बीउ हुर्कियो, रोप्न मल छैन
भैरहवा : खेतीपातीको समय सुरु भएको छ। मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु खेतबारीमा होमिएका छन्। नदीनालाहरुमा पानीको बहाव छैन। मुहान सुक्दै गएका छन्। बीउ छरिएको खेत चिरा चिरा परेको छ। किसानहरु ट्यांकरमा पानी ल्याएर धानको बीउ राखिरहेका छन्। सिँचाइको मात्र अभाव होइन। किसानलाई रोपाईका लागि चाहिने मलको अभाव उस्तै छ। किसानलाई रोपाई कसरी गर्ने भन्ने चिन्ता छ।
‘धान रोप्ने बेला हो, यतिबेला डीएपी मल चाहिएको छ’, ओमसतिया गाउँपालिका ६ नरयानापुरका कृषक धर्मदेव धवलले भने,‘ मल नै छैन। ल्याउने कहाँबाट। सिँचाईको पनि समस्या नै छ। ’ उनले समयमा मल उपलब्ध नहुँदा यसवर्ष धानको उत्पादनमा गिरावट आउने बताए। जिल्लामा ३० हजार मेट्रिकटन डीएपी मल आवश्यक छ। तर, ६० प्रतिशत मल मात्रै किसानले पाएका छन्।
चिरा परेको खेत।
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको गोदाममा युरिया मल प्रशस्त भए पनि डीएपी छैन। क्षेत्रिय प्रबन्धक राजेन्द्र बहादुर कार्कीले मल आपूर्ति गर्न नसकिएको बताए। केन्द्रसँग माग गरेपनि उपलब्ध नहुने गरेको उनी बताउँछन्। ‘ किसानका लागि सहुलियत र अनुदान दिने भनि बजेट भाषण हुन्छ’, स्थानीय कृषक भुरहु वरुणले भने,‘ चाहिएको बेला न मल पाइन्छ, न सिँचाईको नै सुविधा छ।’
कृषक सेवा समिति रुपन्देहीका अध्यक्ष देव धवलले प्रत्येक वर्ष खेतीपातीको समयमा किसानलाई मलको अभाव हुने गरेको बताए। किसान भारतीय सहरबाट लुकिछिपी मल ल्याउन बाध्य छन्। हरेक वर्ष मलको अभाव हुने गरे पनि सरकारले समस्या समाधानमा ध्यान नदिएको किसानहरुको गुनासो छ।