आधुनिकतासँगै अपराध बढ्दो

आधुनिकतासँगै अपराध बढ्दो

ललितपुर : गत वैशाख १ गते गोदावरी नगरपालिकाको विशंखुनारायणको एउटा इँटाभट्टामा कार्यरत जयबहादुर वाइवाले खुर्पा प्रहार गरी पत्नीको हत्या गरे। ४२ बर्से वाइवाले मनमुटाव भएपछि रिसको झोंकमा ४१ वर्षीया पत्नी सुनमायाको हत्या गरेको साबिती बयान दिएका छन्। जेठी पत्नी अर्कैसँग भागेपछि उनले ५ वर्षअघि सुनमायासँग बिहे गरेका थिए। स्थानीयका अनुसार हत्यापछि उनी पत्नीको टाउको बोकेर गाउँ डुलेका थिए।

समाजमा दिनहुँजसो गम्भीर प्रकृतिका घटना बढिरहेका छन्। गत वैशाख २५ गते ढोलाहिटीमा अर्को जघन्य घटना भयो। ललितपुर महानगरपालिका-२६ का संगीतकार उज्वल महतले भाइबुहारी अन्जना लामाको दर्जनौं पटक शरीरका विभिन्न अंगमा खुकुरी प्रहार गरेर क्रुर हत्या गरे। सांगीतिक क्षेत्रमा स्थापित हुन क्रियाशील उनले श्रवणशक्ति गुमाउँदै गएको र डिप्रेसनको औषधिसेवन गरेको भनिए पनि प्रहरीले सामान्य देखिएको बताएको छ।

हत्यापछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले भाइबुहारीसँग असन्तुष्ट उनले यस्तो जघन्य प्रकृतिको हत्या गरेको देखिए पनि वास्तविकता बाहिर आइसकेको छैन। घटनापछि विभिन्न अड्कलबाजी गरिएको छ। कतिपयले दुवै जनाको सम्बन्धबारे आशंका व्यक्त गरेका छन्।

यी दुई प्रतिनिधिमूलक घटना हुन्। यस्ता गम्भीर प्रकृतिका अपराध विभिन्न ठाउँमा घटिरहेका छन्। गत मंगलबार भोजपुरमा आमाले दुईबर्से छोरालाई अचानोमा राखेर हत्या गरिन्। अघिल्लो साता धनुषामा अन्धविश्वासमा एक धामीले बालकको हत्या गरे।

किन बढिरहेको छ जघन्य अपराध ?

महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरिया भन्छन्, ‘यस्ता अपराध बढ्नुमा सामाजिक विकृति र विसंगतिले ठूलो भूमिका खेलेको छ। संगठित अपराध शून्यतिर झरेका छन्।’

व्यक्तिगत घटनाको संख्या ह्वात्तै बढेको छ। यसलाई सामाजिक विकृतिले निम्त्याएको परिणाम मान्छन् उनी। ललितपुरमा आव ०७५/७६ मा ७ सय ९३ मुद्दा दायर भएका छन्। तीमध्ये ९ कर्तव्य ज्यानसम्बन्धी छन्। सार्वजनिक हित, स्वास्थ्य सुरक्षाविरुद्धका कसुर १ सय ४८ घटना, जबरजस्ती करणी ३१, जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका १७ घटना दर्ता भएका छन्।

०७४/७५ मा ३ वटा मात्र कर्तव्य ज्यानमुद्दाका घटना दर्ता भएका थिए। ज्यान मार्ने उद्योग ८, जबरजस्ती करणी २१, जबरजस्ती करणीपछि ज्यान मार्ने उद्योग १ लगायत सार्वजनिक अपराधका ४ सय ४६ घटना दर्ता भएका थिए। यो वर्ष ९ सय ४५ मुद्दा दर्ता भएका छन्।

सामाजिक विकृतिका कारण बढेको आपराधिक क्रियाकलाप प्रहरी एक्लैले निस्तेज पार्न नसक्ने भनाइ प्रवक्ता चिमोरियाको छ। ‘जनधनलाई सुरक्षा प्रदान गर्ने प्रहरी औपचारिक निकाय हो’, उनले भने, ‘सबै नागरिक सचेत नभएसम्म प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्दैन।’

त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङको बुझाइमा सामाजिक विकृतिका कारण यस्ता अपराध बढेका हुन्। नेपाली समाज आधुनिक हुँदै गएजस्तो देखिए पनि अन्धविश्वासमा जकडिएको उनको तर्क छ।

‘भनेजस्तो प्रगति गर्न सक्दैनन्’, चेम्जोङले भने, ‘सोचेजस्तो नभएपछि अरूको प्रगति देखेर इष्र्या लाग्छ। आपराधिक मानसिकता बढ्छ। यो विकृत मनोवृत्ति हो। विकास र आधुनिकता बढेसँग अपराध पनि बढेको छ।’

०७५/७६ मा ललितपुरको स्थिति

- कुल घटना - ७९३

- कर्तव्य ज्यान -९

- सार्वजनिक हितविरुद्धका कसुर- १४८

जबरजस्ती करणी- ३१

जबरजस्ती करणी उद्योग- १७

०७४/७५ मा

कुल घटना -९४५

कर्तव्य ज्यान मुद्दा - ३

ज्यान मार्ने उद्योग - ८

जबरजस्ती करणी- २१

जबरजस्ती करणीपछि ज्यान मार्ने - १

सार्वजनिक अपराध- ४४६


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.