भवन बनाउन एक रोपनी जग्गादान
अर्घाखाँची : नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सभापति तथा पत्रकार विष्णुप्रसाद भुसालले सन्धिखर्क नगरपालिका-९ लाई भवन निर्माण गर्नका लागि जग्गादान गरेका छन्।
भुसालले आफ्नी आमाको उपस्थितिमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाललाई जग्गा धनी लालपुर्जा हस्तान्तरण गरेका हुन्। आफ्ना बुवा स्वर्गीय शिवप्रसाद भुसालको सम्झनामा सन्धिखर्क नगरपालिका- ९ अर्घा रासिचौरमा रहेको पाँच लाख मूल्य बराबरको १ रोपनी ३ आना जग्गा वडा कार्यालय भवन बनाउन प्रदान गरेको पत्रकार भुसालले बताए।
जग्गाधनी पूर्जा बुझ्दै नगर प्रमुख कमलप्रसाद भुसालले जग्गा प्रदान गर्ने भुसाल परिवारलाई धन्यवाद प्रदान गरी आगामी दिनमा समेत सफलताको शुभकामना दिए। नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार विक वार्ड नम्बर ९ का अध्यक्ष देवबहादुर रायमाझीलगायतले पनि जग्गा प्रदान गर्ने भुसाल परिवारलाई धन्यवाद दिएका थिए।
सन्धिखर्क नगरपालिकाले अन्य वडा कार्यालयले भवन निर्माणलाई अगाडी बढाएपनि जग्गा नहुँदा उक्त कार्य अगाडी बढ्न सकेको छैन।