गाउँपालिकाभरि सतुवा र टिमुर खेती
बेंसीसहर : मर्स्याङ्दी गाउँपालिकाका किसान सतुवा र टिमुर खेतीतर्फ लागेका छन्। अलैंची उत्पादन र मूल्यमा गिरावट आउन थालेपछि उनीहरू जडीबुटी खेतीमा अग्रसर भएका हुन्।
थोरै श्रम, समय र लगानीमा बढी नाफा हुने भएकाले सतुवा खेती सुरु गरिएको अगुवा अलैंची किसान अजय तामाङले बताए। उनका अनुसार गाउँपालिकाको माथिल्लो क्षेत्रमा सतुवा र तल्लो क्षेत्रमा टिमुर खेती सुरु गरिएको छ। ‘अलैंची खेती भइरहेको छ। यससँगै सतुवा र टिमुर सुरु गरेका हौं’, तामाङले भने, ‘विस्तारै अन्य जडीबुटी खेती पनि गर्छाैं।’
तामाङले मर्स्याङ्दी–७ छिनखोलामा ग्रिन हाउस निर्माण गरेर सतुवा खेती गरेका छन् । दुई वर्षअघि दोलखाबाट ८० रुपैयाँका दरले ५ सय बिरुवा ल्याई सतुवा खेती सुरु गरेका हुन्। अहिले १२ हजार सतुवाका बिरुवा तयार भएको उनले बताए । बिरुवा रोपेको तीन वर्षमा उत्पादन दिने उनले बताए। ताघ्रिङ, घेम्रु, भुलभुलेका किसान सतुवा खेतीमा लागेका छन्। सिम्पानी, खुदी, भुलभुलेको तल्लो क्षेत्रका किसानले टिमुर खेती सुरु गरेका छन्।
गाउँपालिकाभित्रका ३० जना किसानले लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी दर्ता गरेर ३० रोपनी जग्गामा ३० हजार बिरुवा लगाइएको सहकारीका अध्यक्ष अजय तामाङले जानकारी दिए। वडा नम्बर ४ ताघ्रिङका अध्यक्ष सुमन गुरुङका अनुसार ताघ्रिङ र भुलभुलेका घरैपिच्छे किसानले सतुवा खेती गरेका छन्। किसानले वनमा उम्रिएका बिरुवा खोजेर पनि सारेका छन्।
किसानका अनुसार सुकेको सतुवा प्रतिकिलो २० हजार रुपैयाँ पर्छ । अन्नबालीभन्दा ५ गुणा आम्दानी हुने भएकाले किसानलाई जडीबुटी खेतीमा प्रोत्साहन गरिएको वडाध्यक्ष गुरुङले बताए। लेकका खाली जमिनमा वन लसुन खेती सुरु गरिने उनले जानकारी दिए। वनलसुन प्रतिकेजी ४० हजार रुपैयाँ छ। यस वर्ष १० हजार टिमुरका बिरुवा रोप्ने तयारी गरिएको उनले बताए। अचार, छोप, औषधिलगायतमा प्रयोग गरिने टिमुरको बजारमूल्य प्रतिकेजी १ हजार ५ सय रहेको सहकारीका सचिव होमरास तामाङले बताए।
बिरुवा उम्रिएको ३ वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुन्छ । जमिनमुनिको गानो सतुवा हो, यो जडीबुटीका लागि प्रयोग हुन्छ । यहाँका किसानले दोलखा, इलाम, काभ्रेलगायत जिल्ला पुगेर सतुवासम्बन्धी जानकारी लिएका छन्। ‘सतुवा अदुवाजस्तै हो । जति धेरै वर्ष भयो, त्यति धेरै ठूलो र छिप्पिँदै जान्छ’, तामाङले भने, ‘चार केजी काँचो सतुवा सुकाउँदा १ केजी बस्छ ।’
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सतुवा खेतीका लागि किसानलाई प्रोत्साहन गरिएको बताए । ‘गाउँपालिकाको समृद्धिका लागि कृषि र जडीबुटी खेतीमा प्रोत्साहन गर्दै बजेट छुट्ट्याएका छौं,’ उनले भने, ‘कृषि र जडीबुटी खेतीमा युवाको आकर्षण बढ्दो छ ।’
उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिन्छ। यसको जरा अदुवाको जस्तै हुन्छ । जिल्ला आयुर्वेद कार्यालयका प्रमुख शम्भु चापागाईंका अनुसार पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीका लागि सतुवा खुवाइन्छ । १ हजार ८ सयदेखि ३ हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको छ।