बजेट बनाउनमै व्यस्त स्थानीय तह
सन्धिखर्क : अर्घाखाँचीका ६ वटै पालिका बजेट निर्माणमा जुटेका छन्। आफ्नो पालिकालाई उत्कृष्ट बनाउने प्रतिस्पर्धासहित स्थानीय सरकार बजेटको तयारीमा लागेका हुन्। असार दोस्रो साता स्थानीय तहले बजेट ल्याउँदै छन्।
बजेटअघि तहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्। बजेट निर्माणमा कतिपय स्थानीय तहले पराजित प्रतिस्पर्धीबाटै सुझाव संकलन गरिरहेका छन्। पालिका निर्माण गर्ने जिम्मेवारी सबैको हुने भन्दै पक्ष प्रतिपक्ष नै विकास योजना निर्माणमा जुटेका हुन्।
छत्रदेव गाउँपालिकाले ०७६/७७ का लागि ल्याउन लागेको नीति कार्यक्रम र बजेट तर्जुमाबारे हारेका जनप्रतिनिधि र विभिन्न सरोकारवालासँग राय सुझाव माग गरेको छ। स्थानीय तहको निर्वाचनमा हारेका जनप्रतिनिधि र विभिन्न सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी नीति कार्यक्रम र बजेटबारे रायसुझाव संकलन गरेको हो।
जनप्रतिनिधि आएपछि उनीहरूले मात्रै बजेट निर्माण गर्छन् भन्ने आरोप लगाइरहेका बेला छत्रदेव गाउँपालिकाले टोल, वडा हुँदै पालिकास्तरमै चुनावमा पराजित भएका नेतासहित सरोकारवालासँग सुझाव मागेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए। विगतमा ल्याएका योजनाको संघीय सरकार र प्रदेश सरकारले पनि आफ्ना केही योजना समावेश गरेर ल्याएको उनले जानकारी दिए। सबैका रायसुझाव समेटेर सबै पालिकावासीको हित हुनेगरी दीर्घकालीन योजना ल्याउने उनको भनाइ छ।
छत्रदेव गाउँपालिकाभित्रका राजनीतिक दलका अध्यक्ष, नागरिक समाजका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, कृषक, स्वास्थ्य विज्ञसँग बृहत् छलफल गरी रायसुझाव संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। बैठकबाट निचोड निकालेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। ०७६/७७ को बजेटले समावेश गर्नुपर्ने क्षेत्र, बजेट निर्माण प्रक्रिया बजेटको प्राथमिकता, बजेट कार्यान्वयनले पार्ने प्रभावलगायतबारे प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यपत्र प्रस्तुत गरेका थिए।
बजेट कार्यान्वयन गर्न नागरिकको सहभागितामा योजना छनोट गरेमा आफ्नै योजना हुन् भन्ने अपनत्व आमनागरिकलाई गराउनका लागि पनि यस्तो खालको छलफल प्रभावकारी हुने छत्रदेव गाउँपालिका–३ घर भएका कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताए।
चुनाव हारेका राजनीतिक दल र सरोकारवालाको पनि बजेटबारे रायसुझाव मागेकामा छत्रदेव गाउँपालिकाको प्रशंसा गरेका थिए। कांग्रेसका पालिका संयोजक बालकृष्ण पोखरेल, नेकपाका छत्रदेव गाउँपालिकाका संयोजक रामलाल पराजुली, अध्यक्ष लेखनाथ पोखरेलसँग चुनाव हारेका तत्कालीन माओवादी केन्द्रका प्रकाश ज्ञवाली, राष्ट्रिय जनमोर्चाका नेत्र गैरे, नागरिक समाजको तर्फबाट किमकला भुसाल, गैरसरकारी संस्थाको तर्फबाट हरिबहादुर खड्का, हरि पौडेललगायतले सुझाव दिएका थिए।
छत्रदेव गाउँपालिकाले विगत वर्ष नै गाउँपालिकाभित्रका सबै घरमा खरको छानो हटाएर टिन लगाउने कार्य सम्पन्न गरेको छ। यस वर्ष सबै दलित परिवारमा सोलार बत्ती जडान गर्ने कार्यक्रम रहेको छत्रदेव गाउँपालिकाका कम्प्युटर अपरेटर शिव बर्माले बताए।