वडाध्यक्षले काटे शिक्षकको हाजिरी

वडाध्यक्षले काटे शिक्षकको हाजिरी

धादिङ : शिक्षा विकास तथा समन्वय इकाइ धादिङले पठाएको शिक्षकको हाजिर वडाध्यक्षले काटिदिएका छन्। शिक्षक सेवा आयोगबाट स्थायीमा नाम निकालेका टीकाराम बस्ताकोटीलाई शिक्षा विकास तथा समन्वय इकाइ धादिङले नीलकण्ठ नगरपालिका–१४ धुवाकोटस्थित सरस्वती माविमा पठाएको थियो। घरपायक पर्ने भन्दै शिक्षक बस्ताकोटीलाई धुवाकोट पठाए पनि वडाध्यक्ष फन्द्रा तामाङले विद्यालय हाजिरीपुस्तिकामा बस्ताकोटीले गरेको हाजिर काटिदिएका हुन्।

जिल्ला शिक्षा कार्यालयको पत्र बोकेर वैशाख ९ गतेदेखि सरस्वती माविमा पढाउन गएका बस्ताकोटीलाई हाजिर नगराउन दबाब आएको तत्कालीन प्रधानाध्यापक राजन श्रेष्ठले बताए। उनले भने, ‘विद्यालय व्यवस्थापन समितिसमेत छैन तर शिक्षक बस्ताकोटीलाई हाजिर नगराउन वडाध्यक्षदेखि केही स्थानीय नेताले दबाब दिए।’ शिक्षा विकास तथा समन्वय इकाइले पत्र पठाएको आधारमा आफूले वैशाख २९ गते शिक्षक बस्ताकोटीको हाजिर गराएपछि वडाध्यक्ष आएर उनको हाजिर काटिदिएको श्रेष्ठले बताए। ‘मैले माथिको आदेश पालना गरेँ’, शिक्षक श्रेष्ठले भने, ‘तर वडाध्यक्षले बस्ताकोटीको हाजिर काटिदिनुभयो।’

वडाध्यक्षले शिक्षक टीकाराम बस्ताकोटीको हाजिरीमा रातो मसीले केरेर वडाध्यक्षको छाप लगाएपछि अभिभावक भेलाको निर्णयले हाजिर काटिदिएको उल्लेख गरेका छन्। विद्यालयमा सामाजिक विषय शिक्षकको दरबन्दी खाली भए पनि गणित विषयमा नाम निकालेका शिक्षकलाई हाजिर गराएकाले अभिभावक भेलाको निर्णयबमोजिम हाजिर काटिदिएको अध्यक्ष तामाङको दाबी छ।

विद्यालय व्यवस्थापन समितिसमेत नभएको अवस्थामा वडाध्यक्षले शिक्षकको उपस्थिति अनुगमन गर्न पाउने व्यवस्था भए पनि हाजिरमै रातो मसी लाउने अधिकार नभएको शिक्षकले बताएका छन्। वडाध्यक्षले आफ्नो क्षेत्राधिकार मिचेर हाजिर काटिदिएको शिक्षकले बताए।

विद्यालयमा सामाजिक विषय शिक्षकको दरबन्दी खाली भए पनि सामाजिक विषय पढाउनुपर्ने सहमतिमा गणित विषयमा नाम निकालेका शिक्षक बस्ताकोटीलाई शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयमा पठाएको थियो।

कनिष्ठलाई बनाए प्रधानाध्यापक

शिक्षकलाई हाजिर गराएको बहानामा वडाध्यक्ष र केही अभिभावकले बहालवाला प्रधानाध्यापकलाई हटाएर नयाँ प्रधानाध्यापक चयन गरेका छन्। अभिभावक भेला बोलाएर निर्णय गरिएको बताए पनि मर्यादा क्रममा चौथो स्थानमा रहेका शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गरिदिएपछि विद्यालयमा विवाद उत्पन्न भएको छ।

‘केही अभिभावकलाई माइन्युटमा हस्ताक्षर गर्न लगाइयो र वडाअध्यक्षहरूले पुरानालाई हटाएर नयाँ प्रधानाध्यापक बनाएको घोषणा गर्नुभयो’, एक अभिभावकले भने, ‘विद्यालय व्यवस्थापन समिति नै नभएको अवस्थामा वडाध्यक्ष र केही नेताले जबर्जस्ती अर्कै शिक्षकलाई प्रधानाध्यापक बनाइदिनुभयो।’

शिक्षा नियमावलीमा माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त गर्न विद्यालयमा कार्यरतमध्ये तहगत आधारमा ज्येष्ठतम शिक्षक छनोट गर्नुपर्ने व्यवस्था छ। तर, ज्येष्ठतम शिक्षकलाई प्रधानाध्यापकबाट हटाएर मर्यादा क्रममा चौथो स्थानमा रहेका प्राथमिक शिक्षक रुद्र अधिकारीलाई प्रधानाध्यापक बनाइएको शिक्षकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.