छाडेन छुवाछूतले

छाडेन छुवाछूतले

जनकपुरधाम : सबै मानिसको रगत रातो हुन्छ। चोट लाग्दा सबैलाई दुख्छ। भावना, संवदेना र चाहना सबै मानिसको हुन्छ। तर, समाजमा उच्च र निच्च जातिबीचको भेदभाव भने सदीयौंदेखि कायमै छ। कानुनी रुपमा छुवाछुत समाप्त भएको छ। कानुन कार्यान्वयन फितलो छ। प्रहरीमा उजुरी पर्दैन। परिहाले पनि राजनीति चलखेल हुन्छ। दलितमाथि भएका अन्याय मिलापत्रमा टुंगिन्छ।

दलितले मन्दिरमा पुजा गर्न जाँदा कुटिनु परेको छ। गैरदलितसँग प्रेम विवाह गर्दा तिरस्कृत हुनुपरेको छ। स्कुलमा पनि छुवाछुत र तल्लो जाती भनेर अपहेलित हुने गरेको छ। महोत्तरीको महोत्तरी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्माले विष सेवन गरेर आत्महत्या प्रयास गरिन्। २०७५ वैशाख १५ गते साँझ पानी छोएको निहुँमा बुद्धमायाकी छोरी मनीषालाई छिमेकी कमला गिरीले कुटपिट गरेकी थिइन्।

बुद्धमाया र छोरी मनीषामाथि जातीय छुवाछुत र दुव्र्यवहार गर्ने छिमेकी कमला र उनका भान्जा रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीले २०७५ असार २४ गते ६ महिनासम्म कैदसहित जरिबाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति फैसला सुनाएको थियो।

पीडिकहरू जेल जाने भएपछि बुद्धमायामाथि छिमेकीहरूले दबाब दिए। दबाब सहन नसकेरे उनी विष सेवन गर्न बाध्य भइन्। ‘मैले जुन दुःख भोग्नुपर्‍यो त्यो अरूले नपरोस्’, बुद्धमायाले भनिन्, ‘समाजमा मिलेर बस्दा सबैको भलो हुन्छ।’ अहिले उनीसँग छिमेकीहरू बोल्दैनन्। ‘सम्भवतः छुवाछूतमा यति ठूलो कारबाही पहिलो हो’, प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले भने।

बलात्कारपछि हत्या

धनुषाको मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी रेशमा दुतिया रसाइली विश्वकर्माको २०७५ फागुन १ गते राती अपहरण भयो। छिमेकीको छोरीको विवाहमा रमाउँदै गरेकी उनको बलात्कारपछि हत्या गरियो। भोलिपल्ट बिहानै उखुबारीमा शव भेटियो।

बटेश्वर गाउँपालिका—४ बैगाली टोल घर भई मगरटोलमा बस्दै आएका २२ वर्षीय निरज जर्घामगरलाई हत्या आरोपमा प्रहरी पक्राउ गर्‍यो।

बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने एक दलित समुदायकी १७ वर्षीया किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। नशालु पदार्थ नाकमा सुँघाएर उनलाई बेहोस् बनाइयो। आँखामा कालोपट्टी बाँधी अपहरण गरियो।

भारतको मझफरपुर पुर्‍याएर तीन महिनासम्म उनको सामूहिक बलात्कार भयो। महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राइन कवारीसहित चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको डिएसपी रामेश्वर कार्की बताउँछन्। भारतबाट फुत्किएर फर्किएकी किशोरीको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

विद्यालयमा विभेद

महोत्तरीको भंगहा नगरपालिका–९ हरिणमरीका सिकिन्दर मल्लिक डोमका छोरा मुकेश किशोरी जनता माविबाट २०७५ असोज १६ गते निष्कासनमा परे। कक्षा ७ मा पढ्ने मुकेशलाई विद्यालयमा भएको भोजको पात नउठाएको भन्दै प्रधानाध्यापक मनोहर यादवले निष्कासन गरेका बताए। मुकेशले भने, ‘विद्यालयका लेखापाल राकेश यादवको हजुरआमाको किरियाभोज स्कुलमा गरिएको थियो।’ न्याय माग गर्दै २०७५ असोज २३ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिए पीडित परिवारले। तर अहिलेसम्म न्याय पाएका छैनन्।

जनप्रतिनिधि नै विभेदकारी

वडा कार्यालयको टेबुलमा राखेको पानी छोएको भन्दै सर्लाही विष्णु गाउँपालिका–२ का अजय रामलाई वडाध्यक्ष सञ्जय साहले २०७५ साउन २७ गते गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालिदिएको पीडित बताउँछन्। उनले भने, ‘चमार जाति भएर यहाँको पानी किन खाएको ? पानीलाई छोएर अपवित्र पारिस् भन्दै वडा अध्यक्षले जातीय विभेद गरे।’

कानुनी रुपमा छुवाछुत अन्त्य भएको छ। कार्यान्वयन फितलो छ। प्रहरीमा उजुरी परिहाले पनि मिलापत्रमा टुंगिन्छ।

वडाध्यक्ष र कार्यालय सहयोगी रामईश्वर चौधरीविरुद्ध पीडितले २०७५ साउन २९ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिए। अदालतले आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दियो। मुद्दाको फैसला भएको छैन।

भोजमा छैन समानता

सर्लाहीको गोडैता नगरपालिका–९ का १४ वर्षीय रन्जितकुमार राम गाउँमा श्रद्धाको भोज खान जाँदा जातीय विभेदको सिकार भए। २०७५ साउन ३ गते बकैनियाटोलका रामनाथ रायको घरमा श्राद्धको भोज खान भएका थिए। भोज खान सँगै बसेको भन्दै बगदहकका कथित उच्च जातिका मानिसले छुवाछुतको व्यवहार गरे।

पीडितले २०७५ साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा सर्लाहीमा उजुरी दिए। आरोपितलाई २०७५ भदौ ५ जिल्ला अदालतबाट २४ हजार रुपैयाँ लिई धरौटीमा रिहा गरियो।

पर्सा गाउँपालिका–६ का धविन्द्र महरामाथि छठियार भोज सँगै खाएको निहुँमा कुटपिट भयो। २०७५ वैशाख १३ गते रामलक्ष्मण पण्डित र श्यामकुमार पण्डितले छठिहार भोजमा सँगै बसेको भनी कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी गरे। आरोपितलाई २०७५ जेठ १८ गते प्रहरीले पक्राउ गर्‍यो। अदालतले १८ हजार रुपैयाँ धरौटी राखी तारेखमा रिहा गर्‍यो।

अन्तरजातीय विवाहमा १४ लाखको कपाली कागज

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–६ पिरारीका १८ वर्षीय जयनाथ राम चमारले गैरदलित युवतीसँग पे्रमसम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेले मरणासन्न हुने गरी कुटपिट गरे। १४ लाख रुपैयाँको कपाली तमसुकसमेत बनाए।

स्थानीय जयनाथ राम चमार र सल्मा बैठा मुस्लिम बीचप्रेम सम्बन्ध थियो। २०७५ पुस ५ गतेदेखि भारतको सीतामढी जिल्ला बस्दै आएका उनीहरू पुनः गाउँ फर्किएका थिए। वडा अध्यक्ष श्यामबाबु राय भनिने राकेश यादव र रघुनाथ रायले जयनाथका बुबा गगनदेव रामसँग १४ लाख रुपैयाँको कपाली तमसुक बनाएको पीडित परिवारले जानकारी दिए।

पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपित पक्राउ परे।

मन्दिरमा छुवाछुत

बाराको परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश राम गाउँकै राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा पानी खाँदा कुटिए। पुजारी रामदयाल यादव लगायतले कुटपिट गरेको प्रहरीमा उजुरी पर्‍यो।

पुजारीसहित मिलेर दलितले पवित्र मन्दिर छोएकाले अशुद्ध भयो भनी लाठी, रड र धारिलो हतियारले दलित समुदायका व्यक्तिमाथि आक्रमण गरेको स्थानीय राखी रामले बतए।

आक्रमणमा दुई जना घाइते भए। गण्डक र जितपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो। घटना त्यब्किै सेलायो।

डोम अपहेलित

धनुषा हंसपुर नगरपालिका–३ कठपुल्लाका जगदीश डोमका परिवार पुस्तौंदेखि विभेदबाट पीडित छन्। दुई सय घरधुरी अन्य जात बसोबास रहेको गाउँमा उनको एक परिवारमा डोम जाति बस्छन्।

उनीहरूले समाजमा सम्मानपूर्वक बाँच्न पनि पाएका छैनन्। ‘गाउँका हाटबजार र होटलमा प्लेटमा खान दिँदैन। गिलासमा चिया पानी पिउन दिँदैन’, देवाका छोरा जगदीशले भने, ‘कागजमा खाजा दिन्छन्। पसल बाहिर भुइँमा बसेर खानुपर्छ।’ डोम मधेसको अल्पसंख्यक जातिको सूचीमा पर्छ।

सिरहाको नवराजपुर गाउँपालिका–३ फूलबरिया गाउँमा कमल यादवको धान बिउ लगाएको खेतमा सुँगुर गएको निहुँमा रेखा मल्लिक (डोम) र धनेश्वरी मल्लिक कुटिइन्। २०७६ जेष्ठ ८ गते कमलका छोरा श्याम यादवले उनीहरुलाई कुटपिट गरे। उनीहरु अहिले उपचार गराउन अस्पताल धाउँदै छन्। पीडितले प्रहरीमा निवदेन दिएका छन्।

२०७५ जेठ २५ गते गोलबजार नगरपालिका–९ गोविन्दपुर स्थित जनता आधारभूत विद्यालयको भान्सेमा व्यवस्थापन समितिले डोम समुदायकी भालसैर मरिकलाई नियुक्त गरेपछि विद्यालयको खाजा कार्यक्रम बन्द भयो।

ज्यान मुद्दा लगाउन माग

गत २१ र २२ गते प्रदेश २ स्तरीय दलित अगुवा भेला भयो। मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा भएको भेलाका सहभागीले दलित अधिकार सुरक्षित राख्न माग गरे।

जातपातका नाममा छुवाछुत गर्नेमाथि कडा कारबाही गनुपर्ने लहानका दलित अधिकारकर्मी उमेश बिसुन्केको भनाइ छ। ‘मन्दिरमा कुकुरलाई प्रवेशमा निषेध गरिँदैन। तर, दलित समुदायलाई प्रवेशमा रोक छ,’ उनले भने, ‘छुवाछुतका नामले विभेद गर्नेलाई ज्यान मारेसरह कारवाही हुने व्यवस्था ल्याउनैपर्छ।’ विभेद गर्नेमाथि कारबाही नहुँदा छुवाछुत गर्नेको मनोबल बढेको सप्तरीका दलित अधिकारकर्मी भोला पासमान बताउँछन्। मिथिला नगरपालिका ३ धनुषाका गोविन्द सदाले भने, ‘हामी आफैंभित्र पनि एक जात, अर्को जात भनेर विभेद हुँदै आएको छ। पहिले आफ्नैभित्रको विभेद हटाएर सम्पूर्ण दलित समुदाय एक हुनुपर्छ।’

दलित अधिकारबारे ठुलठुला भए पनि व्यवहारमा लागू नभएको लहान नगरपालिका– १४ बस्तीपुरकी सरिता राम बताउँछिन्।

‘जागरण अभियान जरुरी’

मधेस मामिलाका जानकार पत्रकार चन्द्र किशोर सामाजिक संरचनामा परिवर्तन नआएसम्म विभेद कायमै रहने बताउँछन्। उनले भने, ‘जातीय विभेद र हिंसाविरुद्ध कानुन बनिसकेको छ। त्यसको कडाइका साथ पालना हुनुपर्छ।’ यसको अगुवाइ राजनीतिक दलबाटै हुनुपर्ने उनको माग छ।

एकले अर्कालाई सम्मान गर्नुपर्ने भावना बढेको उनको भनाइ छ। उनले भने, ‘कानुनअनुसार दण्ड हुनुपर्छ।तर, त्यसो हुन सकेको छैन।’

कारबाही हुन्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तिका लागि दलित आफैं सशक्त हुनुपर्ने बताए। प्रदेश सरकार दलितमैत्री रहेको दाबी गर्दै उनले दलित सशक्तीकरण ऐन, छात्रवृत्ति योजना, दलित छात्रावास निर्माण जस्ता कार्य अघि बढेको जानकारी दिए।

दलित सशक्तीकरण ऐन आएपछि छुवाछुत गर्नेमाथि तत्काली कारबाही हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.