बैतडीमा हावाहुरी : विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित
बैतडी : शनिबार राति आएको हावाहुरीले बैतडीको एक विद्यालयको छाना उडाएको छ। हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। हावाहुरीले पाटन नगरपालिका- ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको ३ कोठे विद्यालय भवनको छाना उडाएको हो।
हावाहुरीले छाना उडाउँदा २ लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए। जस्तापाताले छाएको छाना हावाहुरीले उडाउँदा कोठाभित्र राखिएका २६ बोरा सिमेन्ट, बेन्च, डेस्कलगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएका उनले बताए। उनले भने, 'कोठाभित्र नयाँ भवन निर्माणका लागि निर्माण सामग्री राखिएका थिए । हावाहुरीले छाना उडाउँदा निर्माण सामग्रीमा पनि क्षति पुगेको छ।'
हावाहुरीले छानो उडाउँदा कक्षा १,२ र३ का विद्यार्थीलाई पठनपाठनमा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र भट्टले बताए। २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०५ विद्यार्थी अध्ययनरत रहेका छन्। कक्षा १० सम्म पढाइ हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमूना सामुदायिक विद्यालय हो।
यस्तै हावाहुरीले पाटन नगरपालिका - ८ खोड्पेस्थित भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुई कोठे भवनको छाना उडाएको छ।यस्तै हावाहुरीले पाटनका दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ।