महानगरका महिला घरमै सुत्केरी
पोखरा : नरमिला विकलाई डाक्टरले सुत्केरी हुने मिति साउन ६ गते तोकेका थिए। तर त्यसभन्दा ४९ दिनअघि नै उनी सुत्केरी भइन्। पोखरा महानगर–२० मौजा गाउँकी उनलाई स्थानीय स्वास्थ्यकर्मीले प्रसूतिको मिति आउँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जान सुझाएका थिए। डाक्टरले दिएको समयभन्दा डेढ महिनाअघि उनलाई घरमै व्यथा लाग्यो। त्यो पनि राति। बजार झर्न सम्भव भएन। रातको समय, कच्ची बाटो। गाडी नपाउने समस्या त छँदैछ।
स्थानीय स्वास्थ्यकर्मीका अनुसार पोखराबाट गाडी रिजर्भ बोलाउन सक्ने आर्थिक अवस्था पनि नरमिलाको परिवारसँग रहेनछ। धन्य मंगलबार स्वास्थ्यकर्मी पुग्दा नरमिला र बच्चाको स्वाथ्य ठिक थियो। ‘घरै पुगेर सुत्केरीलाई चाहिने औषधी र बच्चाका लागि नाभीमा लगाउने मलम दियौं’, स्वास्थ्यकर्मी शिव गिरीले भने, ‘बच्चाको तौल ३ दशमलव ३ किलो रहेछ।’
घरमै सुत्केरी हुने नरमिला मौजाकी एक्ली महिला होइनन्। गएको माघमा जीविका गुरुङ घरमै सुत्केरी भइन्। त्यसअघि मंसिरमा रोशनी गुरुङले पनि घरमै बच्चा जन्माइन्। मौजा स्वास्थ्य चौकीका प्रमुख अहेब विवेककुमार बर्माका अनुसार २०७४ सालयतामात्रै मौजाका १० महिला घरमै सुत्केरी भए। तीमध्ये वन्दना विक बाटोमै सुत्केरी भएकी थिइन्।
पोखरा महानगरका विभिन्न वडामा ८ वटा बर्थिङ सेन्टर छन्। ३३ मध्ये दर्जनौं वडा पहाडी गाउँमा पर्छ। २०७४ सालयतामात्रै महानगरभित्र ११० महिला घरमै सुत्केरी भएको महानगरको स्वास्थ्य महाशाखाको रेकर्डले देखाएको छ। मौजामा अस्पतालमात्रै होइन बर्थिङ सेन्टर पनि छैन। सरकारले शून्य होम डेलिभरीको नीति लिएको छ। तर देशकै ठूलोमध्येको पोखरा महानगर–२० मौजालाई सरकारको नीतिले छोएको छैन।
‘अलिकति पैसा भएका र सक्नेहरु सुत्केरी हुनुअघि नै पोखरा बजार झर्छन्। नहुनेहरु घरमै सुत्केरी भइरहेका छन्’, स्वाथ्यकर्मी गिरीले भने। पोखरा बजारबाट १५ किलोमिटरको दुरीमा रहे पनि कच्ची सडकमा बाह्रैमास गाडी नगुड्ने उनले सुनाए। पोखरा २० का वडाध्यक्ष सिम गुरुङ महानगरमा पटक–पटक भन्दा पनि बर्थिङ सेन्टर नखुलेको बताउँछन्। ‘धन्न नरमिला र उनका सन्तानको स्वाथ्य ठिक रहेछ, केही भइहालेको भए ? ’, उनले भने, ‘म वडाध्यक्ष भएर आएदेखि भनेको भन्यै छु तर महानगरले बर्थिङ सेन्टर स्थापना गरेको छैन।’
वडाध्यक्ष गुरुङले पोहोरको नगरसभादेखि हरेक कार्यपालिका बैठकमा यो माग राख्दै आएको सुनाए। भन्छन्, ‘न कर्मचारीले सुन्छन्, न मेयर, उपमेयरले नै।’ वडाध्यक्ष गुरुङ थोरै जनसंख्या छ भनेर महानगरले आफ्नो ठाउँप्रति बेवास्ता गरेको गुनासो गर्छन्। ‘मान्छे एकजनाको पनि ज्यान जानु भएन, यो संवेदनशील कुरा हो भन्दा पनि योजनै पार्दैनन्’, उनले भने।
स्वाथ्य चौकी प्रमुख बर्माका अनुसार चौकीमा सुत्केरी गराउन आवश्यक उपकरण हुँदैनन्। गर्भवती जाँचमात्रै चौकीमा हुन्छ। सुत्केरी हुने समय आउन लाग्दा प्रसूतिका लागि सूचीकृत संस्थामा जान गर्भवतीलाई सुझाउने गरेको बर्माको भनाइ छ। उनले बर्थिङ सेन्टरका लागि सुत्केरी बेड, अक्सिजन, टाँका लगाउने सेट र प्रसूतिकर्मीको २४ घन्टै ड्युटी हुनुपर्ने जानकारी दिए। पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले मौजा गाउँमा बर्थिङ सेन्टर स्थापनाबारे छलफल भइरहेको बताए। ‘प्रस्ताव लैजाने सोचमा छु’, उनले भने।