गरिरहेको दाबी गरे । मण्डलले कार्यालयमा रहेका कमीकमजोरी सुधार गर्दै जाने प्रतिबद्धता जनाए ।
लुटैलुट
४ः४१ बजेसम्म बस्दा पनि महोत्तरी एकडारा गाउँपालिका–४ हलखोरीका निरसु रायको लालपुर्जा बनेन । ‘हे भगवान् यहाँ लुटैलुट छ । कर्मचारी र बिचौलिया मिलेर मनलादी घुस खान्छन् ।’ सरकारी कार्यालयको कार्यशैलीप्रति रुष्ट बनेका उनले भने, ‘देश भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । भन्ने सुन्ने कोही छैन । जसले सक्छ, उसले लुट्छ ।’
बिचौलियाको काम साँझसम्म
५ बजेपछि कार्यालयका फाँटका झ्याल बन्द भयो । सेवाग्राही घर फर्किए । कर्मचारीले बिचौलियाका बाँकी काम फाटफट काम गर्न थाले । ५ः१० मा भेटिएका लेखापढी व्यवसायी उपेन्द्र मण्डलले ‘नेपाल राष्ट्र नै भ्रष्टाचारमा विलीन भएको छ, अरू के भनूँ ? ’