गौतमबुद्ध विमानस्थल पुसभित्रै
रुपन्देही : भैरहवास्थिति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुसभित्र सम्पन्न हुने भएको छ। विमानस्थल निर्माणको समयसीमा यही जुन ३० (असार १५) सम्म छ। तर यो सीमासम्म जम्मा ७५ प्रतिशत काम सकिने भएकाले ६ महिना समय थप्न लागिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ई.प्रवेश अधिकारीले निर्माण ठेक्का लागेपछि सुरुका दिनमा काम हुन नसक्दा निर्धारित समयमा पूरा हुन नसकेको जानकारी दिए।
सुरुका २ वर्ष कामको गति न्यून भएको थियो। २०७१ पुसदेखि सुरु भएको विमानस्थल २०७४ को पुस (३ वर्ष)मा जम्मा २७ प्रतिशत मात्रै पूरा भएको थियो। त्यसपछिका ६ महिनामा ४६ प्रतिशत काम पूरा भए पनि निर्माण सामग्री अभावलगायत कारण र पटकपटकको अवरोधले समयमा सम्पन्न हुन नसक्दा तेस्रोपटक समय थप गर्नुपर्ने अवस्था आएको अधिकारी बताउँछन्।
२०७४ पुसभित्र निर्माण सक्ने गरी ठेक्का लागेको भए पनि विभिन्न समस्या देखाउँदै विमानस्थल निर्माणको समय थप हुँदै आएको छ। २०७५ पुसमै सक्नुपर्ने भए पनि एक वर्ष थप गरेर असारको समयसीमा निर्धारण भएको थियो। विमास्थलको ३ हजार मिटरको धावनमार्ग र ६ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ। जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, ६ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको अधिकारीले बताए। कार्गाे भवन र एयर ट्राफिक म्यानेजमेन्ट इक्युपमेन्टसहतिको काम बाँकी छ।
यो विमानस्थलको संरचना करिब तयारी अवस्थामा देखिएपछि यसलाई अन्तिम रूप दिन, साजजज्जा गर्न, भित्री काम गर्न, उडान तथा अवतरणको निम्ति आवश्यक उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम बाँकी छ। यो सबै काम सम्पन्न गरेर विमानस्थल सञ्चालनयोग्य बनाउन ६ महिना लाग्ने भएकाले पनि यसको सञ्चालन मिति सन् २०२० को जनवरीलाई तय गर्न लागिएको हो। औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ।
विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ। एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो। निर्माण प्रगतिको जानकारी दिन एडीबीले गराएको स्थलगत भ्रमणका अवसरमा हालसम्मको प्रगति र बाँकी कामबारे जानकारी दिइएको हो। विमानस्थल निर्माण सम्पन्न भएसँगै पर्यटन क्षेत्रको विकासले गुणात्मक फड्को मार्ने एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभले बताए। उनले भने, ‘गौतम बुद्धको जन्मथलो लुम्बिनी विश्वका धेरै बौद्धमार्गी पर्यटकका लागि आकर्षणको केन्द्र हो। विमानस्थलले यो क्षेत्रमा पर्यटन पूर्वाधारको सबैभन्दा ठूलो खाँचो पूरा गरेको छ। नेपालको विकासमा यो रुपान्तरणकारी आयोजना हो।’ पुसभित्रै सम्पन्न भए सम्भवतः यो पहिलो राष्ट्रिय गौरवको आयोजना हुनेछ।
७ करोड अमेरिकी डलर लगानीको यो विमानस्थल निर्माण गर्न एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ। ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।
यो विमानस्थलको निम्ति आवश्यक कार्गो भवन निर्माणको ठेक्का भइसकेको छ। यो भवन नबनेसम्म भने प्रशासनिक भवनको आंशिक भागलाई कार्गो भवनका रूपमा सञ्चालन गर्न तयारी गरिएको छ। विमानस्थलको बाहिरी संरचना बनाएर ७५ प्रतिशत भौतिक प्रगति देखिए पनि २५ प्रतिशत काम बाँकी नै छ। यो काम थप भएको समयभित्र सकिने र विमानस्थल सञ्चालनयोग्य बन्ने बुझाइ अधिकारीको छ।
यो विमानस्थलमा यही असार १५ मा परीक्षण उडान गर्ने गरी यसअघि तयारी भएको थियो। निर्माण नसकिएसम्म र विमानस्थल सञ्चालनको सुनिश्चित आधार नभएसम्म परीक्षणको अर्थ नहुने अधिकारीको भनाइ छ। तर विमानस्थलमा परीक्षण उडान गर्ने विषयमा निर्माण कम्पनीले २ दिन अगाडि मात्रै पत्र लेखेको उल्लेख छ। पत्रअनुसार तयार भएको धानवमार्गको तत्कालै रेखांकन गर्ने र जहाज अवतरणयोग्य भएको जानकारी परीक्षण उडानबाट गर्ने भन्ने प्रस्ताव आएको छ।
उक्त प्रस्तावलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जवाफ दिने भएकाले आफूले केही भनिएको छैन। तर यो विमानस्थल पूर्ण तयार गर्ने, अन्तर्राष्ट्रिय निकायबाट प्रमाणित गराउने र परीक्षणपछि नियमित उडानको तालिका जहाज कम्पनीले बनाउन सक्ने गरी जाने तयारी आफूहरूले गरेको जानकारी अधिकारीले दिए। उनका अनुसार जहाजको परीक्षण उडान नै ठूलो विषय होइन, धावनमार्ग तयार भएपछि जतिबेला पनि आकस्मिक अवतरण गर्न सकिन्छ। परीक्षण उडान पनि हुन सक्छ। तर, यो विमानस्थलबाट नियमित उडान गर्न विभिन्न वायुसेवालाई आकर्षित गर्न र नियमित उडानको तालिका बनाएर जान ६ महिना पर्खनुपर्ने अधिकारी बताउँछन्। यो विमानस्थल तयार भएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुनेछ।