बैतडीमा प्रधानमन्त्री रोजगार, पुरचौडीका २४८ जना बाटो निर्माणमा जुटे
बैतडी : बैतडीको पुरचौंडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तगर्त २४८ जनालाई रोजगार दिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन दिएका ६ हजार ५२३ जनामध्ये २४८ जनालाई छनौट गरी रोजगार दिइएको रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिका तथा वडाले सञ्चालन गरेका विभिन्न विकास निर्माणका काममा लगाउने गरेको उनले बताए। उनले भने, 'प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनका लागि निवेदन दिएकामध्ये २४८ जनालाई छनौट गरेर रोजगारी दिएका छौं। उनीहरुले नगरपालिका भित्रका विभिन्न विकास निर्माणका योजनामा काम गरिरहेका छन् ।'
रोजगारी पाउँदा स्थानीय खुसी भएको पुरचौंडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए।उनले विगतमा भारतमा गएर काम गर्नेहरुले गाउँमै काम पाएपछि खुसी भएको बताए। २४८ रोजगारमध्ये ९३ जना महिला कामदार पनि अटाएका छन्। पुरचौंडी नगरपालिकाले केही दिनभित्रै प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्ने तयारी समेत गरेको रोजगार संयोजक महराले जानकारी दिए।