पहिले बगर, अहिले बगैंचा
महोत्तरी : खोलाको बगरमा आँप लटरम्म फलेको छ। लिच्ची, कागतीको बोट लहलह हुर्किदैंछ। किसानहरुले बगरमै आँप बारीमै हरिया तरकारी खेती लगाएका छन्। परबल, भान्टा, रामतोरीया, फर्सी, लौका, काक्रो,खुर्सानी जस्ता सागसब्जी बिक्री गरेर मालामाल छन्।
कुनै बेला चैत्र–बैशाखमा बगरको बालुवा उड्ने महोत्तरीको भंगहास्थित रातु खोलाको दुई सय ४२ बिघा बगर किसानको चार वर्षको कठोर परिश्रमले बगैंचा बनेको हो। रातु खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षारोपण, र सुखदाता माई रातु खोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानहरुले बगरलाई हरियाली बनाएका हुन्।
त्यहाँ बीस हजार विरुवा रोपिएको छ। ६१ बिघा जमिनमा वृक्षरोपण गरेर जमिनमा खेतीपाती पनि गरिरहेका छन्। बगर खेतीले दुई सय ४८ घरपरिवारको जीवन फेरिएको छ। २५ दलित घरपरिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र खेती गर्न प्रोत्साहित गरेको छ। ‘गाउँलेहरुले बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन्। चरिचरण निषेध छ। गाई वस्तु पसाए ११ सय जरिवाना लगाउँछन्,’ रातु खोला फलफूल रोपन समुहका अध्यक्ष जासर यादवले भने,‘सहयोगी संस्थाहरु खोजेर तीन सिँचाई बोरिङ्ग गाडेका छौं। ’
बगरमा फलाएको फर्सी देखाउँदै पर्साका किसान रामपुकार सिंह।
चारदशक अघि रातु खोलाको भिषण बाढी भंगहा नगरपालिकाको पर्सा, संग्रामपुर, कबिलाशा,मेघनाथ गोरहन्नाको दुई सय ४२ विघा जमिन कटान गर्यो। ‘खेतमा लहलह झुलेका धान, र मकै खेतमा बाढीको भेल कुदन थाल्यो,’पर्साका ५५ बर्षीय किसान रामनारायण सिंह भन्छन्,‘ छिनभरमै जमिन बालुवाले खेतको बालिनाली पुरिदियो। उर्वर भूमी बंजर बनायो। किसानहरुलाई भूमिहिन बनायो।’ २०३२–२०३३ सालको रातु खोलाको वितण्डाले दिएको दुःख उनले सुनाए।
बगरमा बालुवा उडिरह्यो। हावाले उडेर गाउँमा पस्ने धुलेले बस्न र खान गाउँलेलाई सताउँथ्यो। खोलाले सुकुम्बासी बनेका किसानहरु परिवार पाल्न दिल्लीपंजाब धाउन थाले। जनताको तटबन्ध कार्यक्रमले तटबन्ध निर्माण गरेपछि अहिले सहज छ।
बगरमा फलेको लौका देदाउँदै किसान उत्तिमलाल हुजेदार।
पर्साका ४५ बर्षीय उत्तिम हुजेदार परिवार पाल्न पंजाब जानु परेको छैन। बगरमा आँप लगाएका छन्। त्यसैमा तरकारी खेती गरेर दंग छन्। एक बिघा बगरको उमिनमा उनले गएको मंसिरदेखि हालसम्म एक लाखको तरकारी बिक्री गरे। करैला, लौका, प्याज, आलु, लसुन उब्जाए।
संग्रामपुरका ५० बर्षीय किसान भागिरथ यादवले १० कट्टा बगरमा ५० वटा आँपको बिरुवा हुर्काइरहेका छन्। ‘खेतमा खोला पसेपछि धेरैले आश मारिसकेका थिए। सरकारलाई मालपोत तिर्न छोडिसकेका थिए,’उनले भने,‘गाउँमा समूह गठन गरेर बगरमा संघर्ष सुरु भएदेखी तरकारी र आँप फस्टाएको छ।’ पर्साका बाबुजी हुजेदार भन्छन्,‘ बगरमा फलफूलको बोटा हुर्काएर हरियो वन, नेपालको धन भन्ने भनाइ पुरा गर्छौं।’
उनका छिमेकी सुपिदकुमार हुजेदारले १६ कठ्ठा ८५ वटा आँपका बोट लगाएका छन्।
बगरमा बगैंचा फस्टाएपछि गाउँलेहरु हर्षित छन। स्थानीय सरकार र प्रदेश सरकारसंग बगरलाई हराभरा बनाउन समन्वय भइरहेको छ। भंगहा नगरपालिका वडा–६ वडा अध्यक्ष चौठी यादवले बगैंचा भित्र बाटो विस्तारको काम थालिएको बताए।