पश्चिममा सुक्न थाले खोला, कतै त रोपाईँकाे तयारी नै छैन
बैतडी : जिल्लाको सूर्नया गाउँपालिका–६ शंकरपुरस्थित गोयली खोलामा केही वर्ष अघिसम्म कलकल पानी बग्थ्यो ।
यही खोलामा पछिल्लो समय चैत महिनादेखि पानी नै बग्न छोडेको छ । ‘गोयली खोलाको पानी मुहानबाट बगेर आउँथ्यो । हामी गोठला गएको बेला पानी पिउने गथ्र्यौँ ।अचेल त खोलामा पानी नै सुक्यो,’ स्थानीय नन्दराम अवस्थीले भने ।
चार वर्षदेखि सुख्खायाममा खोला पूरै सुक्नेगरेको अवस्थीले सुनाए । कहिल्यै नसुक्ने खोला सुकेपछि स्थानीयहरु अच्चमित भएको बताउँछन् । शंकरपुरकै ठूलापानी मूहानमा पनि पानी सुकेपछि स्थानीयहरुले रोपाईँ गर्न नै छोडे । धानको विउ राख्न पानी नहुँदा केही खेतमा त रोपाँई गर्न छोडेको स्थानीय दुर्गादत्त अवस्थीले बताए ।
उनले भने ‘मूहानमा टन्न पानी भएकै कारण मूहानको नाम नै ठूलापानी राखेको थियो । तर अहिले सुख्खायाममा पानी सुक्न थालेको छ । मूहानमा अलिकति मात्रै पानी छ । पछिल्लो पाँच वर्षयता पानीकै अभावमा हामीले रोपाँई गर्न छोडेका छौँ ।’
बैतडीको प्रसिद्ध नदीको रुपमा रहेको सूर्नया नदीमा पनि प्रत्येक वर्ष सुख्खायाममा पानी घट्दै गएको छ । सूर्नया नदीमा जेठको महिना समेत धेरै पानी बग्ने गरेकोमा पछिल्लो समय पानीको सतह ह्वात्तै घटेको छ । स्थानीय कमल बोहराका अनुसार नदीको मूहानमै पानी घटेको छ । सूर्नया नदीका सहायक खोलामा पानी सुकिसकेको छ ।
गाउँका कुवामा समेत पानी सुक्दा स्थानीयहरुलाई खानेपानीकै समस्या भएको मेलौली–१ का लक्ष्मण पार्कीले बताए । उनले भने ‘परम्परागत कुवामा सुख्खायाममा पानी सुकेपछि खानेपानीको जोहो गर्नु नै मुस्किल भएको छ । पहिला पहिला जेठको टन्टलापुर घाममा कुवाको चिसो पानी पिउनेहरु कुवामा पानी सुकेको देख्दा अचम्मित हुने गरेका छन् । गाउँका धेरै कुवाहरुको पानी सुकिसकेको छ ।’
वन फडानी र सडक निर्माणले पानीका मूहान सुक्दैगएको डिभिजन वन कार्यालय बैतडीका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीको तर्क छ । डोजरले गाउँमा जथाभावी जमिन खन्न थालेकाले पनि पानीका मूहान सुक्न थालेको स्थानीयको अनुभव छ । यही क्रम नरोकिए पानीका मूहान नष्ट हुनेमा उनीहरुको चिन्ता छ ।