डोम परिवारको पीडा : आगो चल्छ, पानी चल्दैन
जनकपुरधाम :‘गाउँमा कसैको मृत्युभयो भने दाहसंस्कार गर्न डोमको हातको आगो चाहिन्छ। हाम्रो हातको आगोले दाहसंस्कार गर्दा पुण्य हुन्छ’, ५५ बर्षीय देवा मल्लिक डोमले भने, ‘हामीले बनाएको सुपली, ढाला भगवान्लाई चढाइन्छ। तर, हाम्रो पानी छोइन्छ।’ जनकपुरधामबाट पाँच किमि पूर्व धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लामा दुई सय घरधुरी छ। जहाँ देवाको परिवार २५ वर्षदेखि बसोबास गर्दै आएको छ।
कानुनी रुपमा छुवाछुत अन्त्य भएको धेरै भइसकेको छ। तर, देवा अझै समाजमा छुवाछुतको मार खेपिरहेका छन्। समाजमा सम्मानपूर्वक बाँच्न पनि पाएका छैनन्। पुस्तौंदेखि खेप्दै आएको छुवाछुतको व्यवहारले उनको परिवार आजित छ। अछुत जातिका रुपमा देवाका परिवार अपहेलना सहन बाध्य छन्। ‘गाउँका हाटबजार, होटलमा प्लेटमा खान दिदैन। गिलासमा चिया पानी पिउन दिदैन’, देवाका जेठा छोरा जगदीशले भने, ‘कागजमा खाजा दिन्छन्। पसल बाहिर भुँइमा बसेर खानुपर्छ। प्लाष्टिकका गिलासमा पानी र चिया दिन्छ।’
मधेशको अल्पसंख्यक जातिको सूचीमा पर्छ डोम। ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो’, जगदिसले भने, ‘हाम्रो समाज अझै मान्छेलाई अछुत जाति भनेर हेला गरिरहेको छ।’ श्रम र सीप स्वीकार्ने समाजले पानी अझै चलाएको छैन। देवाको श्रीमती कुनोदेवी हंसपुर नगरपालिकामा सरसफाईसम्बन्धी काम गर्छिन्। ‘बर्ष दिनमा तीस हजारमा तीन सय कम तलब दिए’, उनले भनिन्।
बजारमा प्लाष्टिकका समान आएपछी बाँसका सामाग्रीबाट बनेका सुपली, नाङलो, ढाला विक्न छाडेका छन्। चार्ड पर्व बाहेक अन्य समयमा बाँसका सामग्री बिक्न छाडेको उनको भनाइ छ। बसाइ ओइलानी जग्गामा छ।
प्लाष्टिकले छाएको सानो छाप्रोमा उनीहरुले हिउँद बर्खा कटाउँदै आएका छन्। बर्षामा घर चुहेर हैरानी हुन्छ। गर्मीमा आगलागी हुने डर। ‘हावाहुरीले घर उडाउला भन्ने डर’, देवाका छोरा विजयले भने, ‘सरकारले घर बनाइदिए हुन्थ्यो। भोकै भए पनि आरामले सुत्न पाइन्थ्यो।’ डोम परिवारले समाजलाई छुवाछुतको व्यावहार नगरिदिन आग्रह गरेका छन्।