सचेत होउँ ब्याड टचबाट
काठमाडौंको नैकापमा बस्ने विनी महर्जन (नाम परिवर्तन) कक्षा ९ मा पढ्छिन्। उनी प्रायः एक्लै बस्न मन पराउँछिन्। घरमा कोही नयाँ मान्छे आए उनी कोठाबाट बाहिर निस्कनै मान्दिनन्। स्कुलका केटा साथीहरू र सरहरूले बोलाउँदा पनि उनी तर्सिन्छिन्।
छोरीको यस्तो व्यवहार देखेर उनकी आमाले उनलाई मनोचिकित्सककहाँ लगिन्। डाक्टरले उनी सानोमा यौन हिंसामा परेको पत्ता लगाए। उनलाई नजिकका काका पर्नेले सानैदेखि दुःख दिँदै आएका रहेछन्। काकाले विनीलाई शरीरमा जताततै छुने, चलाउने गर्दा रहेछन्। घरमा कोही नभएको मौका पारी काका विनीको कोठाभित्र पस्ने रहेछन्। उनलाई किस गर्ने, स्तनलगायतका शरीरका संवेदनशील अंगमा छुनेजस्ता क्रियाकलाप गर्ने रहेछन्। कसैलाई भनिस् भने तँलाई मारिदिन्छु भन्दै उनलाई धम्क्याउने रहेछन्। यसले गर्दा विनी भित्रभित्रै डराएर बस्ने रै’छिन्। बिस्तारै उनको पढाइ पनि बिग्रँदै गएछ। केही समयअघि काका विदेश गएपछि यस्ता कुकर्मबाट त उनी मुक्त भइछन् तर उनको मनबाट डर भने हट्न सकेको छैन।
राजधानीकै नाम चलेको एक विद्यालयको होस्टलमा बस्ने १० वर्षीय बालक बिदाको समय घरमा आएपछि स्कुल जान नै नमान्ने रहेछन्। उनका बुवाआमा दुवै कामकाजी थिए। छोरालाई घरमा राखेर हेर्ने समय हुन्थेन। उनीहरूले प्रशस्तै पैसा खर्च गरेर छोरालाई स्कुलमा राखिदिएका थिए। केही समय त बच्चाले राम्रै पढ्दै थियो। विस्तारै उसको रिजल्ट पनि बिग्रन थालेछ। कक्षामा निदाउने, बर्बराउने गर्दा रहेछन् उनी। जति बेला पनि बच्चा डराएजस्तो देखिने। शिक्षकहरूको पहलमा उनलाई के भएको हो भन्ने बुझ्ने कोसिस गरियो। होस्टलमा उनीसँगै बस्ने सिनियर कक्षाको एउटा छात्रले उनलाई बारम्बार दुःख दिने गरेको खुलासा भयो। उसले ती बालकलाई कुट्ने, कट्टु खोल्न लगाउने, जथाभावी समाएर सुत्ने गर्दो रहेछ। सिनियर कक्षाका दिदीहरूलाई जिस्क्याउन लगाउने, भनेको नमाने होस्टलमा पुगेर कुट्नेसमेत गर्दो रहेछ।
यी त केही उदाहरण मात्रै हुन्। यस्ता घटना तपाईंहाम्रै वरिपरि भइरहेका हामीले पाउँछौं। दिनहुँजसो यौन दुर्व्यवहारको समाचार सुन्नमा आउँछ। यौन हिंसामा परेका बालबालिकालाई पछिसम्म पनि मानसिक र शारीरिक समस्या परेको हामीले सुन्दै आएका छौं। आत्मविश्वासमा कमी हुने, डराउने, आवश्यक ठाउँमा पनि बोल्न नसक्ने र सुनसान ठाउँमा बसिरहने जस्ता व्यवहार पछिसम्म पनि देखिने गर्छन्। सानोमै हिंसापीडित बालबालिकाले पछि सही व्यवहारलाई पनि चिन्न नसक्ने हुन्छन्। त्यसैले पनि हामीसँग अरूले कस्तो व्यवहार गरिरहेका छन् भन्नेबारेमा जान्नु जरुरी हुन्छ।
यौन दुर्व्यवहार घरभित्रकै व्यक्ति र आफन्तबाट पनि हुने गरेको पाइन्छ। त्यसैले भाइबहिनीहरू आफूलाई कसले माया गरेको छ र कसले गलत प्रकारले छोएको वा ‘टच’ गरेको छ बुझ्नुपर्छ। आफ्ना नजिकका आफन्त हुन् या अन्य ठूलाबडा वा साथी, उनीहरूले आफूलाई गरेका व्यवहारहरू ख्याल गर्नुपर्छ। आफूमाथि हुने गलत हेराइ र छुवाइमा ध्यान दियौं भने यौन दुर्व्यवहारमा पर्ने सम्भावना कम हुन्छ।
भाइबहिनी हो, हाम्रो शरीरमा केही संवेदनशील अंगहरू हुन्छन्। तीमध्ये पनि हाम्रा यौनांगहरू अत्यन्त संवेदनशील हुन्छन्। सानोमा आमाले नुहाइदिँदा अनि बिरामी पर्दा आमाबाबुको उपस्थितिमा डाक्टरहरूले मात्र यस्ता अंगलाई छुन पाउँछन्। फकाएर या जबरजस्ती कसैले पनि गलत तरिकाले संवेदनशील अंग छोएको त छैन, यसबारेमा बेलैमा चनाखो हुनुपर्छ नि है।
बालसुधार केन्द्र सानोठिमी भक्तपुरमा कार्यरत बालमनोविद् रस्मिला कासुलाका अनुसार कसैले पनि एकोहोरो तिमीलाई हेरिरहन्छ भने उसको आनीबानीमा विचार गर्नुपर्छ। कसैले टाउको मुसार्ने, गाला सुम्सुम्याउने, यौनांगहरू चलाउन खोज्ने, एक्लै तिमीलाई मात्रै लिएर हिँड्ने या घुमाउन लैजाने प्रस्ताव गर्छ भने तिमीहरूले यसको जानकारी परिवारलाई गराउनुपर्छ है। यस्ता मानिस तिम्रा दाइ दिदीका साथी पनि हुन सक्छन्, अंकल आन्टी वा छिमेकी पनि हुन सक्छन्। उनीहरूले गरेको हरेक व्यवहार आमालाई सुनाउने बानी गर्नुपर्छ।
तिमीहरू आफूले पनि कसैका यौनांगहरू चलाउने वा छुने बानी गरेका छौ भने त्यो गलत कार्य हो। भाइबहिनी साना छन् भनेर उनीहरूलाई पनि त्यसरी छुनु हुँदैन। छोरीहरू बाबासँग खेल्न खोज्नु, आमासँग छोराहरू नजिक हुनु सामान्य कुरा हो।
सकभर कोही अपरिचित व्यक्तिसँग खेल्न, घुम्न जानु हुँदैन। स्कुलमा शिक्षकशिक्षिकाले पनि कहिलेकाहीँ गलत व्यवहार गर्न सक्छन्। त्यस्तो बेलामा सबै साथीलाई भन्ने र अन्य सरमिसलाई पनि सुनाउने गर्नुपर्छ। गलत ‘टच’प्रति सुरुआतमै प्रतिकार गर्न सकियो भने हामीमाथि कसैले पनि गलत कार्य गरिहाल्न सक्दैन। शिक्षक हो, पछि परीक्षामा फेल गराइदेला भनेर उसको असहज व्यवहारलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन।
हामी घरबाहिर मात्रै होइन; स्कुल, कलेज, घरभित्र या आफन्तको घर जहाँसुकै हिंसामा पर्न सक्छौं। गलत सोच र व्यवहार भएका मानिस जताततै हुन्छन्। त्यसैले पनि हामी हरेक ठाउँमा हरेक व्यक्तिसँग सचेत हुनैपर्छ।